Comments Add Comment

निकुञ्जभित्रका होटल बन्द हुँदा चितवनले के पायो, के गुमायो ?

Photo Credit : बन्द हुनु अघि मचानको पाैडी पोखरीमा रमाइरहेका पर्यटक

२८ चैत, चितवन । ‘चोक्टा खान गा’की बुढी झोलमा डुबेर मरी भन्ने उखानको अर्थ अहिले हामीले राम्रैसँग बुझ्यौं ।  चितवन राष्ट्रिय निकुञ्जका होटल बन्द गराउन निकै लबिङ गरेका एकजना होटल व्यवसायीको भनाइ हो यो ।

उनको भनाइमा, अर्काको वालेट ठूलो देखेर लोभ गर्दागर्दै आफ्नो पाकेट मारिएको जस्तो महसुस अहिले चितवनका होटल व्यवसायी र कतिपय स्थानीयबासीले गरिरहेका छन् । उनीहरुलाई अहिले लागेको छ, निकुञ्जभित्रका होटल बन्द गर्ने माग र निर्णय दुबै ठीक थिएनन् ।

हुन त सरकारले निकुञ्जभित्रका होटल बन्द गरेपछिका सकारात्मक वा नकारात्मक प्रभावबारे विश्लेषण गरेको छैन । त्यो निर्णयको लागि पृष्ठभूमि तयार गरेका व्यवसायीहरुले भने त्यसलाई अदूरदर्शी सोच भन्न थालेका छन् ।

२०६९ सालमा चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरु बन्द हुँदा बाहिरका पर्यटन व्यवसायीहरुलाई अब कमाउने पालो हाम्रो भने जस्तो लागेको थियो । निकुञ्जभित्र बस्ने पर्यटक बाहिरका होटलमा ओइरिन्छन् भन्ने लागेको रहेछ । त्यो अवस्था सिर्जना गर्न निकुञ्जभित्र वन्यजन्तु संरक्षण र जैविक विविधताको मुद्दा उछालिएको थियो ।

लोपोन्मुख एकसिंगे गैंडा र पाटे बाघको चोरी शिकारी बढेको यो बेला निकुञ्जभित्र सञ्चालित होटलहरु हटाउनुपर्ने माग निकै जायज सुनिएको थियो । त्यही मौकामा बाहिरका व्यवसायीहरुले भित्रका होटल बन्द गराउने प्रतिवेदन तयार पार्न तत्कालीन संसदीय समितिलाई दबाव दिएका थिए । तर, अहिले उनीहरुलाई लागेको छ– त्यतिबेला गलत गरिएछ ।

त्यतिबेला उनीहरुलाई लागेको थियो– सञ्चालन अनुमति नवीकरण नभएर निकुञ्ज भित्रका होटलहरु बन्द भएपछि चितवन आउने पर्यटकलाई भनेजस्तो सेवा दिएर हामी गजबको आम्दानी गर्छौं । ‘पर्यटकले निकुञ्जभित्र बाध्य भएर महंगो सेवा लिइरहेका छन्, बाहिर सस्तोमा सेवा पाएपछि उच्च दरमा पर्यटक बढ्छन् भन्ने थियो,’ नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले भने, ‘भित्रका होटल बन्द भएपछि वन्यजन्तु संरक्षणसँगै बाहिरका होटेलहरु उकासिन्छौं भन्ने थियो तर, त्यस्तो भएन ।’

निकुञ्ज भित्र होटलहरु बन्द हुँदा बाहिरका होटलमा महंगा विदेशी पर्यटकको ओइरो लागेन । बाहिर ‘बजेट पर्यटक’ जति आउँथे, त्यसमा वृद्धि त भएकै छ, तर भित्रका होटल बस्ने खालका महंगा पर्यटक आउनै छाडे । त्यसबाट समग्रमा चितवनलाई नोक्सानी भएको अनुभव व्यवसायीहरुले गरेका छन् ।

सौराहाका बासिन्दा रामकेशर महतो धनी पर्यटक निकुञ्जभित्रका होटल र बजेट पर्यटक बाहिरका होटेलहरुमा बस्ने गरी चितवन आउने गरेको बताउँछन् । गतिलो सुविधा किन्ने पर्यटकका लागि त चितवन बन्द भएजस्तो भएको उनले बताए । ‘निकुञ्ज बाहिरका होटलहरुमा बढेका भनेका कम खर्चमा रमाउने चिनियाँ पर्यटक हुन्’, महतो भन्छन्, ‘अरु विदेशी पर्यटक पनि किफायती बजेटका आउँछन्् ।’

खर्चालु पर्यटक हराए

बन्द हुनुअघि होटल मचानमा पर्यटक

२०६९ सालसम्म चितवन निकुञ्जभित्र टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी पाँच होटल सञ्चालनमा थिए । गैंडा वाइल्ड लाइफ क्याम्प भने मजदुर विवादका कारण त्यसअघि नै बन्द भइसकेको थियो ।

दुईवर्ष बन्द रहेको मध्यवर्ती क्षेत्रको नारायणी सफारी रिसोर्टलाई नयाँ व्यवस्थापनले सञ्चालन गरेको छ । सञ्चालक सञ्जीवदास श्रेष्ठ होटल घाटामा रहेको बताउँछन् । उनका अनुसार, स्टार होटल सञ्चालन खर्च उच्च छ तर, त्यसअनुसारका स्तरीय पर्यटक आइरहेका छैनन् ।

बाहिरी संसारमा नाम कमाइसकेका निकुञ्जभित्रका होटलहरु बन्द भएसँगै चितवनले ठूलो संख्यामा महंगा पर्यटक ल्याउने सम्भावना टारेको उनको भनाइ छ । उनी भन्छन्, ‘निकुञ्जभित्र होटल चलाउने या नचलाउने सरकारको विषय भएकाले यसमा हामी केही गर्न सक्दैनौं ।’

व्यवसायीहरुका अनुसार पहिले चितवन आउने पर्यटकहरु चार्टर्ड विमानबाट काठमाडौं र चार्टर्ड ट्विनअटर वा हेलिकप्टरबाट मेघौली विमानस्थलमा उत्रन्थे । अहिले चितवनमा यो हैसियतका पर्यटक विरलै आउँछन् । नारायणी सफारीका सञ्चालक श्रेष्ठ भन्छन्, ‘घना वनभित्र मज्जा लिन महंगो प्याकेज किनेर आउने पर्यटक दुर्लभ प्रायः बनेका छन् ।’

उनका अनुसार, निकुञ्ज बाहिरका पटिहानी, जगतपुर, मेघौली लगायत ठाउँका होटलहरुमा पनि बजेट पर्यटकहरु मात्र आइरहेका छन् ।

चितवनको विकल्प अफ्रिका

मेघौली पर्यटन व्यवसायी समितिका अध्यक्ष हरिशचन्द्र महतो पहिले चितवन निकुञ्जभित्रका होटलहरुमा आउने ‘हाई–ईन्ड’ पर्यटक अहिले अफ्रिका जान थालेको बताउँछन् । पैसा जति लागे पनि निकुञ्जभित्रै रमाउन चाहने त्यस्ता पर्यटकलाई बाहिरका होटलले वनेलु वातावरण दिलाउन नसक्ने उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले पर्यटक आगमन दर बढेपनि जंगल सफारीका लागि आउनेहरु धनी पर्यटक न्युन भएका छन् ।

निकुञ्जभित्र होटलहरु चल्दा नेपाल आउने कुल पर्यटकको १० प्रतिशसम्म सफारी गर्न पुग्थे । तर, अहिले ४ प्रतिशत हाराहारीमा झरेको छ ।

चितवनको पर्यटनको मूल खम्बा मानिने जंगल सफारीमै आकर्षण किन बढेन त ? ‘पहिलेजस्तो मार्केटिङ नै हुन सकेन’, अध्यक्ष घिमिरे भन्छन्, ‘निकुञ्जभित्र होटल हुँदा चितवनको मार्केटिङ स्वतः उच्च थियो ।’

चितवनमा पर्यटन व्यवसाय सुरु गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको थियो । उसले विश्व पर्यटक बजारमा चितवनको ‘वाइल्ड लाइफ’ मज्जा चिनाएको थियो ।

टाइगर टप्सको बन्द होटल, होटलको संरचना निकुञ्जभित्रै लथालिंग छ ।

निकुञ्जभित्रका अन्य चारवटा होटल पनि व्यवसायीक प्रतिस्पर्धाका साथै उच्च आयका कारण विदशेसम्मै पुगेर आक्रामक मार्केटिङ गरेर महंगा पर्यटक भित्र्याउँथे । त्यो बेला चितवन विश्वकै उत्कृष्ट ‘वाइल्ड लाइफ’ गन्तब्यमा गनिएको क्षेत्रीय होटल संघ सौराहका पूर्वअध्यक्ष हरिभक्त घिमिरेको अनुभव छ ।

टाइगर टप्स, निकुञ्ज नबन्दै खुलेको होटल थियो । सन् १९६४ मा ब्रिटिस नागरिक जिम एडर्वड्स र अमेरिकन नागरीक वान्ना र केलीनले टाइगर टप्स हन्टिङ कम्पनीको नामबाट चारकोठामा टबाट सुरु गरेको टाइगर टप्स सुरु गरेका थिए । १९७२ बाट एडर्वड्सले एक्लै चलाए ।

अर्को वर्ष चितवन राष्ट्रिय निकुञ्ज बन्यो । त्यसपछि पनि होटल चलेकै थियो । महंगासँगै भीआईपीहरु पनि सफारीका लागि यो होटलमा पुग्थे । ‘चितवनको पर्यटन व्यवसायलाई अहिलेको अवस्थामा ल्याउन टाइगर टप्सको अद्वित्तिय भूमिका रह्यो’, पूर्वअध्यक्ष हरिभक्त घिमिरे भन्छन्, ‘जसलाई वन्यजन्तु संरक्षणको नाममा बन्द गरियो ।’

चितवन निकुञ्जभित्रका पाँचवटा होटल बन्द भएको समाचारलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकतामा साथ सम्प्रेषण गरेका थिए । त्यसबाट चितवनमा अब राम्रा होटल नै छैनन् भन्ने सन्देश गएको थियो । त्यसबेला चितवनको विश्वप्रसिद्व निकुञ्जमा विदेशीलाई प्रवेश निषेध गरिएको भ्रम समेत फैलिएको घिमिरे बताउँछन् ।

त्यसलाई चिर्ने गरी न निकुञ्ज बाहिरका होटलले विदेशमा ठूलो मार्केटिङ गर्न सके न त सरकारले नै चितवनलाई केन्द्रमा राखेर बलियो पर्यटकीय प्रचार ग¥यो ।

चिरिएन गलत सन्देश

चितवन नेपालको तेश्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सफल त भएको छ तर, आफ्नो सम्भावना अनुरुप पर्यटक भित्र्याउन सकेको छैन । नेपाल आउने कुल पर्यटकमध्ये २०–२२ प्रतिशत मात्र चितवन पुग्छन् ।

पछिल्लो समय नेपालीहरुमा पनि घुम्ने संस्कृति विकास हुन थालेपछि चितवनमा आन्तरिक पर्यटक बढेको छ । तर, पर्यटन व्यावसायमा गरेको लगानीले नाफा कमाउन खर्चालु विदेशी पर्यटक चाहिने होटल व्यवसायीहरु बताउँछन् ।

चितवनमा अहिले धेरै होटेल खुलेका छन् तर, विदेशससम्म पुगेर मार्केटिङ गर्न सक्ने ठूला होटलहरु छैनन् । उनीहरुले अनलाइनमा पहुँच बढाउँदै मार्केटिङ गर्न थालेपनि त्यसले नतिजा दिन सकेको छैन ।

कति नाफा, कति घाटा ?

निकुञ्जभित्रका होटलहरुका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपेको दाबी गरिएको थियो । निकुञ्जभित्र मान्छेको आवात–जावतले वन्यजन्तुलाई असर पारेको र चोर शिकारीहरुलाई सजिलो समेत भएको भनिएको थियो । संरक्षणकर्मीहरु निकुञ्जका होटल बन्द हुँँदा पर्यटनमा जे भएपनि पर्यावरण संरक्षणमा सघाउने पुगेको दावी गर्छन् । चितवनका पर्यटकीय क्षेत्रका बासिन्दाहरु भने पर्यावरण संरक्षणसँगै पर्यटनलाई जोडेर नहेर्दा पर्यटकीय सम्भावना खुम्चिन पुगेको बताउँछन् ।

त्यतिबेला निकुञ्ज भित्रका होटलहरुलाई तरकारी, लोकल कुखुरा, दुध, दाल–चामल आदी बेचिरहेका स्थानीय किसानहरु ती बन्द नहुन् भन्ने चाहन्थे । अझ महत्वपूर्ण कुरा, होटलमा एक हजारभन्दा बढी स्थानीयले रोजगार पाएका थिए । उनीहरुले विहान बेलुका घरको काम समेत भ्याएर कुनै बहुराष्ट्रिय कम्पनीमा काम गरे बराबरको आम्दानी गरिरहेका थिए ।


टाइगरटप्स होटेल चल्दासम्म मेघौली विमानस्थलमा दैनिक पाँच उडान हुन्थ्यो । अहिले त विमानस्थल नै बन्द छ । चुनावका बेला गरिने विमानस्थल खोल्ने हल्ला चुनावसँगै सेलाएर जान्छ ।

निकुञ्जभित्रका होटलहरु बन्द भएसँगै मेघौली क्षेत्रमा फैलिदो पर्यटन व्यवसाय थला बस्यो । अहिले विस्तारै गति पक्रिएको छ तर, टाइगरटप्स हुँदाको जस्तो माहोल छैन ।

निकुञ्जबाट निकालिएपछि टाइगर टप्सले नवलपरासीको मध्यवर्ती क्षेत्र अमलटारीमा टेन्ट क्याम्प चलाइरहेको छ, जसलाई गतवर्ष सीएनएनले विश्वका उत्कृष्ट १० भित्र समेटेको थियो ।

निकुञ्जभित्रको टेम्पल टाईगर, मचान र आइल्यान्ड जंगल मध्यवर्ती क्षेत्रमा सरेका छन् । तर, उनीहरुले न पहिला जस्तो कमाउन सकेका छन् न त आक्रामक प्रचार प्रसार गर्न ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल निकुञ्जभित्र होटल खोल्न दिने सम्भावना अब नरहेको बताउँछन् । निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनहरुमा टेन्ट क्याम्प चलाउन दिने कानुनी व्यवस्थाबारे भने छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment