Comments Add Comment

तातोपानी नाका जेठ १७ गते सञ्चालनमा आउने

२६ चैत, काठमाडौं । भूकम्पछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरु, पुनर्निर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मंगलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदहरुले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोही अनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए ।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रविसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए ।

उच्चस्तरीय टोलीले निर्माणधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई सम्बन्धित स्थानमा नै निर्देशन दिएका थिए ।

सुख्खा बन्दरगाहा निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधि मण्डललाई जानकारी गराएको थियो ।

चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई गराएको प्रतिनिधि मण्डलमाा रहेका सासंद अग्नि सापकोटाले जानकारी दिए । सोही दिन संचालन गर्ने गरी अहिले २४ सै घण्टा काम भइरहेको छ ।

नाकाको स्थलगत निरीक्षणपछि अब नाका सञ्चालन हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । नेपालको तर्फका उच्च स्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागि परेको जानकारी गराएका थिए ।

नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षणपछि यस क्षेत्रका स्थानीय र जनप्रतिनिधि खुसी भएका छन् । अब नाका सञ्चालन हुने सुनिश्चित भयो बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment