Comments Add Comment

गर्मी छल्न नेपालका ९ हिल स्टेसन

हपहपी गर्मीमा रापिएको बेला कुनै यस्तो ठाउँमा पुगौं, जहाँ शितल हावाको झोंकासँग रुख-बुट्यानहरु लहराइरहेका होस् । पहाडको खोँचबाट बादलका सेता टुक्राहरु उडिरहेको होस् । सर्वत्र हरियाली होस् । वसन्ती वायुको स्पर्श, कञ्चन सफा पहाडी दृश्य अनि साथमा चिसो पेय !

गर्मी छल्ने कृतिम काइदा त अनेक छन् । तपाईं चिसो पानीमा डुबल्की मार्न सक्नुहुन्छ । पंखा चलाएर त्यसकै शितलता लिन सक्नुहुन्छ । कुनै ठूलो पिपलको रुख मुन्तिर सुस्ताउन सक्नुहुन्छ । लस्सी, जुस वा यस्तै चिसो पेय पिएर आत भर्न सक्नुहुनेछ ।

तर, रापिएको धर्ती र तातो हावाबाट तपाईंले पूर्णत राहत पाउनुहुने छैन । त्यसो भए के गर्ने त ? गजब काइदा हो, हिल स्टेशनसम्मको यात्रा ।

तपाईं आफ्ना साथीभाई वा परिवारसँग नजिकका हिल स्टेशनमा गएर उखरमौलो गर्मी छल्न सक्नुहुनेछ । जस्ता तपाईं पूर्वी तराईमा हुनुहुन्छ भने भेडेटारसम्म पुग्न सक्नुहुनेछ । कन्यामसम्म पुग्न सक्नुहुनेछ ।

मानौं, तपाईं काठमाडौं हुनुहुन्छ । अब तपाईंले ककनीसम्मको यात्रा तय गरे हुन्छ । वा दामन पुगेर चिसो हावा खाए हुन्छ । नगरकोटमा उक्लिएर शितल अनुभव गर्नुभए हुन्छ ।

अतः यहाँ हामीले नेपालका १० हिल स्टेशनबारे चर्चा गरेका छौं, जहाँ तपाईं गर्मीको राप छलेर रमाउन सक्नुहुनेछ ।

९. नगरकोट

खासगरी काठमाडौंवासीका लागि काइदाको गन्तव्य हुन्, नगरकोट । धेरै लामो यात्रा गर्नुपर्दैन ।  काठमाडौंबाट जम्माजम्मी ३२ किलोमिटर उत्तरपूर्वी बाटो छिचोलेपछि तपाईं नगरकोटको डाँडामा पुग्नुहुनेछ ।

नगरकोट पुगेपछि तपाईंले वेग्लै शितल अनुभव गर्नुहुनेछ । यहाँ तपाईं आँखै अगाडि देखिन हिम चुचुराहरु हेर्दै चिसो पेयको साथ लिन सक्नुहुनेछ ।

नगरकोटमा खान, बस्नको असुविधा छैन । केही खर्चिलो आवश्य छ । यहाँ होटल तथा रिसोर्टहरु पर्याप्त छन् । यातायातको सुविधा पनि पुग्दो छ ।

८. ककनी

ककनी, जसलाई प्रकृतिको क्रिडास्थल पनि भन्न सकिन्छ । काठमाडौंबासीको लागि गर्मी छल्ने उपयुक्त गन्तव्य हुनसक्छ यो ।

नुवाकोट जिल्लामा पर्ने ककनी पुग्न काठमाडौंबाट २० किलोमिटर दुरी छिचोले पुग्छ । स्ट्रबेरीका लागि चिनिएको यस ठाउँमा तपाईंले स्वादिलो रेन्बो ट्राउट पनि खान सक्नुहुनेछ । ग्रामिण परिवेशमा रमाउँदै सिलतता अनुभव गर्ने काइदाको गन्तव्य हो यो ।

यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ र पूर्वमा गौरीशंकर हिमाल देख्न सकिन्छ ।  मनोरम हिमाली भेगदेखि समतल नदिका फाँटसम्म अवलोकन गर्न सक्नु ककनीको खास आकर्षण हुन् ।

७. दामन

दामन पनि काठमाडौंबाट नजिकको गन्तव्य हो । मकवानपुर जिल्लामा पर्ने दामनमा खासगरी हिँउ खेल्न जाने गरिन्छ, हिँउद याममा । अहिले गर्मी याम छ । गर्मी छल्नका लागि दामनसम्मको यात्रा किन नगर्ने ?

यहाँ आगन्तुककै लागि भ्यूटावर पनि बनाइएको छ । सगरमाथा लगायत हिम शृंखलाहरुको दृश्य हेर्दै रमाउनुको विछट्टै आनन्द छ यहाँ । दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ ।  यो अग्लाईमा पुगेर तपाईंले गर्मीबाट राहत मात्र पाउनुहुने छैन, आफुलाई प्रकृतिको निकट पनि पाउनुहुनेछ ।

६. बन्दीपुर

तपाईं एक दिन होइन, अरु बढी समय बिताउन चाहनुहुन्छ भने बन्दीपुर पुग्नुहोस् । तनहुँ जिल्लामा पर्ने बन्दीपुर तनहुँ, कास्की, लमजुङ र गोरखाको जक्सन पनि हो ।

तपाईंले यहाँ नेवारी रहनसहनसँग साक्षतकार गर्नुहुनेछ । नेवारी संस्कृतिमा आधारित वन्दीपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । वन्दीपर आसपासका क्षेत्रमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । आँखै अगाडि देखिने हिमऋंखलाको दृश्य, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैलिएको फाँट आदिले जोकोहिको मन लोभ्याउँछ । मुग्लिङवाट आधा घन्टाको दुरी छिचोलेपछि डुम्रेवजार पुगिन्छ । त्यहाँवाट पिप्ले हुदै वन्दीपुर पुग्न सकिन्छ ।

५. घान्द्रुक

पोखरा आसपासमा बस्नुहुन्छ भने तपाईंको लागि कायदाको गन्तव्य हुनसक्छ, घान्द्रक । अन्नपूर्ण पदमार्गको क्रममा भेटिने रमणिय ठाउँ हो, घान्द्रुक ।

रमाइला प्राकृतिक छटाहरु, ग्रामिण जनजीवनसँग एकाकार हुनका लागि राम्रो विकल्प हो यो ।  घान्द्रुकबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई नजिकवाट नियाल्न सकिन्छ । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, ङयोवारह ताल यहाँको थप आकर्षण हुन् ।

४. जोमसोम

गीत नै छ, ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर ।’

जसरी तानसेनको झरी प्रशिद्ध छ, उसैगरी जोमसोमको हावा । अब गर्मी याममा शितल हावाको स्पर्श कति आनन्ददायक होला ? त्यसो हो भने जोमसोमसम्मको यात्रा तय गर्नुपर्छ ।

जोमसोम पनि घुमफिर गर्ने काइदाको जग्गा हो । यातायात त्यती सहज नभएपनि यो स्थान फरक भू बनौटको कारण घुम्नका लागि उपयुक्त हुन्छ । फरक हावापानीमा रमाउनेहरु जोमसोमको यात्रा गर्न रुचाउँछन् ।

३. कन्याम

कन्याम चियाबारी

पूर्व तराई अझ झापा, मोरङ, सुनसरी क्षेत्रमा चर्किएको गर्मी छल्नका लागि काइदाको गन्तव्य हो, कन्याम ।

इलाम जिल्लामा रहेको कन्याम यसैपनि मनोरम छ । थुम्का-थुम्कामा लहलह चिया बगान, नाकबेली बाटो, पहाडी चिसो हावा । जसै कन्याममा पुग्नुहुनेछ, तपाईंलाई मधुमासको अनुभूतिले काउकुती लगाउनेछ ।

चियाको बुट्यानहरुमा लुकामारी खेल्ने भुँइकुहिरोले तपाईंलाई थप रोमाञ्चित बनाउनेछ । कन्याम यसै सुन्दर, त्यहाँ चल्ने चिसो वतासले तपाईंलाई चर्को गर्मीको सास्ती बिर्साइदिन्छ । कन्यामसम्म पुग्नका लागि सहज पनि छ । मेची राजमार्ग हुँदै तपाईं सहजै रुपमा कन्यामको फन्को लगाउन सक्नुहुनेछ ।

२. जलजला

जलजला, लिबाङबाट पैदल हिँड्ने हो भने एक घण्टामा पुग्न सकिन्छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । यो ठाउँ समुन्द्री सतहबाट ३ हजार १ सय ९३ मिटर उचाईमा छ ।

माओवादी द्वन्द्वकालमा धेरै चर्चा हुन्थ्यो, जलजलाको । माओवादीले क्रान्तिको प्रतिकको रुपमा मान्दै आएको यो पहाड अहिले प्राकृतिक, धार्मिक, सांस्कृतिक आकर्षणको गन्तव्य वनेको छ । रोल्पाको सदारमुकाम लिवाङवाट २४ कोष पूर्वको व्यापारिक केन्द्र सुलिचौरवाट २२ कोष उत्तरमा अवस्थित छ ।

१. भेडेटार

भेडेटार नसुन्ने सायदै होलान् । धरानबाट पहाडतिर उक्लिएपछि भेटिने यो यस्तो गन्तव्य हो, जहाँ पूर्वी तराईको गर्मी छल्नका लागि पुग्ने गरिन्छ ।

धनकुटा जिल्लामा पर्ने यो स्थान धरानबाट भने सबैभन्दा नजिकको रमणिय गन्तव्य हो । यहाँ पुग्नका लागि धरानबाट केवल १७ किलोमिटर दुरी छिचोले पुग्छ । भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय ३० मिटरको उचाईमा पर्छ ।

तराईमा उर्खमौलो गर्मी बढिरहँदा भेडेटारमा भने चिसो वतास चलिरहेको हुन्छ । पहाडको खोँचबाट सेता बादलका टुक्राहरु बत्तिइरहेको हुन्छ । घामले रापिएको बेला भेडेटारसम्म पुगेर पहाडी हावापानीको अननन्द लिनुको विछट्टै मज्जा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment