Comments Add Comment

नारायणी अस्पतालमा १२ बजेपछि डाक्टर भेट्नै मुश्किल

१२ चैत, वीरगञ्ज । मंगलबार मध्यान्ह १२ बजे नरेश पासवान हजुरआमाको ल्याब रिपोर्टहरु बोकेर नारायणी अस्पताल परिसरमा भौतारिदै थिए ।

उनले आजै रिपोर्ट देखाउन चिकित्सक भेट्न सकेनन् । ‘१२ बजेतिर वार्डमा आइपुगेको थिएँ, डाक्टर साहेब हुनुहुन्न रहेछ । कता हुनुहुन्छ भनेर खोज्दैछु’ उनले भने ।

अस्पतालमा नरेशजस्ता धेरै बिरामी र आफन्त भेटिन्छन्, जो डाक्टरको खोजीमा भौतारिरहेका हुन्छन् । १० बजे बहिरंग विभाग (ओपीपडी) मा विरामी जाँच्न छिरेका चिकित्सक मध्यान्ह १२ बजेपछि सर्वसाधारणले सजिलै भेट्न पाउँदैनन् । त्यसैले सेवाग्राहीले ‘डाक्टर लोग हेड अफिसमे रहेलन ।’ अर्थात ‘डाक्टरहरु मुख्य कार्यालयमा भेटिन्छन्’ भन्ने गरेका छन् ।

गर्भवती श्रीमती चिन्तादेवीको नियमित चेकजाँच गराउँदा आफूले यस्तै समस्या भोगेको बताउँछन्, वीरगञ्ज ३१ कोन्हियाका सुरेन्द्रप्रसाद पटेल । एक पटक चेक गराउन आउँदा तीन दिन लाग्ने उनको अनुभव छ । ‘पहिलो दिन १० बजे आएर चेक गराइयो भने भिडियो एक्स–रे लेखिदिनुहुन्छ, भिडियो एक्स–रेमा भोलिपल्ट पालो पाइन्छ’ उनले भने ‘रिपोर्ट पर्सिपल्ट आउँछ, गर्भवतीलाई लिएर कतिपटक ओहोरदोहोर गर्ने ?’

नारायणी अस्पताल वीरगञ्जको एक मात्र सरकारी अस्पताल हो । दर्जनौं निजी अस्पताल पैसा हुनेहरुका लागि भए पनि अधिकांश विपन्न र मध्यम आय भएका विरामी यही अस्पालमा आउँछन् ।

तर अस्पतालले दिने उपचार सेवा सन्तोषजनक छैन । बिहान १० बजे ओपिडीमा ड्युटी शुरु गरेका चिकित्सक मध्यान्ह १२ बजेसम्म त्यहाँ बस्छन् । त्यसपछि खाजा खाने समय भनेर चिकित्सक कक्षमा पुग्छन् । एक डेढ घण्टा बसेपछि अधिकांश चिकित्सक अस्पतालबाट बाहिरिने गरेका छन् ।

बिरामीको चाप

नारायणी अस्पतालमा २०५२ सालको दरबन्दी नै अहिलेसम्म यथावत छ । अस्पतालमा दैनिक १ हजारको हाराहारीमा विरामी उपचारका लागि आउँछन् । करारमा चिकित्सकहरु राखे पनि बिरामीको चाप अनुसार अपर्याप्त नै छ । विरामी चाप अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावकारी नभएको कर्मचारीहरु बताउँछन् ।

अस्पतालका प्रशासन प्रमुख एवं सूचना अधिकारी यथास्थितिमा अस्पतालमा आमूल परिवर्तन खोजेर नहुने बताउँछन् । ‘लामो समयदेखि दरबन्दी थप्ने काम भएको छैन, ०५२ सालको दरबन्दीको भरमा अस्पताल चलेको छ । अब संघ सरकार मातहतमा अस्पताल गएको छ । दरबन्दी थपिएर थप चिकित्सकहरु आउन सक्छन्’ उनले भने ।

चिकित्सक भन्छन् : काम गर्ने वातावरण छैन

चिकित्सकहरुले भने अस्पतालमा काम गरौं गरौं लाग्ने वातावरण नै नभएको बताउँछन् । चिकित्सकलाई दोष दिएर अस्पताल सुधार नहुने उनीहरुको दावी छ ।

‘ओपीडीमा आजमात्रै मैले ६० जना बिरामी हेरेँ । निस्कदा टाउको दुखिरहेको थियो’ एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने ‘बस्ने ठाउँ समेत गतिलो छैन । ओपीडी कक्षमा हात धुने ठाउँ पनि छैन, सामान माग्यो समयमा किनेर दिँदैनन् । कसरी काम गर्ने?’

नारायणी अस्पतालमा पुरानो ‘महेन्द्र आरोग्य’ भवनमै अधिकांश ओपीडी सञ्चालन हुने गरेको छ । पूर्वाधार र अस्पतालको वातावरण ठीक नभएसम्म अस्पताल यसैगरी अव्यवस्थित रुपमै चल्ने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment