Comments Add Comment

यी हुन् बर्षका हिट गीत

यो बर्ष सय चलचित्रको निर्माण भयो । एउटा चलचित्रमा औषतमा ४ वटा गीत हुँदा पनि करिब ४ सय चलचित्रमा गीत बजारमा आएका छन् । यो बर्ष धेरै निर्माताले आफ्नो चलचित्रमा लोकलयको गतिलाई अनिवार्य नै ठानेका थिए । तर, सबै लोकलयका गीत यो बर्ष चलेनन् । यो बर्ष सर्वाधिक चलेका गीतलाई अनलाइनखबरले यहाँ प्रस्तुत गरेको छ । हामीले गीतको छनोट गर्दा ‘युटुब भ्यूज, बजार चर्चा, गीतले चलचित्रको व्यापारमा पारेको असर’ आदिलाई मुख्य रुपमा मापदण्ड बनाएका छौ ।

गोजीमा दाम छैन– चङ्गा चेट
यो वर्ष सर्वाधिक रुचाइएको गीतमा पर्छ, ‘गोजीमा दाम छैन’ । चलचित्र ‘चङ्गा चेट’मा समावेश गरिएको यो गीतलाई हालसम्म युटुबमा ४ करोड १५ लाख बढी भ्युज मिलेको छ । लोक लयमा तयार भएको यो गीतले युट्युबमा मात्र सफलता पाएको छैन । बिबाह, ब्रतबन्ध, पार्टी(भोज देखि तिहारमा समेत यो गीतको दवदवा रह्यो । धेरैको मुखमा यो गीत झुन्डिएको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको गीतमा हरिहर तिमिल्सिनाको शब्द छ । राजनराज, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर रहेको गीतको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । यो गीतले चलचित्रको व्यापारमा ठूलो फरक पारेको थियो ।

पहिलो नम्बरमा– ‘छक्का पञ्जा ३’
चलचित्र ‘छक्का पञ्जा ३’मा समावेश ‘पहिलो नम्बर’मा गीतलाई निकै सफल गीत मानिन्छ । सन् २०१८ जुलाई ३० मा सार्वजनिक गरिएको यो गीतले हालसम्म युटुबमा ३ करोड ५६ लाख ८१ हजार बढी भ्युज पाएको छ । बिबाह, ब्रतबन्ध तथा पार्टीमा पनि यो गीत उत्तिकै सुनियो । लोकलयमा तयार भएको यो गीत गुनगुनाउने पनि धेरै थिए ।

दिपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द समावेश यो गीतमा डेभिड शंकर र बिन्दु परियारले स्वर दिएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, दीपिका प्रसाईं लगायतको नृत्य छ । गीतको भिडियोलाई पनि दर्शकले रुचाएका छन् ।

फुल हैन –रोज
नायक प्रदिप खड्का र नायिका मिरुना मगर अभिनित चलचित्र ‘रोज’मा समावेश गीत ‘फुल हैन’ पनि निकै सफल गीतको सुचिमा पर्छ । सन् २०१८ अगस्ट ६ मा रिलिज भएको यो गीतले हालसम्म युट्युबमा २ करोड ५९ लाख बढी भ्यूज कमाएको छ ।

रोमान्टिक जनरमा तयार भएको गीतमा प्रदीप खड्का र मिरुना मगर फिचर्ड छन् । गीतलाई निकै सुन्दर लोकेशनमा खिचिएको छ । एलिश कार्कीको संगीतमा तयार भएको गीतमा राजेश कुमार श्रेष्ठको शब्द छ । गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।

बनकी चारी के भन्छे –प्रसाद
‘बनकी चरी के भन्छे’ बोलको गीत पनि यस वर्ष रुचाइएको गीतमा पर्छ । चलचित्र ‘प्रसाद’मा समावेश लोकलयको यो गीतलाई पनि दर्शक तथा श्रोताले मन पराएका छन् । सन् २०१८ अक्टोबर १४ मा रिलिज गरिएको यो गीतले हालसम्म १ करोड ७९ लाख बढी भ्युज पाएको छ ।

यो गीतको लोकप्रियता पनि निकै राम्रो थियो । धेरैको मुखमा यो गीतका शब्दहरु झुन्डिएका थिए । रुपक डोटेल र अन्जु पन्तले गाएको यो गीतमा सुभाष भुसालको संगीत तथा बि पाण्डेको संगीत छ । भिडियोमा विपिन कार्की, निश्चल बस्नेत र अन्जली अधिकारी फिचर छन् । यो गीतले चलचित्रको व्यापारमा ठूलो फरक पारेको छ ।

सिओडब्लु –कोहलपुर एक्सप्रेस
नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा समावेश ‘सीओडब्लु काउ’ पनि निकै चर्चित बन्यो । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज र मेलिनाको स्वर छ ।
हालसम्म यो गीतले युटुबमा १ करोड ७४ लाख बढी भ्युज पाएको छ । यो गीत सन् २०१८ को जनवरी २२ मा रिलिज भएको थियो । यो गीतले चलचित्रतर्फ दर्शकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्यो । स्टेज कार्यक्रमदेखि विभिन्न चाडपर्वमा यो गीतमा नृत्य गर्ने धेरै भेटिए ।

गीतको भिडियोमा नायिका केकी अधिकारीसँगै गजित विष्ट, रिमा विश्वकर्मा र विनोद न्यौपानेको नृत्य देख्न सकिन्छ ।

उम्लियो भने पोखिन्छ – जय भोले
यो वर्षको अर्को हिट गीत हो, ‘उम्लियो भने पोखिन्छ’ । चलचित्र ‘जय भोले’मा समावेश यो गीतले पनि बजारमा राम्रै पकड जमाएको थियो । यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतमा राजनराज र मेलिना राइको स्वर छ ।

सन् २०१८ को जुन १४ मा सार्वजनिक भएको यो गीतले हालसम्म युटुबमा १ करोड ५८ लाख बढी दर्शक पाएको छ । गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल लगायत फिचर्ड छन् । यो गीतले पनि विभिन्न स्टेज कार्यक्रमहरुमा स्थान पायो ।

उडायो हावाले –इन्टु मिन्टु लण्डनमा
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा समावेश ‘उडायो हावाले’ बोलको गीत पनि निकै रुचाइएको गीतमा पर्छ । रोमान्टिक गीतमा हर्कुलश बस्नेतको शब्द तथा संगीत छ । गीतमा हर्कुलशसँगै निखिता थापाले स्वर दिएकी छिन् । गीतले धेरै दर्शक(स्रोताको मन जित्न सफल भयो । गीतको मेलोडी मिठो छ । गीतलाई कोरियोग्राफी पनि रमणीय लोकेशनमा गरिएको छ ।

निकै सुन्दर लोकेशनमा खिचिएको यो गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर फिचर्ड छन् । जुलाई २५ मा रिलिज गरिएको यो गीतको भिडियोले हालसम्म युट्युबमा १ करोड ५८ लाख बढी पटक हेरिएको छ । यो गीतको सफलताले चलचित्रको व्यापारमा पनि निकै ठुलो सहयोग पुगेको थियो ।

रहर छ सँगै –क्याप्टेन
यस वर्ष रिलिज भएको नायक अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत पनि निकै रुचाइयो । रोमान्टिक जनरामा तयार परिएको यो गीत प्रेम गर्नेहरुदेखि यूवापुस्तामा बढी लोकप्रिय भयो । सन् २०१८ को डिसेम्बर १३ मा रिलिज गरिएको यो गीतलाई युट्युबमा १ करोड ४ लाख पटक हेरिएको छ ।

अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्दमा तयार भएको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर भरेका छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा अनमोल र उपसना सिंह ठकुरी फिचर्ड छन् ।

कहाँ आउँछ र घुमेर–नाई नभन्नु ल ५ः यो बर्षको अर्को हिट गीतमा पर्छ, चलचित्र ‘नाई नभन्नु ल ५’मा समावेश ‘कहाँ आउँछ र घुमेर’ । यो गीतमा समिक्षा अधिकारीको स्वर छ भने बसन्त सापकोटाको शब्द तथा संगीत छ ।
यो गीत यो बर्ष निकै नै घन्कियो । विशेषगरि, दशै, तिहार र विभिन्न सांकृतिक कार्यक्रममा यो गीतले धुम नै मच्चायो । यो गीतमा बालकलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचरिङ गरिएको छ ।

भिजिट भिषामा –दाल भात तरकारी
चलचित्र रिलिज नभएपनि यो वर्ष रिलिज भएको गीत ‘भिजिट भिषामा’ निकै चर्चित बन्यो । आगमी बैशाख २० गतेबाट रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’मा समावेश यो गीतले चलचित्र रिलिजपूर्व नै १ करोड बढी भ्यूज कमाएको छ ।
लोक लयमा तयार भएको यो गीतमा शम्भुजित बास्कोटाको संगीत तथा हरिवंश आचार्यको शब्द छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतले हालसम्म १ करोड ५५ लाख बढी पटक दर्शकको साथ पाएको छ ।

कविराज गहतराजको करियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा लगायतका कलाकार फिचर्ड छन् । यो गीतले पनि विभिन्न स्टेज तथा कार्यक्रमहरुमा प्रभुत्व जमाइरहेको छ । यो गीतले चलचित्रको हाइपलाई तल झर्न दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment