Comments Add Comment

महिला क्रिकेट लिग हुने मैदानको विजोग

२२ चैत, काठमाडौं । एनसीएल महिला टी–२० क्रिकेट प्रतियोगिता वैशाखमा बैजनाथपुर क्रिकेट मैदान, मोरङमा हुँदैछ ।

तर मैदानको अवस्था भने विजोग देखिएको छ ।

२०७३ सालमा राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुँदा यही मैदानमा क्रिकेट प्रतियोगिता भएको थियो । त्यसपछि अहिलेसम्म कुनै प्रतियोगिता नभएकाले मैदानको उचित संरक्षण हुन सकेको छैन ।

खेतको गरा जस्तै देखिन्छ मैदान । अधिकांश भागमा दुबो छैन । सुख्खा भएको कारण पटपटी फुटेको छ ।

यस्तो स्तरहिन मैदानमा अहिले एनसीएल प्रतियोगिताका लागि भनेर दुई वटा पिच निर्माण गरिँदैछ ।

एनसीएल स्पोर्टस् प्रालीका अध्यक्ष जयराज रोय भन्छन्, ‘प्रतियोगिताको दिनसम्म सबै तयारी भइसक्छ । खेल्न कुनै समस्या हुँदैन ।’

मैदानकै कारण खेलाडीमा गम्भिर चोट लाग्नसक्ने सम्भावनाबारे प्रश्न गर्दा उनले भने, ‘मैदानको रुप फेरिन्छ । प्रतियोगिता भब्य हुन्छ ।’

आयोजकले मैदानको रुप फेर्दै दाबी गरेपनि त्यसअनुसार काम भएको छैन । दर्शकका लागि अस्थायी प्याराफिट बनाइएको तर, खेलाडी बस्ने, ड्रेसिङ रुम, शौचालय, अफिसियल कार्यसम्पादनका लागि बस्ने ठाउँ समेत छैन । सबै व्यवस्थापन गरिछाड्ने अध्यक्ष रोय बताउँछन् ।

फेरि मिति सर्ने

एनसीएल महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दा मिति चैत १ देखि ९ गतेसम्म तोकिएको थियो ।

तर विराटनगरमा साफ महिला च्याम्पियनसीप फुटबल भएको र प्राविधिक तयारी नपुगेको भन्दै मिति स¥यो । नयाँ मिति अनुसार बैशाख ७ देखि १४ गतेसम्म आयोजना गर्ने भनिएको थियो ।

तर यो मितिमा पनि प्रतियोगिता नहुने भएको छ । प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म आयोजना हुने भएपछि यो प्रतियोगिता पुनः सर्न लागेको हो । अध्यक्ष रोयले भने, ‘राखेपसँग पनि छलफल गरेर हामी यही हप्ताभित्र नयाँ मिति घोषणा गर्छौ ।’

पहिलो पटक महिला क्रिकेटमा पनि फ्रेन्चाइज लिग बेसमा हुन लागेको प्रतियोगितामा चार टिम रहने छन्, जसमा भैरहवा क्विज, विराटनगर रोरिङ लायोनेस, धनगढी ओन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स छन् । गत आइतबार अक्सनबाट सबै टिमले खेलाडी अनुबन्ध गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment