
२७ चैत, काठमाडौं । चीनले सडक सफा गर्न दिने भनेको ब्रुमर अर्को महिना काठमाडौं आइपुग्ने भएको छ । गत साउनमा घोषणा गरी साँचो हस्तान्तरण गरेपनि चीनले अनुदानमा दिने भनेको ब्रुमर पठाएको थिएन ।
तर, अब आगामी मे महिनाभित्र चीनले दुई वटा ब्रुमर पठाउने तय भएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख शाक्यले आँधी प्रभावितका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकम हस्तान्तरण गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
‘चीनले मे महिनाभित्र ब्रुमर हस्तान्तरण गर्ने तय भएको छ’, उनले भने । गत १३ साउनमा काठमाडौंको सडकको धुलो टिपेर वातावरणीय सुधारका लागि चीनको छेङ्दु नगरले महानगरपालिकालाई दुई वटा ब्रुमर प्रदान गर्ने सहमति भएको थियो ।
तर, झण्डै ९ महिनापछि ति ब्रुमर काठमाडौं आइपुग्ने भएको हो । छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो–४ मापदण्ड हुन् । बु्रमरको लम्बाइ ८ दशमलव ६ मिटर र चौडाइ ३ दशमलव ५ मिटर हुनेछ ।
१५ दशमलव ८ मेट्रिक टन तौल भएका उक्त ब्रुमर डिजेलले चल्ने बताइएको छ । धुलो पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने उक्त ब्रुमर ७ घनमिटर धुलो संकलन गर्न सक्ने र ७ घनमिटर पानी बोक्ने क्षमताको हुनेछ ।
सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने छ । ९८ किमी प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रतिघण्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ ।
केही समयअघि मात्रै महानगरपालिकाले इटलीमा निर्मित ५ वटा ब्रुमर भित्र्याएको थियो । ति ब्रुमरले अहिले दैनिक रुपमा रातीको समयमा सडक सफाइ गर्दै आएका छन् ।
चिनियाँ अनुदानको ब्रुमर आएसँगै सडक सफा गर्न महानगरपालिकासँग ७ वटा ब्रुमर हुनेछ । यसबाहेक आवश्यक परे थप दुई वटा ब्रुमर किन्ने महानगरपालिको तयारी छ ।
प्रतिक्रिया 4