Comments Add Comment

दलबलसहित देउवालाई भेटेर ऋषिकेशले मागे नेविसंघको नेतृत्व

१० चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व आफूलाई दिन माग गरेका हुन् । आफ्नो दावी प्रस्तुत गर्न उनी शक्ति प्रदर्शनसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । नेविसंघ कार्यकर्ताहरु बस र मोटरसाइकल चढेर बूढानीलकण्ठ पुगेका थिए ।

‘झण्डै एक हजार जना मेरा समर्थकहरुलाई लिएर म सभापति जीकहाँ गएको हुँ,’ उनले भने, ‘विगतदेखिकै मेरो सक्रियता र ग्राउन्ड लेभल हेर्ने हो भने नेविसंघको नेतृत्वमा अरु विकल्प छैन ।’

नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न शाह सक्रिय छन् । उनले पार्टी र विद्यार्थीका नेताहरुसँग भेटेर लबिङ गर्दै आएका छन् । आफूलाई नेविसंघमा प्रभावशाली मानिने दुरेन राई, दुजाङ शेर्पा, शंकर पौडेल, प्रेमराज जोशीलगायतको पनि समर्थन रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष भइसकेका पौडेल ११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । ११ औं महाधिवेशनताका दुजाङ सिटौला समूहमा थिए । जोशी महर नेतृत्वको कार्यसमितिमा नेविसंघको प्रवक्ता थिए ।

कार्यक्रममा पौडेलले भने, ‘नेविसंघको अधिवेशन गर्न सक्ने खालको कार्यसमिति आवश्यक छ । संरचनागत ज्ञान भएको, सम्बन्ध राम्रो भएको, विद्यार्थीलाई परिचालन गर्न सक्ने, पार्टीलाई बलियो बनाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । आजको यो कार्यक्रमले सभापति ज्यूलाई केही सन्देश पक्कै दिएको छ ।’

यसैगरी राईले नेविसंघको नेतृत्वमा ऋषिकेश नै अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु सर्वसत्तावादतर्फ उन्मुख भइरहेको गम्भीर परिस्थितिमा विद्यार्थीहरुलाई हाक्नका लागि अहिले जुझारु र सशक्त नेतृत्वको आवश्यकता छ । त्यसैले हामीले ऋषिकेशजंग शाह नै अहिलेको आवश्यकता हो भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment