Comments Add Comment

एसईई परीक्षा : पास गराउन २५ हजारमा ठेक्का !

१५ चैत, विराटनगर । मोरङको धनपालथानमा एक ट्युसन सेन्टरले एसईई परीक्षा उतीर्ण गराइदिने भन्दै जनही २५ हजार रुपैया लिएको पाइएको छ ।

धनपालथान गाउँपालिका– ६ दादरबेरियाको सरस्वती माध्यमिक विद्यालयमा परीक्षा दिने विद्यार्थीले पास गराउने ग्यारेन्टीसहित २५ हजार रुपैया बुझाएर खुला तर्फको एसईई दिएको बताए ।

मोरङबाट शिवशक्ति माध्यमिक विद्यालयले खुला एसएलसी गराउदै आएको छ । सोही स्कुलको परीक्षा केन्द्र सरस्वती माविमा पर्छ । जहाँ ३६२ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् । परीक्षा केन्द्रमा खुल्ला तर्फबाट मात्र ३०५ विद्यार्थी सहभागी छन् ।

मोरङ, सुनसरी र झापका विभिन्न स्थानका ३०५ विद्यार्थी विभिन्न ट्यूसन सेन्टर मार्फत शिवशक्तिमा जोडिएका हुन् । उतीर्ण हुने सर्तमा २५ हजार रुपैयाँ दिएका विद्यार्थीहरुलाई सेन्टरले गाडी रिर्जब गरेर स्कुलसम्म ल्याउने गरेका छन् । ट्युसन सेन्टरले गाडी भाडा भने बेग्लै लिने गरेको विद्यार्थीहरुले बताए ।

धरान, उर्लाबारी र भापाबाट नियमित गाडी रिजर्व गरेर विद्यार्थीहरु आउने गरेका छन् । स्कुलमा दैनिक तीन वटा बस रिर्जब गरेर विद्यार्थीलाई ल्याइन्छ ।

धरानबाट परीक्षा भर सहभागी हुन प्रतिविद्यार्थी गाडी भाडा मात्र ३ हजार रुपैयाँ उठाएका छन् । ‘पास हुन्छ भनेर २५ हजार रुपैयाँ बुझाएको हो’ सामाजिक बिषयको परीक्षा दिएपछि बाहिरिएका एक विद्यार्थीले भने ‘पास भएन भने पैसा फिर्ता लिन्छु ।’

धरान, उर्लाबारी, पथरी र दमकमा सञ्चालित केही ट्युसन सेन्टरले विद्यार्थीलाई परीक्षामा सहज बनाउन गेस पेपरपनि उपलब्ध गराउने स्थानीयहरु बताउछन् ।
विहान विद्यार्थी लिएर स्कुल आउने ट्युसन सेन्टर सञ्चालक परीक्षा अवधीभर बसेर विद्यार्थी लिएर फर्कन्छन् ।

तर विद्यालयका केन्द्राध्यक्ष भगवान यादव परीक्षा खुकुलो नभएको बताउ । ‘हामी गेटमा नै चेक गर्छाैं’ उनले भने ‘ भित्र अली अली चिट चोर्छन् होला ।’ उनी धेरै टाइट पनि गर्न नसक्ने बताउँछन् । उनी विद्यार्थीहरुबाट ट्युसन सेन्टरले २५ हजार रुपैयाँका दरले उठाएको आफूले पनि सुनेको बताए ।

दुई निरीक्षक कारवाहीमा, परीक्षा हलमा मोवाइल

सरस्वती मावि परीक्षा केन्द्र जारी परीक्षामा कारवाही पर्ने विद्यालयमध्ये अग्रपंक्तिमा छ । सो स्कुलका दुई जना निरीक्षकलाई निश्कासन गरिएको छ । कक्षाकोठामा मोवाइल प्रयोग गरेको पाइएपछि एक जना विद्यार्थीको एउटा परीक्षा पनि रद्ध गरिएको छ ।

शुक्रबार बिहान तीनवटा मोवाइल पनि भेटिएको जिल्ला शिक्षा समन्वय अधिकारी राजेन्द्र बुढाथोकीले जानकारी दिए । शुक्रबार परीक्षाअघि प्रहरीले सर्च गर्दा लुकाएर राखेको अवस्थामा तीनवटा मोवाइल नियन्त्रणामा लिइएको हो ।

जिल्ला शिक्षा समन्वय अधिकारी बुढाथोकी सो स्कुलमा गडबढी हुने गरेको सूचना आफुले पाएको बताउँछन् । ‘केन्द्राध्यक्षलाई आज पनि फोन गरेर परीक्षा मर्यादित बनाउन निर्देशन दिएको छु’ उनले भने ‘परीक्षा अघि स्कुल खानतलासी र गेटमा चेकजाँच हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment