+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
१२० बलमा १४३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

सिमराको आँखीझ्याल : असभ्य लोकतन्त्रको दृश्य

नेताहरूबाट मात्र होइन, जनताको तहबाट पनि लोकतन्त्रको खराब अभ्यास भइरहेको छ

सिमराको घटनालाई लिएर नेकपा एमालेका नेता र जेनजीका नेता दुवैले सरकारलाई गाली गरेका छन् । सरकार र जेनजी मिलेर आफ्नो दललाई कार्यक्रम गर्न नदिएको एमालेको गुनासो छ । उता, जेनजीका नेता सुदन गुरुङले सामाजिक सञ्जालमा आफ्नै सरकारका गृहमन्त्रीलाई सत्तोसराप गर्दै एमालेको कार्यक्रम बिथोल्नेहरूलाई ‘साहसी’ को संज्ञा दिएका छन् ।

अरुण बराल अरुण बराल
२०८२ मंसिर ४ गते १७:३७

राजनीतिक व्यवस्थाको चक्रबारे दार्शनिक प्लेटोको निष्कर्ष छ– लोकतन्त्र विकृत भएपछि अराजकतन्त्र स्थापना हुन्छ । अराजकतन्त्र बिग्रिएर निरंकुशतन्त्र आउँछ । निरंकुशतन्त्रले कुलीनतन्त्र (नेपोबेबी) जन्माउँछ । कुलीनतन्त्रमा जनताको चरम असन्तुष्टि बढ्छ र विद्रोह हुन्छ । जनविद्रोहबाट फेरि लोकतन्त्र जन्मन्छ । र, त्यो लोकतन्त्रले अर्को अराजकतन्त्र जन्माउँछ ।

नेपाल अहिले कुन चरणमा छ ? हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौं ? वा लोकतन्त्र विकृत भएर अराजकतन्त्रमा पो पुग्न लागेका छौं कि ? अराजकतन्त्रको बाटो हुँदै निरंकुशतन्त्रतिर पो लम्किरहेका छौं कि ? हामी कहाँ छौं र कता गइरहेका छौं ? हामी पुग्ने कहाँ हो ? ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ भनिरहेका हामी ‘उन्नत लोकतन्त्र’तिर अघि बढिरहेका छौं त ? राजनीतिशास्त्रीहरूले गम्भीर बहस गर्नुपर्ने प्रश्न हुन् यी । तर दुर्भाग्य के छ भने, नेपालमा राजनीतिक टिप्पणीकारहरू मात्र छन्, राजनीतिशास्त्रीहरू जन्मेका छैनन् ।

यस आलेखमा बुधबार बारा (सिमरा र परवानीपुर) मा भएको ‘एमाले–जेनजी’ तनावका विषयमा टिप्पणी गर्न खोजिएको हो । तर बारा घटनालाई सामान्य अर्थमा मात्र विश्लेषण गरिनु सतही बुझाइ हुनेछ । त्यसैले घटनामा प्रवेश गर्नुअघि पृष्ठभूमिमा केही सैद्धान्तिक मान्यताहरूबारे चर्चा गरौं ।

केही सैद्धान्तिक प्रश्न

बारा घटनालाई समान्यीकरण गरेर यसैका आधारमा अब फागुन २१ को चुनाव हुँदैन भन्ने निष्कर्ष निकालिहाल्नु हतारो हुनेछ । तर सिमराको जस्तै घटना नेपाली राजनीतिमा किन बारम्बार भइरहन्छन् ? यसको ‘निमित्त–कारण’ तर्फ मात्र नगएर राजनीतिशास्त्रीय, समाजशास्त्रीय अनि मनोवैज्ञानिक कारणहरू पनि खोजिनुपर्छ ।

यसरी विश्लेषण गर्दा हामी के निचोडमा पुग्न सक्छौं भने, नेपालमा अहिले अभ्यास भइरहेको लोकतन्त्र ‘असभ्य लोकतन्त्र’ हो । नेपाली समाजमा अहिलेसम्म प्रजातन्त्र वा लोकतन्त्रका नाममा ‘खराब लोकतन्त्र’कै अभ्यास हुँदै आएको छ । नेताहरूको तहबाट मात्र होइन, जनताको तहबाट पनि लोकतन्त्रको खराब अभ्यास भइरहेको छ । हामीले जेलाई ‘प्रजातन्त्र’ वा ‘लोकतन्त्र’ ठान्दै आयौं, जसलाई ‘लोकतन्त्रवादी’ नेता ठान्दै आयौं, समस्या यहीँनेर रह्यो ।

जुन देशमा मासु–चिउरा, जाँड, पेट्रोल र पैसामा बिक्ने मतदाता हुन्छन्, उनीहरूले निर्वाचनबाट कस्तो जनप्रतिनिधि छान्छन् । त्यसैले लोकतन्त्र राम्रो हुन र असल मानिसहरूले चुनाव जित्नका लागि जनता (मतदाता) पनि असल हुनुपर्छ । तर हामीकहाँ २०४८ सालयताका निर्वाचनमा ‘पैसामा बिक्ने मतदाता’ हरू ‘लोकतन्त्रका समस्या’ बन्दै आएका छन् ।

आर्थिक लोभ वा प्रलोभनमा बिक्ने मतदाता मात्रै होइन, उनीहरूको चेतनास्तरको न्यूनताले पनि खराब नेताहरूलाई सत्तामा पुर्‍याउने जोखिम रहन्छ । एकचोटि एउटा पार्टीमा लागिसकेपछि जीवनभरि त्यही पार्टीलाई भोट हाल्नुपर्छ भन्ने मतदाताहरूको ‘पन्थी मानसिकता’ लोकतन्त्रको मूल समस्या हो ।

एकपटक वैष्णव वा प्रणामी भएपछि जीवनभर अरू कुरा सोच्नुहुँदैन भनेजस्तो होइन आम निर्वाचन । चुनाव भनेकै छान्ने हो । एउटा पार्टीले राम्रो काम गरेन भने अर्कोलाई भोट हाल्नु पाप होइन । तर नेपालमा दललाई ‘धर्म’ वा आस्था जस्तै ठान्ने मतदाताहरूको मानसिकताले लोकतन्त्रलाई ‘जाम’ गराएको छ ।

एउटा पार्टीमा लागिसकेपछि अर्को पार्टीको मानिसलाई गालीगलोज गर्ने, विपक्षीको चरित्र हत्या गर्ने, उसलाई कुट्ने अनि विपक्षीलाई राक्षस जस्तो ठान्ने अतिवादी संस्कार जहिलेसम्म जाँदैन, त्यतिबेलासम्म समाजमा एउटा दलका कार्यकर्ताले अर्को दलका कार्यकर्तालाई कुट्ने र समाजमा अशान्ति मच्चाउने कार्य रोकिँदैन ।

एउटा पार्टीमा लागिसकेपछि अर्को पार्टीको मानिसलाई गालीगलोज गर्ने, विपक्षीको चरित्र हत्या गर्ने, उसलाई कुट्ने अनि विपक्षीलाई राक्षस जस्तो ठान्ने अतिवादी संस्कार जहिलेसम्म जाँदैन, त्यतिबेलासम्म समाजमा एउटा दलका कार्यकर्ताले अर्को दलका कार्यकर्तालाई कुट्ने र समाजमा अशान्ति मच्चाउने कार्य रोकिँदैन ।

लोकतन्त्र भनेको भिन्न विचारको सम्मान र स्वीकृति हो । भिन्न विचारहरूबीच चुनावमार्फत शान्तिपूर्ण प्रतिस्पर्धा हो । आफ्नो विचार शान्तिपूर्ण रूपमा जनतामा राखेर जनताको विश्वास जित्नुपर्ने प्रणाली हो लोकतन्त्र । तर आफूबाहेक अरू सबै बेठिक ठान्ने र यो देश मेरै पार्टीको मात्रै हो भन्ने मानसिकता नेपाली समाजमा छ ।

यो मानसिकता बोकेको समाजमा लोकतन्त्र लामो समय टिक्न सक्दैन । केही समय टिकिहाले पनि चाँडै विकृत हुन्छ । लोकतन्त्र विकृत हुँदा जनस्तरबाट अराजकता जन्मन्छ, राज्यको स्तरबाट निरंकुता पलाउँछ ।

चोरै चोरको समाज

कुनै पनि देशमा लोकतन्त्रको स्थायित्वका लागि मतदाताको चेतनास्तर र चिन्तनमा नै आमूल सुधार आउन जरुरी छ । मतदाताको न्यून चेतनास्तर भएको देशमा लोकतन्त्र कमजोर हुन्छ । त्यसर्थ, नेताहरूलाई मात्र ‘चोर’ नभनौं, जनता पनि सुध्रौं ।

भ्रष्टाचार र सुशासनको सवालमा पनि यही कुरा सत्य हो । जुन समाज जरैदेखि भ्रष्ट छ, त्यो देशमा व्यवस्था या नेता मात्रै फेरेर भ्रष्टाचार रोकिँदैन । जस्तो– जेनजी आन्दोलनले सरकार त फेर्‍यो तर भ्रष्टाचार रोकिएको छैन ।

जेनजी आन्दोलनका बेला सरकारी कार्यालय, निजी घर या भाटभटेनी जस्ता व्यावसायिक प्रतिष्ठानहरूबाट सामान चोरेर भाग्दै गरेका दृश्य हामीले भदौ २४ गते प्रशस्तै देख्यौं । ती चोरहरू पक्कै पनि जेनजी आन्दोलनका समर्थक हुन् ।

आगामी चुनावमा सायद उनीहरूले जेनजी उम्मदेवारलाई नै मत दिनेछन् । किन जेनजीलाई भोट दिएको भन्दा उनीहरूले पक्कै पनि भ्रष्टाचारको अन्त्यका लागि भन्नेछन् । तर जुन देशका जनता आफैं ‘चोर’ हुन्छन्, त्यो देशमा भ्रष्टाचार कसरी अन्त्य होला ?

स्थानीय तहमा राजनीतिक दलका कार्यकर्ताले चोर्ने । संघसंस्थामा पदाधिकारीले चोर्ने । प्रशासनमा कर्मचारीले चोर्ने । राज्यसत्तामा नेता र उनीहरूबाट नियक्ति खाएकाहरूले चोर्ने । व्यावसायिक प्रतिष्ठानमा कर छल्नेदेखि मूल्य बढाउनेसम्मका काम गरेर व्यवसायीहरूले चोर्ने, भाटभटेनीमा सर्वसाधारणले चोर्ने अनि बाँकी रहेका ठाउँमा बिचौलियाहरूले चोर्ने । कतै हाम्रो सिंगै समाजमा चोरहरूले वैधानिकता पाइरहेका त छैनन् ?

नेपाल यति साह्रो नैतिकता हराएको देश होइन । नेपालीहरूलाई विदेशीले समेत नैतिकवान् इमान्दार जाति मान्दै आएका थिए । हामीकहाँ विगतमा घडी या सुन पँधेरामा छुट्यो भने छिमेकीले घरमै ल्याइदिन्थे । बाटोमा भेटिएको सामान फिर्ता हुन्थ्यो । गाउँबेसीमा ढोका खुलै रहेका घर-गोठमा पनि चोर लाग्दैनथ्यो । शहरमा महिलाका सिक्री लुटिँदैनथे । अर्काको सम्पत्ति सित्तैमा लिनु हुँदैन भन्ने मान्यता थियो ।

अहिले हेरौं त, समाजमा चोरहरूको बिगबिगी छ । काठमाडौंको नेपाल यातायातमा दिनहुँ मोबाइल र पर्स हराउँछन् । घर बाहिर राखेको पानीको पाइप राति नै हराउँछ । अनि यस्तो अनैतिक समाजमा हामी शान्ति र सुशासनको चर्चा गरिरहेका छौं । नेताहरूलाई चोर भनिरहेका छौं तर चारवटा औंला हामी, जनतातिरै फर्किरहेका छन् ।

निचोडमा भन्दा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सरकार र व्यवस्था मात्र बदलेर नपुग्ने रहेछ । जनता, मतदाता र समाजको नैतिक चरित्रमा पनि सुधार आउनुपर्ने रहेछ । मतदाताको चेतनास्तरमा सुधार आउनुपर्ने रहेछ । अन्यथा, सिमराको जस्तो घटना भइनै रहन्छन् ।

झगडा गर्ने दुवै गलत

सिमराको घटनालाई लिएर नेकपा एमालेका नेता र जेनजीका नेता दुवैले सरकारलाई गाली गरेका छन् । सरकार र जेनजी मिलेर आफ्नो दललाई कार्यक्रम गर्न नदिएको एमालेको गुनासो छ । उता, जेनजीका नेता सुदन गुरुङले सामाजिक सञ्जालमा आफ्नै सरकारका गृहमन्त्रीलाई सत्तोसराप गर्दै एमालेको कार्यक्रम बिथोल्नेहरूलाई ‘सहासी’ को संज्ञा दिएका छन् ।

एयरपोर्टसमेत कब्जा गरेर जेनजीले परवानीपुरको कार्यक्रममा अवरोध गरेको एमालेको आरोप छ भने सामान्य भनाभन हुँदा एमाले कार्यकर्ताले जेनजी युवालाई कुटपिट गरेको सुदन गुरुङको तर्क छ ।

उता, जेनजी अभियन्ता रक्षा बम भने जेनजीहरू पनि संयमित हुनुपर्ने बताउँछिन् ।

आखिर सिमराको घटनाको दोषी को ? एमाले कि जेनजी ? यो प्रश्नको मिहीन केस्रा केलाउने काम गृह प्रशासनको हो । तर यहाँ यति चाहिँ भन्न सकिन्छ– एमाले नेताहरूलाई कार्यक्रममा जान नदिन एयरपोर्टको गेट तोड्ने र एमाले झण्डा–ब्यानर च्यात्ने काम जोबाट भयो, तिनीहरू लोकतन्त्रवादी होइनन्, अराजकतावादी हुन् ।

यसरी अर्काको पार्टीको कार्यक्रम बिथोल्नेहरूलाई साहसिक भन्दै धन्यवाद दिने जेनजी नेता सुदन गुरुङको लोकतान्त्रिक संस्कार र निष्टामाथि पनि प्रश्न उठेको छ । उनले गृहमन्त्रीविरुद्ध ‘लुते गृहमन्त्री’को ह्यास ट्यागसमेत चलाएका छन् । सुदनको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै, असभ्य पनि देखिन्छ । लोकतन्त्र भनेको एउटाले अर्कोलाई सिध्याउने होइन, चुनावबाट आफू श्रेष्ठ प्रमाणित हुने र जनताको मन जित्ने हो । गुण्डागर्दी र धम्की लोकतन्त्रमा अटाउँदैन ।

जेनजी नेता रक्षा बम समेतको कुरा सुन्दा सिमरामा एमाले कार्यकर्ताहरूले जेनजी युवामाथि कुटपिट गरेका थिए । एमाले कार्यकर्ताले त्यसरी कुटपिट गरेका हुन् भने त्यो पनि अलोकतान्त्रिक कार्य हो । आफूभन्दा भिन्न विचारको व्यक्तिमाथि हातपात गर्ने र उनीहरूमाथि हिंसा गर्ने कार्य एमालेले रोक्नैपर्छ ।

तसर्थ, अहिलेसम्म प्राप्त विवरणहरूलाई हेर्दा सिमरामा जुन परिस्थिति उत्पन्न भयो, त्यसमा जेनजी र एमाले दुवैतिरको गल्ती देखिन्छ । तर कोही व्यक्ति कुटियो भन्दैमा पार्टीको कार्यक्रम नै हुन नदिने र एयरपोर्टको गेट भत्काउने कार्यलाई सही या बहादुरीपूर्ण मान्न सकिँदैन ।

०४८ मोडेल’ को लोकतन्त्र

नेपालमा ०४६ साल चैत २६ गते रातिदेखि पञ्चायत ढलेर बहुदल आयो । कांग्रेस र कम्युनिस्टले मिलेर बहुदल ल्याएका थिए, तर चुनावसम्म पुग्दा झगडा र कुटाकुट नै गर्न थाले । ०४७/०४८ सालमा कांग्रेस र एमालेले अभ्यास गरेको प्रजातन्त्रका केही झलकहरू यस्ता थिएः

कांग्रेस–कम्युनिस्टबीच पानी बाराबार थियो । उनीहरूबीच बोलचाल हुँदैनथ्यो । बिहेबारी चल्दैनथ्यो । ऐंचो–पैंचो. चल्दैनथ्यो । विद्यालय, वन खानेपानी, सहकारी जस्ता संस्थाहरू छन् भने जुन दलले सक्यो, उसैको राज चल्थ्यो । अर्को पार्टीको शिक्षकलाई हटाइन्थ्यो । नियुक्तिमा पनि दलीय राजनीति हुन्थ्यो । अर्को दललाई बहिस्कार गरिन्थ्यो ।

अर्को पार्टीको कार्यक्रम भयो भने तोडफोड हुन्थ्यो । कुटाकुट हुन्थ्यो । एउटाले अर्कोलाई भए नभएका आरोपहरू लगाउँथे । समाजमा झडप र अशान्तिको मुहान नै कांग्रेस–एमाले थिए । सायद अहिले पनि ती पार्टीका कार्यकर्तासँग आपसमा कुटाइ खाँदाका दागहरू मेटिएका छैनन् होला ।

०६२\०६३ को आन्दोलनपछि भने अर्को पार्टीको मानिससँग पनि गाउँमा सँगै बसेर चिया खाने संस्कारको विकास भयो । तर जेनजी आन्दोलनपछि पुनः ‘०४८ मोडेलको लोकतन्त्र’ अभ्यास हुन थालेको हो कि भने जस्तो देखिएको छ । अर्को दलप्रति घृणा फैलाउने र व्यक्तिगत गालीगलोज गर्ने संस्कार अहिले फेरि देखा परेको छ । यसले के संकेत गरेको छ भने ०४८ साले मानसिकता अझै अन्त्य भइसकेको छैन । हाम्रो देशको लोकतन्त्र उन्नत हुन सकेको छैन । सिमराको आँखीझ्यालबाट देखिएको दृश्य यही हो ।

अब यति भनिसकेपछि ‘सिमरा काण्ड’ बारे एमाले र जेनजीका विपरीत तर्कहरू सुनौं, उनीहरूकै शब्दमाः

महेश बस्नेत, एमाले नेता (पत्रकार सम्मेलनमा बोल्दै)

मंसिर ६ गतेको तयारीका लागि मंसिर ५ गते माइतीघरमा अध्यक्ष केपी शर्मा ओलीलाई नै बोलाएर भव्य कार्यक्रम गर्ने तयारी भइरहेकाले म बारा, परवानीपुरको कार्यक्रममा नजाऔं कि भन्ने थियो । बिहानसम्म पनि नजाऔं कि भन्ने थियो । किसान श्रेष्ठ, लीला श्रेष्ठ, राजकुमार गुप्ता, ज्वाला साहजी सबैले तपाईं आइदिनुपर्छ, मधेशका युवाहरूलाई तपाईंले ऊर्जा दिनुपर्छ भनेपछि बिहान सिमरा जाने आकस्मिक निर्णय गरेको हुँ ।

त्यहाँको वडा कमिटीले उत्साहित भएर एउटा गेट बनाएछ । त्यहाँ जेनजीका नाममा ८/१० जना मान्छे आएका थिए, ती कोही जेनजी हुन् भन्ने मलाई लाग्दैन । ती जेनजी होइनन् । एमालेबाट आफू कमजोर भयौं भन्ठानेका तर पहिचान नभएकाले म यही हुन् भन्न सक्दिनँ ।

मधेशका एमालेका मुख्यमन्त्री बनेको कसैलाई मन परेको छैन । राष्ट्रिय झण्डा फाल्नेदेखि लिएर तोडफोड इत्यादि गरेकै छन् । सिमरा माओवादीले जितेको ठाउँ हो, अर्कोचोटि जित्दैन, एमालेले नै जित्ने हो । त्यहाँ राप्रपाको अलिअलि प्रभाव रहेछ । यी धेरै शक्तिहरू मिलेर त्यहाँ २५/३० जना जम्मा भएका रहेछन् । गेट भत्काएछन् । हाम्रो फोटोमा लात्ती हानेछन् ।

त्यहाँका स्थानीय युवाले लोकतान्त्रिक पद्धतिमा त नगरौं न, कार्यक्रममा आउनबाटै त रोक्न भएन नि भनेछन् । एमालेसँग असहमति छ भने अर्को कार्यक्रम गरे भयो । फेसबुकबाट आफ्ना कुराहरू राखे भयो । घरको कोठामा चुकुल लगाएर लाइभ हाने भो । गेट नै भत्काउनुपर्छ र ? यसो भन्दै त्यहाँका स्थानीय युवाले प्रतिरोध गरेछन् ।

उनीहरू १० जना गएर एयरपोर्टको गेट धकेल्छन्, सयौं प्रहरी परिचालित छन्, हेरिरहन्छन् । भनेपछि, प्रहरीको मनोबल कति कमजोर ? ५ सय चौकी भत्किएको, हतियार खोसिएको, ड्रेस लुटिएको, आफ्नो सहयोद्धा घाइते भएको र सहयोद्धा मरेको प्रहरीको मनोबल कति कमजोर छ भन्ने यहाँबाट देखिन्छ ।

हामी त्यहाँ जाने भनिसकेपछि के निहुँ पाउँ र कनिकाको भात खाऔं भन्ने भएको थियो । २५/३० जनाले हल्ला गरिसकेपछि एयरपोर्ट बन्द ! हामी बोडिङ गरेर अगाडि बढ्दै थियौं, एयरपोर्ट बन्द भन्ने सूचना आयो । पहिला चाहिँ उहाँहरूले ट्राफिक जाम भन्नुभयो । पछि आन्दोलन भयो अरे भन्नुभयो ।

सरकारले के चाहेको रहेछ भने अलिअलि जेनजी नामका युवाहरू उचालिदिएपछि एयरपोर्ट बन्द गराउने, के–के गराउने र हामीलाई त्यहाँ जान नदिने । किन यति धेरै आतंकित भएको हामीसँग ?

सुदन गुरुङ, जेनजी नेता, (फेसबुकबाट)

हाम्रो बारा जिल्ला साहसी संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित गुन्डा समूह प्रवेश गरी जेनजी साथीहरूलाई अपमान गर्दै कुटपिट गरेको घटना गृहमन्त्रीको लाचारीपनले भएको हो ।

गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र Gen Z भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरूमाथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने  ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।

हत्याराहरूले हामीलाई खुला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुनेवाला छ। हेक्का रहोस् । आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुनसक्छ भन्नेको। हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौं। हाम्रो मौनतालाई कमजोरी नठान्नु।

सिमराका जनताले देखाएको हिम्मत देशभरका जनताले देखाउन जरुरी छ । पार्टीप्रेमी होइन, देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छ। मौनतालाई कमजोरी नठान्नू: जनआन्दोलनको ज्वालामुखी उठ्दैछ ।

रक्षा बम जेनजी नेता (फेसबुकबाट)

खबरदार !

शान्तिपूर्ण प्रदर्शन गरिराखेका नवयुवाहरूमाथि दमनको शृङ्खला बन्द होस्।

प्रत्येक दिन ध्वंसात्मक अभिव्यक्ति दिँदै आएको एमालेले आज जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलन बिथोल्ने काम गर्‍यो र अहिले आफ्नो रङ बदल्दै अभिव्यक्ति स्वतन्त्रता र देशभित्र निर्वाध हिँडडुल गर्न पाउने स्वतन्त्रताको कुरा गरिरहेको छ । भदौ २३ अगाडिको समय सम्झियोस् एमालेले । त्यसबेला हाम्रो स्वतन्त्रतामाथि गोली दागेका तत्कालीन प्रधानमन्त्री केपी ओली आज कुन स्वतन्त्रताको वकालत गर्न खोज्दैछन् ? आखिर एमाले कहिले सुध्रन्छ र यो देशको भविष्यलाई प्रतिनिधित्व गरिरहेका युवाहरूको मनोभावना बुझ्छ ? हामी पर्खिरहेका छौं ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु सबैको अधिकार हो । एमालेका मुद्दाहरूसँग हाम्रो असहमति होला, तर उनीहरूको पनि लोकतान्त्रिक र संवैधानिक अधिकारको हामी वकालत गर्छौं । तर एमालेका शीर्षस्थ नेताहरूले जसरी पछिल्ला दिनहरूमा जेनजी आन्दोलनलाई नै अवमूल्यन गर्दै नागरिक सरकारलाई गिज्याउने, चुनाव हुँदैन भन्ने, नागरिक सरकारको आयोगहरूलाई हेप्ने, चुनौती दिने र जेनजी युवाहरूलाई धम्क्याउँदै, आजकै जस्तो हातपात गर्ने जुन कार्य गरेका छन्, यसले देशमा थप संकट निम्तिने वातावरण बनाउन सक्छ । र, यस्ता कार्य कसैको पनि हितमा हुँदैन ।

तसर्थ, नेकपा एमाले लगायत सम्पूर्ण राजनीतिक दलहरूलाई हाम्रो विनम्रतापूर्वक अनुरोध छ – कृपया सच्चिदिनुस् । आफ्नो दलको असफल र अक्षम नेतृत्व परिवर्तन गर्दै, आफ्नो राजनीति नागरिक केन्द्रित बनाउनुहोस् । स्वार्थी समूह र भ्रष्टाचारको पक्षपोषण गर्नेहरूका लागि हैन, आम नेपाली जनताको हितका लागि काम गर्न थाल्नुहोस् ।

जेनजीहरू पनि तपाईंहरूकै भाइबहिनी/छोराछोरी हुन्। हामी सुशासन चाहन्छौं । पारदर्शिता र जवाफदेहिता खोजिरहेका छौं । भ्रष्टाचाररहित राज्य संरचना बनेको हेर्न चाहन्छौं । यो संक्रमणकालबाट निस्कनका लागि चुनाव चाहन्छौं । आउनुहोस, शान्तिपूर्वक अगाडि बढौं र चुनावमा भेटौं ।

साथसाथै, हामी जेनजी साथीहरूलाई पनि आग्रह गर्दछौँ कि अहिले संयमता अपनाउनुपर्ने समय हो । देशको भलो नचाहने तत्त्वहरू हामीसँग मुठभेड गर्न, हामीलाई अत्याउन, हौस्याउन र हामीलाई आवेगमा ल्याउन चाहन्छन् । तर हामीले त्यसो गर्नु हुँदैन। हामी जो र जस्तो प्रवृत्तिसँग लड्दै छौं, हामी त्यस्तै बन्नु हुँदैन। अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो।

साथीहरू ! हामीले बुझ्नैपर्छ, विद्रोहपछि विवेक महत्त्वपूर्ण छ । यो रणनीतिक समय हो । हामी उनीहरूको रणनीतिको सिकार बन्नु हुँदैन।

लेखक
अरुण बराल

वरिष्ठ पत्रकार बराल अनलाइनखबरका स्तम्भकार एवं पूर्व सम्पादक हुन् । उनी सन् २०१३ देखि २०२१ सम्म अनलाइनखबरको सम्पादक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?