Comments Add Comment

किशोरी शिक्षा कार्यक्रम : बदलियो रमिताहरुको जीवन

२१ चैत, वीरगञ्ज । १७ बर्षीया किशोरी रमिताको जीवन यसरी बदलिन्छ भनेर सायदै कसैले सोचे थिए । शिक्षकले पिटेको भन्दै स्कुल जान छोडेकी उनले पुनः स्कुल गएर उच्च शिक्षा अध्ययन गर्ने मात्र भएकी छैनन्, स्कुल छाडेकाहरुलाई पुनः विद्यालयमा ल्याउन सक्रिय छिन् ।

उनको पुरा नाम रमिता कुमारी पटेल हो । पोखरीया नगरपालिका–२ लम्हरीया टोल घर । स्थानीय विद्यालयमा कक्षा २ मा पढ्दै गर्दा शिक्षकले पिटेपछि विद्यालय जानै छाडिन् । अभिभावकले जति कर गर्दापनि उनी मान्दै मानिनन् ।

पढाई छोडेपछि घरको काममा आमाबुवालाई सघाउँदैमा उनको दिन वित्न थाल्यो । त्यसैमा उनी रमाउँदै थिइन् ।

२०७१ सालमा गाउँमा किशोरी शिक्षा कार्यक्रम (गेट) आयो । गेट कार्यक्रमले विद्यालय जाने उमेर भएर पनि विद्यालय भर्ना नभएका वा विद्यालयमा भर्ना भएर पनि आधारभूत शिक्षा पुरा नगरेका बालिकालालाई उमेर र क्षमता अनुसार सामुदायिक केन्द्रमा उपयुक्त कक्षामा भर्ना गर्छ । यसरी भर्ना भएका बालबालिकालाई निर्धारित तरिका र समयभित्र विशेष अध्ययनको व्यवस्था मिलाइन्छ ।

रमिता भने सामुदायिक विद्यालयम जान पनि मानिनन् । एक दिन खेल्दा साथीहरुले नयाँ खेल ल्याए । उनले कहाँ सिकेको भनेर सोध्दा गेटद्वारा सञ्चालित केन्द्रको कुरा गरे । अब भने उनलाई केन्द्रको कक्षामा जाउँ जाउँ लाग्न थाल्यो । साथीहरुले केन्द्रका सर र म्याडमहरुले पिट्दैनन्, माया गरेर पढ्न सिकाउँछन् भनेपछि अनौपचारिक कक्षामा जान थालिन् ।

सामुदायिक केन्द्रबाट स्कुलमा जाने बेलामा पनि सरहरुले कुट्नुहुन्छ कि कुट्नुहुन्न भनेर सोधिन् । सरहरु कुट्नु हुन्न भनेपछि मात्र आफू भर्ना भएको रमिता बताउँछिन् । ‘कक्षा चारमा भर्ना हुनपर्नेमा त्यहाँ मभन्दा धेरै साना भाइबहिनीहरु भएकाले मलाई लाज लाग्यो’, उनी भन्छिन्, ‘अनि छ कक्षामा भर्ना गराउनुहुन्छ भने मात्रै पढ्छु भनेर जिद्वी गरेपछि सरहरु मान्नुभयो ।’

विद्यालय जान थालेपछि रमिता अगाडि बढेको बढ्यै भइन् । १५ वर्षको उमेरमा २०७४ सालमा पोखरीयाकै श्री जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयबाट एसइइ उतिर्ण गरेकी उनी अहिले सोही विद्यालयमा ११ कक्षामा छिन् । रमिताले मुख्य विषय हेल्थ लिएकी छन् । विद्यालयमा आफू जस्तै गेट कार्यक्रमबाट आएका २२–२३ जना रहेको उनले बताइन् ।

सम्मानित हुँदै रमिता ।

उनीहरु अहिले गेट कार्यक्रममा पढाउँछन् पनि । त्यसबापत मासिक चार हजार रुपैंया पाउँछन् । अब आफ्नै कमाईले पढाई पुरा गर्ने रमिताले बताइन् । यसबाट अभिभावक पनि खुशी छन् ।

रमिताको परिवारीक आर्थिक अवस्था पनि ठिकै छ । उनका तीन दिदीको विवाह एसएलसी उतीर्ण गरेपछि भयो । कान्छी बहिनी कक्षा आठ र भाइ तीन कक्षामा छन् । कक्षा १२ उतीर्ण भएपछि नर्सिङ पढ्ने योजना अनुसार रमिता अहिले हेल्थ पढिरहेकी छन् । ‘घरमा मैले चाँडै विवाह नगरिदिनुस् भनेको छु’, उनले अनलाइनखबरसँग भनिन्, ‘आमाबुबाले हुन्छ भन्नुभएको छ ।’

नेपालको संविधान २०७२ को धारा ३१ मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ भनिएको छ ।

तर, अझैपनि धेरै बालबालिका विद्यालय बाहिरै छन् । वर्षेनी सञ्चालन हुने विद्यालय भर्ना अभियान र अनौपचारिक शिक्षा कार्यक्रमहरुले उनीहरुलाई समेट्न सकेको छैन । रमिताहरुले जस्तो अवसर पाउने किशोरी कमै छन् । प्रदेश २ मा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या झन् ठुलो छ ।

रमिताहरुलाई विद्यालयसम्म ल्याउने किशोरी शिक्षा कार्यक्रम जिल्ला समन्वय समिति पर्साले सञ्चालन गरेको हो ।

सन् २०१४ देखि संचालित कार्यक्रमले हालसम्म ११ हजार किशोरीलाई विद्यालय पुर्‍याएको संस्थाका रुपक पाण्डे बताउँछन् ।

अहिले संस्थाले प्रदेश २ का पर्सा, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा गरी ५०० कक्षा सञ्चालन गरेको छ । ४१ स्थानीय तहमा सञ्चालित कक्षामा १२ हजार २४३ जना किशोरी अध्ययनरत छन् ।

संस्थाका अध्यक्ष इब्राहिम देवान भन्छन्, ‘प्रदेश २ मानव विकास सूचकांकमा पछाडि पर्नुको मुख्य कारण अशिक्षा नै हो । आधारभूत तहको जिम्मा स्थानीय तहहरुले पाए पनि काम हुन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment