Comments Add Comment

सभापति देउवाप्रति खनिए कांग्रेस सांसद

११ चैत, काठमाडौं । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कारणसंसदको हिउँदे अधिवेशनमा आफूहरुको भूमिका कमजोर भएको भन्दै कांग्रेस सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

हिउँदे अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकमा सांसदहरुले संसदीय दलका नेता देउवाले पार्टी र संसदीय दलकोबीचमा समन्वय गराउन नसकेको आरोप लगाए ।

नेताहरुले संसदीय दलको बैठक नियमित नबस्दा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल हुन नसकेको बताए । छलफल नभएकै कारण  सांसदहरु आफुखुशी प्रस्तुत हुँदा प्रतिपक्षीय भूमिका कमजोर भएको उनीहरुको भनाइ थियो ।

सांसदहरुले संसदीय दल कार्यसमितिको बैठक कहिले बस्छ भनी देउवालाई प्रश्न गरेका थिए । तर देउवाले छिटै बस्छ भनेर जवाफ दिए ।

बैठकमा सांसदहरु मिनेन्द्र रिजाल र भीमसेनदास प्रधानले संसदीय दलको कार्यसमिति बैठक नबस्दा संसदमा उठाउने विषयमा सांसदहरु अलमलमा परेको बताए ।

‘संसदीय दलको कार्यसमिति बैठक अहिलेसम्म बसेको छैन । यो कहिले बस्छ र कांग्रेस सांसदहरुले संसदमा खेल्ने भूमीकाका विषयमा छलफल हुन्छ ?’ नेताहरुले यही शैलीमा आफ्ना कुरा राख्नुभयो’, कांग्रेसकी एक सांसदले अनलाइनखबरसँग भनिन् ।

बैठकमा सांसद दिलेन्द्रप्रसाद बडुले संसदको विषयगत समितिमा कांग्रेसका सांसदहरु अन्तिमसम्म नबस्दा सत्तापक्षले विधेयकमा आफूखुशी निर्णय गर्न पाएको भन्दै संसदीय दल यस विषयमा गम्भीर हुनुपर्ने बताए ।

बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले हतारमा प्रतिक्रिया दिने गरेको विषय पनि उठेको बताइएको छ ।

सांसद दिव्यमणि राजभण्डारीले पार्टी र संसदीय दलबीच समन्वय गराउन सभापति असफल भएको बैठकमा बताए ।
‘पार्टी र संसदीय दलबीचमा समन्वय हुनुपर्यो । नियमित संसदीय दलको बैठक बस्नुपर्‍यो । त्यसका लागि सभापति नै क्रियाशील हुनुपर्यो र सबैलाई सक्रिय बनाउनुपर्‍यो भनेर मैले राखेँ’, उनले भने । प्रमुख प्रतिपक्षीय भूमिका कमजोर भएको भनी भएको चर्चालाई चिर्न सक्नुपर्ने उनको भनाइ थियो ।

बैठकको सुरुमा प्रमुख सचेतक बालकृष्ण खाँणले संसदको हिउँदे अधिवेशनबारे ब्रिफिङ गर्दै सरकारका अगाडि कांग्रेस चाहेर पनि बलियो देखिन नसकेको उल्लेख गरेका थिए ।

‘ब्रिफिङका क्रममा उहाँले संसदमा पार्टी कमजोर देखिनुको कारण पार्टीको आन्तरिक कलहलाई पनि केलाउनुभयो । यसलाई अर्को अधिवेशनमा सुधार्न सभापति लेवलबाट पहल हुनुपर्छ भनेर पनि राख्नुभयो’ ती नेताले अनलाइनखबरसँग भने ।

बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख सचेतक खाँणले हिउँदे अधिवेशनमा कांग्रेसले आफ्नो भूमीका प्रभावकारी रुपमा नै निर्वाह गरेको दाबी गरे । ‘प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रमलाई सुरु गराउन कांग्रेसले भूमिका खेल्यो । विधेयकहरुमा पनि आफ्नो मत प्रष्ट ढङ्गले राख्यो । तथापि सरकारको दम्भका कारण कतिपय विधेयकहरु गलत तरिकाले पनि गएका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment