Comments Add Comment

सीएमसीले उपठेकेदारलाई एक अर्ब भन्दा बढी तिर्न बाँकी

१३ चैत, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची बीचैमा छाडेर हिंडेको इटालियन कम्पनी सिएमसीले उपठेकेदारहरूलाई एक अर्ब भन्दा बढी भुक्तानी गरेको छैन ।

सीएमसी पीडित समूहका संयोजक श्रीराम न्यौपाने आफूहरूले काम गरिसकेको एक अर्ब ३० करोड रुपैयाँ नपाएको दाबी गरे ।

मेलम्चीको मुख्य ठेकेदार सीएमसी भागेपछि ६० वटा उपठेकेदारहरूले भुक्तानी लिनका लागि गत पुसमा पीडित समूह गठन गरेका थिए । समूहका संयोजक न्यौपाने उपठेकेदारले पाउनुपर्ने पैसाको विषयमा कसैको जिम्मेवारी नलिएको गुनासो गर्छन् । सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्ने उनको माग छ ।

एउटा पक्ष सीएमसीलाई फिर्ता बोलाउनुपर्ने लविङमा लागि रहेका बेला राष्ट्रियसभाका सांसद सुरेन्द्रराज पाण्डेले भागिसकेको ठेकेदारलाई कुनै हालतमा फिर्ता बोलाउन नहुने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सीएमसीले फेरि काममा फर्कन दुई अर्ब ५२ करोड मागेको दाबी गरेका छन् ।

सरकारले ३६ करोड भुक्तानी तत्काल नदिएको भन्दै १७ डिसेम्बरमा सीएमसीले एकतर्फी रुपमा ठेक्का तोडेको पत्र सरकारलाई पठाएको थियो ।

आयोजना छोडेर भाग्न लागेको भन्दै गत पुस १ गते प्रहरीले सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिश्चियाने ग्रेचोसहित आठ जनालाई पक्राउ गरेको थियो । काठमाडौंस्थित इटालियन दुतावासले अंग्रेजी नयाँ वर्ष मनाएर कर्मचारी फर्कने ग्यारेन्टी गरेपछि उनीहरूलाई प्रहरीले मुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment