२१ चैत, काठमाडौं । चाबहिल–साँखु सडकखण्ड निर्माणमा बिलम्व हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । बर्खामा हिलाम्य यहाँको सडक अहिले धूलोको साम्राज्यले कुहिरीमण्डल बनेको छ ।
चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । तर चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५ सय मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको हो । बाकीँ पुरै सडक कच्ची छन् ।
सडक निर्माणका लागि ल्याइएको गिट्टी सडकको बीच भागमा राखेकाले यो खण्डमा सवारीसमेत जाम हुने गरेको छ । जामले अस्तव्यस्त बनेको सडक सञ्चालनमा ल्याउने काम गर्दै आएका ट्राफिक प्रहरी पनि धूलोको चपेटामा पर्दै आएका छन् ।
२०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, ‘ ‘मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।’
समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ ।
ठेकेदारलाई सडकबारे ध्यानाकर्षण गराएँ पनि सुन्ने नगरेको गुनासो ट्राफिक प्रहरीको छ ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।
कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।
राससको सहयोगमा
प्रतिक्रिया 4