+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सूचना प्रविधि विधेयकले थाल खाउँ न भात खाउँ भयो : सञ्चारमन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १५:१७

१८ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे अनावश्यक टिप्पणी भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

संसदको विकास तथा प्रविधि समितिमा सोमबार मन्त्री बास्कोटाले विश्वका सबैजसो प्रजातान्त्रिक देशहरुले गरेको अभ्यासलाई नेपालमा पनि आवश्यक ठानेर प्रयोगमा ल्याउन खोज्दा आलोचना भएको जिकिर गरे । ‘उनै कुरा अन्य प्रजातान्तिक देशहरुले गर्दा स्वतन्त्रतामाथि केही भएन । यहाँ चाहिँ कुरो के आएको थियो ‘थाल खाउँ न भात खाउँ भयो मलाई । यस्तो आपत पर्यो’ उनले भने ।

समितिले सोमवार मन्त्री बास्कोटालाई विधेयक ल्याउनुको कारणबारे छलफल गर्न भन्दै बोलाएको थियो । त्यसक्रममा उनले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नभई सकारात्मक कोणबाट नियमन गर्न खोजेको बताए । ‘यहाँ फेसबुक चलाउन नपाइने, ट्वीटर चलाउन नपाइने भन्ने ढङ्गले गलत प्रचार भएका छन्’, उनले भने, ‘प्रयोगकर्ताले नभई कम्पनीले दर्ता गर्नुपर्ने प्रस्ताव विधेयकमा छ ।’

फेसबुक कम्पनीले नेपाली प्रयोगकर्ताहरुबाट बार्षिक रुपमा करिव बाह्र अर्ब रुपैयाँ लगिरहेको उनले बताए । यसरी नेपालीहरुबाट पैसा लैजाने अन्य सामाजिक सञ्जालसम्बन्धी कम्पनीलाई समेत दर्ता गरेर राजश्वको दायरामा ल्याउन लागिएको मन्त्री बास्कोटाको भनाइ रहेको छ ।

आतंकवाद, पृथकतावाद, प्रोपोगाण्डा र घृणाजन्य सामाग्रीलाई रोक्न पनि विधेयक आवश्यक भएको उनको भनाइ थियो । ‘आतंकवादीहरुले विभत्स हत्या गरेका दृश्यहरु सार्वजनिक गरिरहेका हुन्छन् । इराकमा १२ जना नेपालीहरुको आतंकवादीले हत्या गरेका दृश्यहरु पनि आएकै हुन्’, उनले थपे, ‘कसैले देश टुक्र्याउँ भन्दै फेसबुकबाट आह्वान गर्यो भने कुन कानुन लगाउने ?’

‘यसकारण पनि सामाजिक सञ्जालको नियमनको आवश्यकता छ, मन्त्री बास्कोटाले थपे । केही समयअघि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर असह्य हुने पोष्टहरु सामाजिक सञ्जालमा भएको तर, कानुन अभावका कारबाही गर्न नसकिएको मन्त्री बास्कोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?