Comments Add Comment

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कम्तीमा बजेटअघि मन्त्री हेरफेर हुँदैनन्

१४ चैत, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले केही मन्त्री फेरबदल गर्न सुझाव दिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्री हेरफेर नगर्ने भएका छन् ।

दुई साताअघि अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्नुपरेमा ‘तपाईलाई भनिहाल्छु’ भन्ने जवाफ दिएका थिए । त्यसलगत्तै प्रचण्डले विराटनगरमा गएर मन्त्री हेरेफेर गर्नेबारे कुरा भएको बताएका थिए ।

त्यस्तै अर्का नेता माधव नेपालले पनि चितवन पुगेर कामको मूल्यांकनका आधारमा मन्त्री हेरेफेर गर्नुपर्ने बताएका थिए ।

शीर्ष नेताहरुले यस्ता अभिव्यक्ति दिए पनि तत्काल कुनै पनि मन्त्री नहट्ने भएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको पर्यटन मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ । पर्यटनमा धेरै काम रहेकाले तत्कालै कुनै सांसदलाई सो जिम्मेवारी दिने सम्भावना रहे पनि प्रधानमन्त्रीले केही भनेका छैनन् ।

पर्यटन मन्त्रालयमा योगेश भट्टराई, पार्वत गुरुङ, प्रेम आलेलगायतको नाम चर्चामा रहे पनि प्रधानमन्त्रीको रोजाइ अहिलेसम्म कसैले भेउ पाउन सकेका छैनन् ।

बजेटअघि मन्त्री हेरफेर हुँदैनन्– डा. भट्टराई

यसैवीच,  कम्तीमा सरकारको नीति तथा कार्यक्रम र बजेटअघि मन्त्रीहरु हरेफेर नहुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले अनलाइनखबरलाई बताए ।

नेकपा नेतासमेत रहेका प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले अनलाइनखबरको स्टुडियोमा भिडियो अन्तर्वार्ता दिने क्रममा अहिले कुनै पनि मन्त्री फेर्ने वा नयाँ नियुक्ति गर्ने सोचमा प्रधानमन्त्री नरहेको बताए ।

डा. भट्टराईले खाली रहेको पर्यटन मन्त्रालयमा भने प्रधानमन्त्रीले आवश्यकता महशुस गरेमा मन्त्री नियुक्त गर्न सक्ने बताए । उनले भने– अहिले सरकार लगानी सम्मेलनलगत्तै नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ । यो वर्षभरिका कामका उपलब्धीहरु भर्खर देखिँदैछन् । तिनीहरुलाई संस्थागत गर्ने र नयाँ परियोजनाहरु अघि बढाउने बेलामा मन्त्री फेरबदल गर्ने आवश्यकता देखिएको छैन ।’

शीर्ष नेताहरुबीच मन्त्री फेरबदलका बारेमा कुराकानी भए पनि अहिले त्यो सम्भावना नरहेको डा. भट्टराईको भनाइ छ ।

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबै मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयले गरेका कामको प्रगति विवरण पेश गर्न भनेका छन् । अबका दुई तीन महिना विकास आयोजनाका काम रफ्तारमा हुने भएकाले पनि परिणाम देखिने बेलामा मन्त्री फेर्ने कुरा उचित नहुने प्रधानमन्त्रीको धारणा रहेको स्रोत बताउँछ ।

डा. भट्टराईसँगको भिडियोवार्ता केहीबेरमा प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment