Comments Add Comment

नारायणीमा मोटरबोट : महिनामा झण्डै एक लाख कमाइ !

१९ चैत, चितवन । नवलपरासी गैंडाकोट–२ का तिलबहादुर आलेको ५ महिना अघिसम्म नारायणी नदीमा माछा मार्ने दैनिकी थियो । गैंडाकोट नगरपालिका वडा नं. २ नारायणी नदी किनारमा उनको सानो घर छ । आधा जिन्दगी माछा मारेर बिताए तिलबहादुरले । दिनभर काठको डुंगामा जाल लिएर नारायणीमा माछा मार्ने र साँझपख बेचेर जीवकोपार्जन गर्दथे उनी ।

माछा बेचेर उनले कहिले दिनको पाँच सय, त कहिले हजार हात पार्दथे । कहिले अल्छि लाग्थ्यो घरमै सुत्थे । एक दिन नारायणी नदीमा हरी शर्माले चलाएको मोटरबोटमा उनको आँखा पर्‍यो । यस्तै मोटरबोट किनेर चलाउन पाए कस्तो हुन्थ्यो होला भन्ने सोच मनमा पलायो । उनले मोटरबोटबारे बुझे । विभिन्न सहकारी तथा वित्तीय संस्थाबाट ऋण लिएर मोटरबोट किन्ने अठोट गरे ।

बुटवलमा तयारी गरिएका दुईवटा मोटरबोट १०/१० लाख हालेर नारायणी नदीमा ल्याए । यसअघि, भारतमा गएर मोटरबोट किन्नुपर्दथ्यो । तर, आलेलाई मोटरबोट किन्न भारत जानुपरेन । चार महिनाअघि नारायणी नदीमा मोटरबोट ल्याएदेखि नै तिलबहादुरले राम्रो कमाई गरिरहेका छन् ।

नारायणीको पुलदेखि गौरेश्वर मन्दिर पोखरा बसपार्कसम्म २.५ किलोमिटर मोटरबोट चलाउने गरिएको छ । एकपटकमा मोटरबोटमा १० जना यात्रु अटाउँछन् । प्रतिव्यक्ति १५० रुपैयाँ लिने गरिन्छ । त्यसमध्येको २५ रुपैयाँ नारायणगढ तर्फका विभिन्न पाँच टोल विकास संस्थालाई दिनुपर्दछ । सो मोटरबोट सञ्चालनमा संयोजन नारायणी नदी किनारमा अवस्थित पाँच टोल विकासको संयुक्त समितिले गरेका छन् । भ्याट वापत प्रतिटिकटमा १८.७५ पैसा तिर्नुपर्दछ । भरतपुर महानगरपालिकामा वार्षिक ५ हजार व्यवसाय कर तिर्नुपर्दछ ।

दुई मोटरबोट सञ्चालनमा ल्याएका तिलबहादुरले दुई जना चालक र एक जना सहयोगीलाई रोजगारीसमेत दिएका छन् । दिनमा १० लिटर डिजेल खर्च हुने गरेको छ । महिनाको झण्डै डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म कमाउँदै आएका छन् तिलबहादुरले । तर, पनि सबै खर्च कटाएर महिनामा ७० देखि ८० हजार रुपैयाँसम्म नाफा निस्किन्छ,’ उनले भने ।

कमाएको रकम मोटरबोट किन्दाको ऋण तिर्ने गरेका उनी बताउँछन् । ‘एउटा मोटरबोटको त ऋण तिरेर सकिन लागिसक्यो,’ उनले सुनाए ।

हिजोआज गर्मी बढेकाले दिउँसोको समयमा खासै यात्रुहरू आउँदैनन् । साँझ र विहानपख मोटरबोट चढ्नेहरुको भिड नै लाग्ने गर्दछ । मेला महोत्सव र चाडपर्वको बेलामा त झन् भिड थामिनसक्नु हुन्छ । चार–पाँच जना मात्रै भएपनि फर्काउने नगरेको आलेले सुनाए ।

अहिले नारायणी नदीमा ६ वटा मोटरबोट सञ्चालन गरिएको छ । असार, साउन र भदौ महिनामा नारायणी नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ ।

गैंडाकोट–२ कै हरी शर्माले तीनवटा मोटरबोट चलाएका छन् । नारायणीमा मोटरबोट ल्याउने र चलाउने उनी नै पहिलो ब्यक्ति हुन् । नेपाल सरकारले तत्कालीन भरतपुर नगरपालिकालाई सञ्चालनका लागि दिएको जेटबोट पनि शर्माले नै नारायणीमा चलाएका थिए । पछि कोशी नदीमा लगेपछि ०६२ सालमा पनि शर्माले गएर जेटबोट चलाए । यात्रुले भन्छन् ‘केपी ओलीको पानीजहाज यही हो ।’

सरकारले नारायणी नदीमा पानीजहाज चलाउने तयारी गरेको बताएको छ । भारत सरकारको सहयोगमा नारायणी नदीमा पानीजहाज चलाउनेबारे त्रिवेणी क्षेत्रको स्थलगत अध्ययनसमेत सरकारले गरेको छ ।

नारायणी नदीमा अहिले चल्दै आएको मोटरबोटमा यात्रा गर्ने कतिपय यात्रुहरूले सञ्चालकहरूसँग एउटा प्रश्न तेर्साउने गरेका छन्, ‘केपी ओलीको पानीजहाज यही हो ?’ मोटरबोटको अगाडि नेपाली झण्डासमेत राखिएको छ । झण्डा राखेर देशको पहिचान र नागरिकमा उत्साह जगाउने काम गरेको मोटरबोट सञ्चालक हरी शर्माले बताए ।

पहिलाको भन्दा अहिले मानिसहरुले निकै चासोका साथ आउने र यात्रा गर्ने गरेको शर्माको अनुभूति छ । टाढाटाढाबाट समेत मोटरबोट चढ्न आउने गरेका छन् ।

कतिपयले पानीजहाज चढेजस्तै अनुभव भयो भनेर सुनाउने गरेको अर्का मोटरबोट सञ्चालक आलेले बताए । कतिले नयाँ कामको थालनी गरेको भन्ने स्याबासी पनि दिने र हौसला समेत प्रदान गर्ने गरेका छन् ।

नारायणी नदीमा देवघाटदेखि नै मोटरबोट सञ्चालन गर्न सके अझै बढी यात्रुको चाप हुने सञ्चालक हरी शर्मा बताउँछन् । तर, नारायणी नदीको टर्निङ गौरेश्वर मन्दिर नजिक पानी नपुग्ने र मोटरबोट तल ढुंगामा ठोकिने भएकाले देवघाट लैजान सकिएको छैन । केही भाग खोतलेर ७ देखि ८ फिट गहिरो बनाउन सके हिउँदमा देवघाटसम्म मोटरबोट सञ्चालन गर्न सकिने शर्माले बताए । नारायणी नदीको पुलभन्दा तल पनि गहिराइ नपुग्ने उस्तै खालको समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment