Comments Add Comment

ब्रेक फेल भएको बसका यात्रु जोगाउन खोज्दा ड्राइभरकै मृत्यु

२५ चैत, विराटनगर । सोमबार धरानको जिरोप्वाइन्टमा डरलाग्दो दुर्घटना भयो । पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको बस जिरोप्वाइन्ट नजिकैको विजुलीको पोलमा ठोक्कियो ।

ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा चालक चक्रबहादुर गुरुङको पनि च्यापिएर मृत्यु भयो । दुर्घटनामा मोरङ केराबारीकी यमकुमारी मगर, उनकी ५ महिने छोरी डेनी मगर र धनकुटा चौविसे गाउँपालिकाका बलबहादुर मगरको पनि मृत्यु भएको छ ।

चालक गुरुङ धरान उपमहानगरपालिका ८ का वासिन्दा हुन् । लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएका गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ ।

अनियन्त्रित भई लरबरिएको बसलाई सुरक्षित ढंगले रोक्न ड्राइभरले जिरो प्वाइन्टको रुखमा ठोक्काउन खोज्दा नजिकैको पिल्लरमा ठोकिएको देखिएको प्रहरीले बताएको छ । ‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले भने ‘ड्राइभरको घटनास्थलमा नै मृत्यु भयो ।’ जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो ।

दुर्घटनामा बसकाे अगाडिको भाग क्षतिग्रस्त भएको छ । डीएसपी तिम्सिनाका अनुसार गाडीको ब्रेक फेल भएको यात्रुले पनि थाहा पाएका थिए । ओरालोमा बस लरबराउन थालेपछि केही यात्रु सचेत भए । गाडी ब्रेक फेल भएको थाहा पाएका यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनामा ४६ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment