Comments Add Comment

चोर्नकै लागि भारतबाट नेपाल, पसल सञ्चालकसहित पाँच समातिए

२३ चैत, काठमाडौं । भारतबाट आएर विराटनगरमा चोरी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारत अररीया घर भई चोरीकै लागि विराटनगरसम्म आउने गरेका मो.सैयादसहित पाँच जनालाई मोरङ प्रहरीले रोडशेष चोकबाट पक्रेको हो ।

प्रहरीले भारत अररिया जिल्ला जोकिमतियारी ग्राम–१३ बस्ने २५ वर्षीय मोहम्मद सैयुबलाई रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा पक्राउ गरेको हो । सैयुबले सोमबार विराटनगर–४, राधाकृष्ण टोलस्थित आचार्यको घरको छतको सिढीमा रहेको ढोका फोडेर ल्यापटप, मोबाइल, क्यामेरा, पर्स, साइकललगायत चोरी गरेका थिए ।

उनी पहिलेदेखि नै चोरीका घटनामा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । भारतबाट नियमित विराटनगर आएर चोरी गरी पुनः भारतनै फर्कने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

त्यस्तै, चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ८, अशोक चोकका २५ वर्षीय इमरान खान, कटहरी गाउपालिका– १ बस्ने ताजिम मिया र विराटनगर १२ बस्ने जमुना सहनी र सरोजकुमार साहलाई पक्राउ गरेको छ । खान, मिया र सहनीले विभिन्न स्थानबाट मोबाइल ल्यापटप पर्सलगायतका सामग्री चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

विराटनगर ८ हाटखोलामा एसके एस रिपेरिङ सेन्टर सञ्चालन गरिरहेका साहले चोरीका मोबाइलको लक खोल्ने गरेका थिए । साह जिगतमा पनि चोरीका मोबाइलको लक खोल्दै आएका थिए । चोरीकै केसमा केही समयअघि प्रहरीले मोबाइल नखोल्न र कोही आए प्रहरीलाई खबर गर्न भन्दै सम्झाएका थियो । तर अटेर गरेका साहलाई पुनः चोरीको ल्यापटपको लक खोलेको भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीमा पक्राउ परेका पाँच जनाविरुद्ध मुलुकी फैजदारी अपराध संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment