Comments Add Comment

हावाहुरी प्रभावित क्षेत्रमा सेनाले यसरी गर्दैछ काम (तस्वीरहरु)

पीडितलाई खान पकाइदिनेदेखि अस्थायी टहरा निर्माणको तयारीसम्म

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीबाट प्रभावितको राहत, खोजी, उद्दार तथा उपचारमा नेपाली सेनाको टोली सक्रिय छ । सेनाको टोलीले मुखयतः ‘सर्च एन्ड रेस्क्यू’लाई प्राथमिकता दिएको छ ।

‘खोजी र उद्दारसँगै हामीले अबरुद्ध सडकलाई सुलाउने कामलाई पनि प्राथमिकता दिएका थियौं’, नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘जसका लागि बारामा रहेको हाम्रो बाहिनी र प्रभावित क्षेत्र नजिकै रहेको ३ वटा बटालियन सक्रिय थियो ।’

सहायक रथी ढकालका अनुसार सेनाको एमआई १७ र स्काई ट्रक विरामीको उद्दारका लागि खटिएको थियो । सोमबार बिहान स्काई ट्रकले गम्भीर घाइते ६ जना र एमआई १७ ले साँझ दुई जना विरामी र ५ जना कुरुवालाई काठमाडौं ल्याएको छ ।

हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उनीहरुको उपचार भइरहेको छ ।

काठमाडौंबाट सेनाका ४ जना वरिष्ठ न्यूरो सर्जनलाई पनि विरामीको उपचारका लागि खटाइएको छ । उपचारका क्रममा रगत अभाव नहोस् भनेर रक्तदान कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

सेनाको टोलीले ४ सय वटा त्रिपाल पनि साथमै लिएर बारा गएको थियो, जुन गृहमन्त्रालयले उपलब्ध गराएको हो ।

यसका अतिरिक्त सबैभन्दा प्रभावित फेटा इलाकामा हावाहुरी प्रभावितका लागि खाना पकाउने र सरसफाईमा समेत सेनाको टोलीले सघाइरहेको ढकालले बताए । ‘स्थानीय वासिन्दाको हराएको सामान खोजतलास गर्ने कार्यमा पनि सेना सक्रिय छ’, उनले भने ।

सेनाको इञ्जिनियर, प्लम्बर र डकर्मीको दक्ष टोलीलाई पनि बाढी प्रभावित स्थलमा पठाइएको छ । टोलीले मंगलबारदेखि स्थानीयको अस्थायी टहरा बनाउन सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment