Comments Add Comment

हावाहुरी पीडितलाई काठमाडौं महानगरको २५ लाख सहयोग

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

गत आइतबार रातीको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो ।

वर्षातयामको पूर्वसन्ध्यामा हावाहुरीका कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार यो रकम प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोषमा जम्मा गरिनेछ । यस्तै नगरकार्यपालिकाको बैठकले ४ वटा बिधेयक आउँदो आइबार बस्न लागेको नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक–नीजी साझेदारी बिधेयक, सहरी योजना आयोगको बिधेयक, सवारी तथा सार्वजनिक यातायात व्यवस्थापन बिधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन बिधेयक छलफल र पारितका लागि नगरसभामा पेश गर्न लागिएको प्रवक्ता डंगोलले बताए ।

बैठकले नगरभित्रको एम्बुलेन्स सेवा प्रभावकारी बनाउन नेपाल एम्बुलेन्स सेवा समितिसँग सहकार्य गर्दै ५० लाख अनुदान दिने निर्णय गरेको छ ।

सहमति अनुसार उक्त समितिले काठमाडौं नगरभित्र आपतकालिन अवस्थामा बिरामी लिन जाँदा एम्बुलेन्समै नर्स, आवश्यक औषधि लगायतका सेवा उपलब्ध गराउनेछ । यस्तै बैठकले थप ३ वटा दमकल किन्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment