Comments Add Comment

वीरगञ्जमा एसईईका विद्यार्थीका उग्र प्रदर्शन, सुरक्षाकर्मीसहित दर्जन बढी घाइते

१५ चैत, वीरगञ्ज । परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जमा इसईईका विद्यार्थीहरुले अराजक प्रदर्शन गरेका छन् ।

शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा हलमा पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएको जानकारी पाएपछि त्यहाँबाट बजारमा आएर प्रदर्शनमा उत्रिएका थिए ।
विद्यार्थीहरुले बिहान ७ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गरेका कारण वीरगञ्ज तनावग्रस्त बनेको थियो ।

वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले तोडफोड पनि गरेका छन् ।

विद्यार्थीहरुले वीरगञ्जको विपी उद्यान पार्कमा ट्राफिक सचेतनाका लागि राखिएको एलईडी टिभी, घण्टाघर प्रहरी बीटमाथि राखिएको एलईडी बोर्ड, घण्टाघर चोकमा राखिएको स्मार्ट ट्राफिक आईल्याण्ड तोडेका छन् । ना१ख ७७८७ नम्बरको म्याजिक भ्यानमा समेत विद्यार्थीले तोडफोड गरेका छन् ।

विद्यार्थीले बाईपास सडकमा रहेको होटल हिमाल एण्ड भान्छा घरको सिसा फुटाएका छन् । तोडफोडबाट अगाडि भागको सिसा फुटेको र ७ लाख भन्दा बढी क्षति भएको सञ्चालक जगरनाथप्रसाद कलवारले जानकारी दिए । विद्यार्थीहरुले वीरगञ्जको मूर्लीस्थित अनुभूति कलेजमा पनि तोडफोड गरेका छन् ।

प्रहरीमाथि ढुंगा प्रहार, एसपी घाइते

उनीहरुले प्रहरीमाथि ढुंगासमेत प्रहार गरेका थिए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रहार गरेको ढुंगाले लागेर प्रहरी उपरीक्षक रेवती ढकालको मोबाइल फुटेको छ । उनको खुट्टामा समेत चोट लागेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ९ जना सुरक्षाकर्मीसमेत ढुंगाले लागेर सामान्य घाइते भएका छन् ।

प्रदर्शनमा उत्रिएका दुईजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक ढकालले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको स्वीकार गरे । ‘दुईजना

विद्यार्थीलाई नियन्त्रणमा लिएका छौं । आन्दोलनमा उनीहरुको संलग्नताको अवस्थाका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं, ‘ उनले भने ।

विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुको साथै त्यहाँ पनि प्रदर्शन गरेका थिए ।

दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएका छौं । आन्दोलनमा उनीहरुको संलग्नताको अवस्थाका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं ।

अँश्रुग्यास र पानीको फोहोरा र लाठी चार्ज

तोडफोडमा उत्रिएपछि बिहान प्रहरीले भीड नियन्त्रणमा लिन २ सेल अँश्रुग्याससमेत प्रहार गरेको थियो ।

दमकलमार्फत पानीको फोहोरा प्रहार गरेपछि विद्यार्थीहरु थप आक्रोशित भएका थिए । प्रहरीले भीड नियन्त्रणमा लिने क्रममा गरेको लाठी चार्जबाट केही विद्यार्थी घाइतेसमेत भएका छन् ।

सिद्धार्थ माविका शिव शंकर पटेलको टाउकोमा चोट लागेको छ । नारायाणी अस्पतालमा उपचारको क्रममा ६ वटा टाका लागेको उनले बताए ।

त्यसैगरी साउथ जोनका राहुल पटेल, जिएचपीका आसिक अन्सारी, गौतम माविका निरज मण्डल, अभिनन्दन चौहान, अविरल चौहान, अमरद्विप चौधरी, गीता गजेन्द्र माविका लगायतका विद्यार्थीहरुलाई सामान्य चोट लागेको छ ।

विद्यार्थीहरुले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् । ‘वी वान्ट जस्टस’ भन्दै नारा लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सबै परीक्षा रद्द गरी समय दिएर पुनः परीक्षा लिनुपर्ने माग गरेका थिए ।

साउथ जोनका राज साहले सबै परीक्षा रद्द गरेर लिन आग्रह गरे । ‘ म्याथको प्रश्न पत्र पनि परीक्षा अघि नै आउट भएको जानकारी हामीलाई छ, ‘ उनले भने ‘ दोषीलाई कारबाही गर्नुपर्छ, अनि सबै परीक्षा रद्द गरेर पुनः सञ्चालन गर्नुपर्छ ।’

विज्ञान विषयकोे परीक्षा रद्द भएको विरोधमा यसअघि विद्यार्थीहरुले बिहिबार बेलुका पनि प्रदर्शन गरेका थिए ।

बोर्डको निर्णय सच्याउन विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले राष्ट्रिय परीक्षा बोर्डको निर्णय यथाशीघ्र सच्याउन माग गरेका छन् ।

आकस्मिक बैठक बसेर विभिन्न निर्णय गर्दै विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापन पत्रमा स्थानीय प्रशासनले विद्यार्थी माथि दमन गरेको उल्लेख गर्दै त्यसको निन्दा र दोषीलाई कारबाहीको माग गरिएको छ ।

परीक्षा बोर्डले गरेको निर्णय सच्याउनुपर्ने, छानबिन कमिटी गठन गर्दै दोषीलाई जेल सजायको माग उनीहरुको छ ।

माग पूरा नभएको खण्डमा सडक संघर्षमा उत्रने चेतावनी विद्याथी संगठनहरुले दिएका छन् ।

नेविसंघ पर्सा, अखिल/अखिल क्रान्तिकारी पर्सा, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ पर्साका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले परीक्षाको अन्तर्राष्ट्रिय मान्यता हुने भएकोले परीक्षा बोर्ड त्यसैगरी अघि बढेको स्पष्ट पारे ।

उनले विद्यार्थीहरुलाई पर्न गएको मर्काका बारेमा आफूहरु जानकार रहेको बताउँदै विद्यार्थीहरुको तर्फबाट आफूले परीक्षा बोर्डमा कुरा राख्नेमा आश्वस्त हुन आग्रह गरे ।

‘परीक्षा रद्द गर्दा विद्यार्थीहरुलाई पर्ने मनोवैज्ञानिक असरको हामीले क्षतिपूर्ति दिन त सक्दैनौं तर विद्यार्थीहरुलाई के गर्दा सहज हुन्छ त्यसमा हामी ध्यान दिन्छौं ,’ उनले भने, ‘अराजक भएर प्रदर्शन गर्ने/गराउने भन्दा मागहरु लिखित रुपमा आयो भने त्यसलाई सम्बन्धित निकायमा पठाउन सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment