Comments Add Comment

चिनियाँ फुटबलरको विश्व चर्चा – मेस्सीभन्दा अघि !

काठमाडौं । ला लिगामा शनिबार रातिको क्याटालन डर्बीमा लियोनल मेस्सीले दुई गोल गरेर बार्सिलोनालाई जिताए । तर खेलपछिको दृश्यमा भने मेस्सी मात्र थिएनन् । उनीसँगै चर्चामा जोडिए, स्पानियोलका वु ली ।

क्याम्प नाउमा रहेका स्पानियोल समर्थकले खेलको ६३ औँ मिनेटसम्म ‘ओ…ले ओले…ओले’ आवाज निकाल्दै समर्थन गरिरहेका थिए । ६४ औँ मिनेटमा जब वु ली मैदान प्रवेश गरे, उनीहरुको शैली फेरियो, ‘वु…ली… वु ली… वु ली ।’

मैदानमा उपस्थित दर्शकसँगै ला लिगा पछ्याउने विश्वभरका दर्शक र झण्डै चार करोड चिनियाँ समर्थकले पनि लीको शैली प्रत्यक्ष हेरिरहेका थिए । खेल हुने दिन र खेलपछि पनि दर्जनौँ चिनियाँ सञ्चार माध्यममा लीकै चर्चा चल्यो ।

गएको जनवरीमा चिनको फुटबल क्लब साङघाई एसआईपीजीबाट स्पेनिस क्लब स्पानियोल गएदेखि नै वु ली फुटबल समर्थकमाझ चर्चामा छन् ।

पहिलो गोलको चर्चा

रेलिगेसनको कठीन अवस्थाबाट अगाडि बढिरहेको टिममा उनको आगमनले नयाँ उत्साह थपियो । हुन पनि ला लिगामा गोल गर्ने पहिलो चिनियाँ खेलाडी बनेको लीको शैली नै गजवको देखिन्छ ।

चार हप्ताअघि भायाडोलिडविरुद्ध गोल गरेपछि त उनी चिनियाँ समर्थकमाझ मात्रै होइन, विश्व फुटबल प्रेमीका आँखामा परे । युरोपका मुख्य पाँच फुटबल लिगमा चिनियाँ खेलाडीले गोल गरेको ३ हजार ७ सय ३१ दिनपछि लीको खेल हेर्न पाएका चिनियाँ समर्थक त दंगै छन् ।

शनिबार बार्सिलोनाविरुद्ध त लीकै लागि पनि महत्वपूर्ण समय थियो । किनभने उनका स्टार लियोनल मेस्सीविरुद्ध उनी मैदान उत्रिएका थिए । ली सानैदेखि मेस्सीका समर्थक हुन् । चिनमा उनलाई मानिसहरु पहिलेदेखि नै मेस्सीसँगै तुलना गरिरहन्थे ।

२००८ को बेइजिङ ओलम्पिकका बेला बल टिप्ने काममा खटिएका उनै ली ले लियोनल मेस्सीसँग तस्वीर खिचाउने अवसर पाएका थिए । अहिले उनै मेस्सीविरुद्ध मैदान उत्रन पाउनु लीको फुटबल जीवनकै उत्कृष्ट क्षण बन्यो ।

पुराना दिनका ती ली

चिनको नानजिङमा जन्मिएका लीका बुबाआमा दुवै सामान्य कामदार हुन् । घर खर्च चलाउनै ठिक्क हुने परिवारको कमाइले लीको फुटबल अघि बढ्न सक्दैनथ्यो । त्यसैले उनको लागि सहयोग गर्न साङ्घाई क्लबकै जु जेनबाओले दाता खोजे ।

सानैमा लीको फुटबल कला देखेका जेनबाओले आफ्नो एक साथीको सहयोगमा लीलाई पढ्ने र खेल्ने व्यवस्था मिलाइदिएका थिए । चिनमा फुटबलमा लाग्ने साना केटाकेटी सामान्य परिवारकै हुन्छन् । किनभने अलि हुने परिवारका सन्तान पढ्ने र जागिर खानेमा मात्रै केन्द्रित छन् । त्यहाँबाट छुटेका कोही मात्रै खेलकुदमा लाग्छन् ।

२००३ को नोभेम्बरको एक दिन ली पहिलोपटक आफ्ना प्रशिक्षक गेनबाओसँगै फुटबल मैदानमा देखिएका थिए । १२ वर्षका उनी ओभर कोट लगाएर अनौठो हाँसो हाँस्दै यताउति गरिरहेका थिए ।

त्यसको १६ वर्षपछि स्पेन लाग्ने बेलामा लीले त्यही दिन सम्झिरहेका थिए । ‘ठीक यो समय म १६ वर्षअघिको त्यो दिन सम्झिरहेको छु । मैले भविष्यका लागि फुटबल खेल्न घर छाडेर अर्को सहर गएको थिएँ । अहिले पनि उस्तै गरी देश छाडेर जाँदै छु’ उनले भनेका थिए ।

ली साहसी, स्पस्ट र लक्ष्य बनाएर अघि बढ्ने शैलीका छन् । २००४ मा चिनियाँ टेलिभिजन सीसीटीभीले लिएको एक अन्तर्वार्तामा सञ्चालकले भनेका थिए, फुटबल स्टार भएपछि अर्को क्लबमा जान तपाइँको ट्रान्सफर रकम कति होला ?

लीको जवाफ थियो, ‘७० मिलियन डलर जति होला ।’ जब कि त्यो समय इन्टरनाजियोनल मिलानोबाट रियल मड्रिड गएका ब्राजिलियन रोनाल्डोको रकम ४६ मिलियन डलर मात्रै थियो ।

चिनका उत्कृष्ट फुटबलर

साङ्घाईमा छँदा नै लगातार पाँच सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका ली ओस्कार र हल्क जस्ता खेलाडीसँगको संगतले पनि निकै उत्कृष्ट बन्दै गएका हुन् । अहिले त्यही अपेक्षा स्पेनिस मैदानमा चिनिया समर्थकले गरिरहेका छन् ।

२००३ मा जेनबाओ फुटबल एकेडेमीमा आबद्ध भएका ली २००६ देखि साङ्घाई फुटबल क्लबमा छन् । चिनको यु १७, यु २० हुँदै राष्ट्रिय टिममा २०१० मा पुगेका उनले ६३ खेलमा १५ गोल पनि गरेका छन् ।

चाइनिज सुपर लिगका सर्वाधिक गोल कर्ता लीले साङ्घाईबाट खेलेका २९६ खेलमा १५१ गोल गरेर कीर्तिमान बनाएका छन् ।

खेल रणनीति, स्थान, गति र तिब्रताका कारण पनि ली चिनका उत्कृष्ट फुटबलर हुन् । आफ्नो सुट हान्ने कलामा सुधार गर्नुपर्ने बताउँदै आएका लीले त्यसमा पनि निकै कडा मेहनत गरिरहेका छन् । जसले उनी चिनमा लगातार सर्वाधिक गोलकर्ता बन्न सके ।

यसैले चिनमा उनलाई समर्थकहरु ‘वु क्यु वाङ’ को नामले पनि सम्बोधन गर्छन् । जसको अर्थ हुन्छ, ‘वु फुटबलका राजा’ ।

बजार विस्तारमा प्रयोग

लीको फुबटल शैली उत्कृष्ट हुँदा हुँदै पनि उनको स्पेनमा गरिएको उपस्थिति खेलभन्दा बढी बजारको लोभले भएको फुटबल विश्लेषक बताउँछन् । हुन पनि स्पानियोलका अध्यक्ष चेन यानसेङ आफै पनि चिनिया नागरिक भएकाले उनले चीनको बजार देखेका छन् ।

दुई मिलियन युरोमा स्पेनिस क्लब गएका २७ वर्षका लीले पहिलो दिनदेखि नै आफ्नो प्रभाव पनि देखाए । त्यसैले त स्पानियोलको सामाजिक सञ्जालमा एकै महिनामा ८ लाख समर्थक थपिए । जसले चिनमै पनि रियल मड्रिड र बार्सिलोनाको तुलनामा नगन्य समर्थक रहेको स्पानियोलको बजार बढिरहेको छ ।

त्यसैले पूरा युरोपको भन्दा झण्डै दोब्बर जनसंख्या रहेको चिनमा बजार विस्तारले अरु युरोपियन लिगलाई समेत दबाव बनेको छ । त्यो सँगै बार्सिलोनामा रहेका ७० हजार चिनिया नागरिकले पनि स्पानियोलको बजारमा साथ दिइरहेका छन् । अझ नयाँ सिजनको सुरुमा स्पानियोलले चिन भ्रमणको योजना बनाइरहँदा बजार अझै बढेर जाने निश्चित छ ।

स्पानियोलले बजारकै लागि सोचेको भए पनि अवस्था अहिले फेरिएको छ । उनले मैदानमा आफ्नो कला सावित गरिसकेका छन् । आउने वित्तिकै भिलारियलसँग २-२ को बराबरी खेलेका उनले रायो भालेकानोविरुद्ध जित दिलाए । भ्यालेन्सिया र हुएस्कासँग बराबरी भएपछि भायाडोलिडविरुद्धको जितमा त उनले गोल नै गरे ।

यसैले स्पानियोलका मिडफिल्डर भिक्टर सान्चेजले भनेका छन्, ‘उनी आउँदा हामीलाई उनको बारेमा थाहा थिएन । वास्तवमा त हामी अचम्ममा परेका थियौँ । उनी निकै तिब्र छन्, बक्स भित्र खालि ठाउँ भेट्छन् र उनको आँखा गोलको खोजीमा रहन्छ ।’

– बीबीसी, मार्का र पान डेलीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment