
२८ चैत, काठमाडौं । नेपालस्थित जर्मन दूतावासले ललितपुरमा ऊर्जासम्बन्धी १६ दिने प्रदर्शनी आयोजना गर्ने भएको छ ।
जर्मन ऊर्जा रुपान्तरण : जर्मनीको उर्जा प्रणालीमा परिवर्तन नाम दिइएको प्रदर्शनी आगामी अप्रिल १२ तारेखमा सुरु भई २६ तारेखसम्म पुल्चोक इन्जिनियरिङ कलेको सूचना तथा प्रविधि केन्द्रमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा जर्मन अर्थतन्त्रको नवीकरणीय उर्जातर्फको स्थानान्तरण यात्राबारे जानकारी दिइने दूतावासले जानकारी दिएको छ ।
प्रदर्शनीले ऊर्जा स्थानान्तरण, यसका उपलब्धी र चुनौतीका विषयमा जानकारी दिनेछ । त्यस्तै नेपाल सरकारद्वारा वातावरण अनुकुल ऊर्जा प्रवर्द्धनमा गरिएको सकारात्मक प्रयासहरुको सह्राहना गर्ने अवसरको रुपमा पनि यो प्रदर्शनी रहने जर्मन दूतावासले जानकारी दिएको छ ।
प्रदर्शनीमा विद्यालय र कलेजका विद्यार्थी, नवीकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेका पेशाकर्मी तथा नीति निर्माता र अनुसन्धानकर्ता सहभागी हुनेछन् । सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रदर्शनीले विद्यार्थी र अनुसन्धानकर्तामा चासो वृद्धि गर्न र नयाँ योजनाबारे छलफल गर्न सहयोग पुर्याउने जर्मन दूतावासले अपेक्षा गरेको छ ।
प्रतिक्रिया 4