
८ चैत, काठमाडौं । नेपालले कुवेतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा नेपालले उसैको घरेलु भूमिमा कुवेतसँग गोलरहित बराबरी खेलेको हो ।
खेलअवधिभर कुवेतले नेपाललाई दबावमा राखेको थियो । तर गोल गर्न भने असफल भयो ।
दबावमा खेले पनि पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा पनि सुधारिएको खेल खेल्न सकेन । खेलको ६६औं मिनेटमा भने कुवेतले पेनाल्टी पायो । आफ्नो डिबक्सभित्र अजित भण्डारीले कुवेतका खेलाडीलाई लडाएपछि उसले पेनाल्टी पायो ।
पेनाल्टीबाट गोल गर्दै अग्रता बनाउने कुवेतलाई राम्रो अवसर थियो । कप्तान बाडेर अल मुतवा पेनाल्टी प्रहार गर्न आए । तर उनको पेनाल्टी आकासिएसँगै कुवेतले अग्रता बनाउनबाट चुकेको थियो ।
कुवेतलाई बराबरीमा रोक्न नेपाली डिफेन्डरले राम्रो प्रदर्शन गरे । विशेषगरी गोलकिपर किरण चेम्जोङले गोल हुने उत्कृष्ट प्रहारहरु बचाए ।
कुवेतविरुद्ध नेपालका पाँच जना नयाँ खेलाडीले डेब्यु गरे । अजित भण्डारीसँगै बिमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रबि पासवानले कुवेतविरुद्धको खेलमा डेब्यु गरेका थिए ।
योसँगै नेपालले १९ वर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भएको छ । यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसँग ५-० ले पराजित भएको थियो ।
नेपालले कुवेतसँग दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4