Comments Add Comment

मध्यपहाडी लोकमार्गछेउमा मापदण्ड विपरीत बनेका घर टहरा भत्काइदै

२४ चैत, बलेवा । मध्यपहाडी लोकमार्गलाई विस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु गरिएको छ । लोकमार्ग निर्माण आयोजनाले तोकिएको मापदण्डविपरीत बनेका घर टहरालाई हटाउने काम शुरु गरेको हो ।

बागलुङ–पोखरा खण्ड अन्तर्गत बागलुङ नगरपालिका–१ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडाकार्यालयले सात दिने सूचना समेत जारी गरेका छन् । हाल बाङगेचउरदेखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङ्कन भए पनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं–२ का अध्यक्ष जीवन आचार्यले बताए ।

चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ । हाल सो खण्डमा ८ मिटर मात्र कालोपत्रे छ । हाल सो खण्डमा दर्जनबढी घरटहराले बाटो फराकिलो बनाउन अप्ठ्यारो परेको छ । वडा नं–१ अध्यक्ष दुर्गे सार्की र आचार्यले सूचना जारी गरेर सात दिनभित्र घर टहरा सार्न आग्रह गरेका हुन् ।

झण्डै तीन किमी खण्डमा सडक साँघुरो भएकाले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ । आचार्यका अनुसार वडा नं २ का ७ वटा पक्की घर भत्काउनुपर्ने भएको छ । वडा नं–१ मा भने पक्की घर नपर्ने, बरु टहरा भत्काएर पछाडि सार्नुपर्ने भएको हो ।

‘विशेषगरी ट्राफिक चोकदेखि रुद्रेपिपल जाने घुम्तीका मापदण्डमा परेका घर भत्काइने छन्’, आचार्यले भने, ‘यी घर यसअघिनै भत्काएको भए पनि बनाउन नपाउने स्थानमै थिए, अहिले सडक चौडाको योजनामा उनीहरुलाई सूचना पठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment