+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares
सिमरा घटना ब्रिफिङ :

एमाले–जेनजी आमने-सामने हुँदा त्रासमा सिमरावासी

बुधबार एमाले नेता–कार्यकर्ताबाट जेनजी युवा कुटिएयता सिमरा अशान्त छ । प्रहरी–जेनजी युवाबीच पटकपटक झडप भएको छ भने कर्फ्यू आदेशको कुनै प्रभाव देखिँदैन ।

सुनिल गाउँले सुनिल गाउँले
२०८२ मंसिर ४ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारा सिमरामा एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच बुधबार भएको कुटपिटयता पछि द्वन्द्व जारी छ र प्रहरीले कर्फ्यू उल्लंघनमा दुई राउन्ड हवाई फायर गरेको छ।
  • जेनजी युवाले एमाले नेता अरविन्द साहको पक्राउ माग गर्दै वीरगञ्ज–पथलैया सडक अवरुद्ध गरी प्रदर्शन जारी राखेका छन् र प्रशासनसँग वार्ता असफल भएको छ।
  • सिमरामा विद्यालय, क्याम्पस बन्द छन् र स्थानीय प्रशासनले वार्ताका लागि प्रयास गरिरहेको छ तर जेनजीले पक्राउ नहुँदासम्म वार्तामा नबस्ने अडान राखेको छ।

४ मंसिर, बारा । २३ भदौमा जेनजी युवाले आह्वान गरेको प्रदर्शनमा सरकारको बर्बर दमन र भोलिपल्टको अकल्पनीय विध्वंसपछि सिंगो देश स्तब्ध थियो। पीडासँगै त्रासबाट आक्रान्त बाराको सिमरावासीको जीवन सामान्य अवस्थातर्फ फर्कंदै थियो ।

तर, बुधबार एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच भएको कुटपिटयता विकसित घटनाले सिमरावासीको निद्रा फेरि उडाइदिएको छ ।

बुधबारयता सिमरा अशान्त छ । सडकमा एमाले कार्यकर्ताको उपस्थिति नदेखिए पनि प्रहरी र जेनजी युवाबीच पटकपटक झडप भएको छ । दुवैतर्फ केही घाइते भएका छन् । लाठीचार्ज र अश्रुग्याँसका सेला प्रहारबाट स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले बिहीबार दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा लगाएको कर्फ्यू आदेशको कुनै प्रभाव देखिएको छैन । कर्फ्यू आदेश उल्लंङ्घन गर्दै जेनजी युवाले दुवै दिन वीरगञ्ज–पथलैया सडकखण्डमा पर्ने सिमरा चोकमा टायर बालेर कब्जा जमाए ।

बिहीबार दिउँसो स्थानीय प्रशासनले संवादका लागि आह्वान गरे पनि वार्ता हुन सकेन । आफूहरूमाथि कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहको पक्राउलाई जेनजी युवा प्रदर्शनकारीले मुख्य मुद्दा बनाएका छन् । फरार साहलाई प्रहरीले पक्राउ नगरे शुक्रबार पनि वार्ता नगरी अझ कडा प्रदर्शनमा उत्रने उनीहरूको चेतावनीले सिमरावासीको मनमा साढे दुई महिनाअघिको अकल्पनीय त्रासदीको चिन्ता बढाएको छ ।

यो अवस्था आयो कसरी ?

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघकोले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय जागरणसभा राखेको थियो । सभाका प्रमुख र विशेष अतिथि थिए, नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत ।

२४ भदौयता बस्नेतका अभिव्यक्ति जेनजी युवालक्षित छन् । उनी सभामा सहभागी हुन सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि जेनजी बाराका संयोजक सम्राट उपाध्यायले मंगलबार राति सामाजिक सञ्जालमा सार्वजनिक सूचना राखे ।

त्यसमा जीतपुर–सिमरा उपमहानगरपालिकाका जेनजी युवाहरूलाई बुधबार बिहान १० बजे सिमरा चोकमा जम्मा हुन आह्वान गरिएको थियो ।

मंगलबार राति १० बजेतिर सम्राटले अर्को स्टाटस लेखे । कार्यक्रममा घुसपैठ हुन सक्ने सूचना आफूले पाएकाले विरोधका कार्यक्रम स्थगित गरेको उल्लेख थियो । तर, बुधबार बिहानै उनले पुन: फेसबुकबाटै जेनजी युवाहरूलाई जम्मा हुन पुन: आह्वान गरे । बिहान करिब १० बजेतिर सिमरा चोकमा २०/२५ जना जेनजी युवा जम्मा भइसकेका थिए । क्याम्पस छुट्टी हुने समय भएकाले केही विद्यार्थी पनि मिसिए ।

बुधबार बिहान १०:३० बजेको उडानबाट एमाले नेताहरू सिमरा विमानस्थल ओर्लने तयारी थियो । नेतालाई स्वागत गर्न एमालेका केही स्थानीय नेता, पूर्वसांसद र युवा संघका कार्यकर्ता सिमरा चोकमै जम्मा भएर विमानस्थल तर्फ जाने तयारीमा थिए ।

दुवै पक्षबीच सिमरा चोकमा भेट भयो । एमालेका केही स्थानीय नेताले एउटै समयमा प्रदर्शन नगर्न र शान्तिपूर्ण रूपले आयोजना गर्न लागिएको एमालेको कार्यक्रमलाई अवरोध नगर्न युवाहरूलाई आग्रह गरे ।

सवा १० बजेको समयमा एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच भनाभन शुरु भयो ।  त्यो चर्काचर्कीमा पुग्यो । त्यहीबीच एमालेका स्थानीय युवा अरविन्द साहले जेनजी समूहका एक युवामाथि मुक्का प्रहार गरे ।

त्यसपछि एकअर्काबीच हानाहान सुरु भयो । त्यहाँ एमालेको उपस्थिति बलियो देखिएकाले जेनजी युवा लखेटिए । तर, त्यो घटनाले बुधबारयता सिमरालाई अशान्त बनाइरहेको छ ।

सिमरा चोकमा मुक्का प्रहारको घटना हुँदासम्म सिमरा विमानस्थल क्षेत्र शान्त थियो । एमालेका निवर्तमान सांसदहरू ज्वाला साह, अच्युत मैनाली, नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएका निवर्तमान सांसद किसान श्रेष्ठ केही कार्यकर्तासहित एयरपोर्ट पुगेका थिए । सिमरा चोकमा आफ्ना युवाले जेनजी युवालाई मुक्का हानेको घटनाबारे उनीहरू बेखबर थिए ।

१०:३० को फ्लाइट डिले भएर ११:३५ को लागि सेड्युल भएको थियो । तर, ११ नबज्दै जेनजी युवाले विमानस्थल घेरेपछि एयरलाइन्सले उडान रद्द गर्‍यो । बारा आउन लागेका एमाले नेताहरू काठमाडौंमै रोकिए ।

११ बजेर ६ मिनटमा जेनजी युवा विमानस्थलको गेट भत्काएर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मैदानमा थियो । उनीहरूले विमानस्थलमा जम्मा भएको भिड नियन्त्रण गर्न केही राउण्ड अश्रु ग्याँस प्रहार गरे । लाठी चार्जका क्रममा केही युवा घाइते भए ।

सिमरा विमानस्थलबाट जेनजी युवा तितरवितर भएपछि एमालेका स्थानीय नेता परवानीपुरमा पूर्वनिर्धारित कार्यक्रममा सहभागी बन्न त्यतातर्फ लागे । सिमराबाट १३ किलोमिटरको दूरीमा रहेको परवानीपुरमा एमालेले र्‍यालीसहित सभा सम्पन्न गरे पनि सिमरा घटनाले एमालेको सभामा उल्लास देखिएन ।

सभालाई सम्बोधन गर्ने नेताहरूले वर्तमान सरकारका कारण आफूहरूको सभा गर्ने संवैधानिक अधिकार हनन् भएको र प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाए । बारा ४ का निवर्तमान सांसद किसान श्रेष्ठले कठ्पुतली सरकारका कारण सिमरा घटना भएको जिकिर गरे ।

यता, आफूहरूमाथिको आक्रमणले आक्रोशित बनेका युवा पुन: सिमरा चोकमा जम्मा भए र वीरगञ्ज–पथलैया सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शनमा उत्रिए । यसबीच स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राखी सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गर्‍यो । तर, जेनजी युवा कर्फ्यूले रोकिएनन् ।

बुधबारै जेनजी अगुवा सम्राट उपाध्यायले कुटपिटमा संलग्न रहेको भन्दै ६ जनाविरुद्ध किटानी जाहेरी दिए । त्यसमा एमालेबाट निर्वाचित ३ जना वडाध्यक्षहरू छन् ।

जीतपुर–सिमरा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का अध्यक्ष कैमुद्दिन अंसारी, ७ का  अध्यक्ष सुनील गुप्ता, जीतपुर–सिमराका ताराबहादुर बस्नेत, अरविन्द साह र ईश्वर थपलिया छन् । यीमध्ये श्रेष्ठ र अन्सारी बिहीबार पक्राउ परेका छन् ।  अनुसन्धानका लागि म्याद थप गरी प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रहरीले दुई जनालाई पक्राउ गरेको भए पनि जेनजी प्रदर्शनकारी बिहीबार सडक उत्रिए । बुधबारजस्तै कर्फ्यू उल्लङ्घन गर्दै टायर बालेर दिनभर प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालय बाराले संवादका लागि आह्वान गरे पनि अरविन्द साह पक्राउ नपर्दासम्म वार्तामा नबस्ने उनीहरूको अडान छ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी अगुवा उपाध्यायलाई टेलिफोन गरेर जिल्ला प्रशासन कार्यालय कलैयामा वार्ताका लागि बोलाएका थिए । तर, उपाध्यायले जवाफ दिए, ‘पहिले पक्राउ अनि मात्र वार्ता ।’

दुई दिनदेखि विद्यालय बन्द

जेनजी आन्दोलन चर्किएपछि जीतपुरसिमरा उपमहानगरपालिकामा बुधबार दिउँसोबाट विद्यालय, क्याम्पस बन्द छन् । बुधबार दिउँसो १२:३० बजेबाट जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेयता शिक्षण संस्थासँगै उद्योग–व्यवसाय, यातायात लगायत पनि प्रभावित छन् ।

बुधबार बिहान सिमरा विमानस्थल अगाडिको तनावपूर्ण अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस हान्दा नजिकै रहेको सिमरा पब्लिक इंगलिस स्कुल धुँवाको कुइरीमण्डलले छोपियो । विद्यार्थी प्रभावित भएपछि विद्यालयहरू आकस्मिक रूपमा बन्द गरिए ।

दिउँसोतिर केही विद्यालयले भित्रीबाटो प्रयोग गरेर विद्यार्थीलाई घर पुर्‍याए भने केही विद्यालयले अभिभावक बोलाएर विद्यार्थी जिम्मा लगाए । बुधबार दिउँसोबाट बन्द भएका सिमराका विद्यालय शुक्रबारसम्म बन्द रहने एन प्याब्सन जीतपुरसिमराका संयोजक वसन्त ढकालले जानकारी दिए । ‘बिहीबार पनि वार्ता नभएकाले शुक्रबार आन्दोलन हुने देखियो, त्यसकारण हामी शुक्रबार पनि विद्यालय बन्द राख्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने ।

देशभर भयको सञ्चार

सिमरा कलेजका सह–प्राध्यापक शालिकराम अधिकारीले सिमरा घटनाले देशभर नकारात्मक सन्देश प्रवाह गरेको बताए । ‘प्रशासनले शुरुमै नियन्त्रण गर्न सक्ने घटना थियो, सिमरा चोकमा बुधबार बिहान एमाले–जेनजी जम्काभेटमा प्रहरीको समन्वयकारी भूमिका समेत देखिएन,’ अधिकारीले भने ।  प्रहरी पूर्ण मुकदर्शक बनेकाले घटना उग्र बनेको उनको भनाइ छ ।

स्थानीय व्यवसायी प्रेमबहादुर थापाका अनुसार सिमरा घटनाको मुख्य जड एमालेको अराजनीतिक क्रियाकलाप हो । ‘स्थानीय युवाहरू माथि मुक्का प्रहार गर्नु गलत थियो । त्यसले घटना उग्र बनायो,’ थापाले भने, ‘जब चोकमा विवाद शुरु भयो, त्यहीँबाट प्रहरीले एमाले कार्यकर्तालाई नियन्त्रणमा लिनुपर्थ्यो त्यसो नहुँदा घटनाले अर्को रुप लियो ।’

रक्षात्मक प्रहरी, प्रशासन निरीह

गत भदौको जेनजी आन्दोलनयता देशभरका प्रहरीको मनोवल कमजोर छ । आन्दोनलको दौरान प्रहरी हत्या, कुटपिट, हतियार लुटपाटका घटना मात्र भएनन्, प्रहरी चौकी नै जलाइए । कयौं प्रहरी आफ्नो बर्दी खोलेर भाग्न विवश भए ।

आन्दोलनपछि नागरिक सरकार बनेयता पनि प्रहरीको मनोवल कमजोर अवस्थामै रहेको सिमरा घटनाले देखाएको छ । जेनजी प्रदर्शन चर्किंदै जाँदा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार र बिहीबार दुवै दिन कर्फ्यू आदेश जारी गरेको थियो ।

तर, कर्फ्यू आदेश पालना हुन सकेन । प्रदर्शनकारी युवा टायर बालेर सिमरा चोक कब्जा गरेर बस्न मात्र होइन, बिहीबार प्रहरीलाई लखेट्न सफल भए । आन्दोलनकारीले चारैतर्फबाट ढुंगा र इँटा प्रहार गरेपछि प्रहरीहरू भाग्दै गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल थिए ।

फिल्डमा खटिएका एक प्रहरी अधिकृतले गुनासो गर्दै भने, ‘प्रहरी पनि मान्छे हो । तर, हामीलाई कसले मान्छे गन्ने ? जसले पनि हामीमाथि नै लक्षित गर्दै आक्रमण गर्ने काम भइरहेको छ ।’

झडपमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछाने सहित चारजना प्रहरी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । प्रदर्शनकारी तर्फ तीनजना घाइते छन् । उनीहरूको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जेनजी अगुवा उपाध्यायले बताए ।

दुई दिनसम्म सिमरा अशान्त हुँदा पनि न प्रशासन प्रमुख, न प्रहरी प्रमुख घटनास्थल पुगेका छन् । प्रशासन प्रमुख प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङ कलैयामै छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले आफूहरूले संयमता अपनाउँदै स्थितिलाई कामुमा राख्न प्रयास गरिरहेको बताए ।

बिहीबार झडप नियन्त्रण गर्न प्रहरीले केही राउन्ड अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरिएको थियो । दुवै पक्ष आआफ्ना अडानमा रहँदा शुक्रबार बढ्न सक्ने र यसले झन् असहज अवस्था निम्तिन सक्ने भन्दै सिमरावासी चिन्तित छन् ।

वार्ता प्रयास विफल

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत समूहलाई वार्तामा आउन आह्वान गरेको थियो । तर जेनजी युवाको अडानका कारण वार्ता हुन सकेन । जेनजी समूहले वार्ताअघि आफूहरूमाथि आक्रमण गर्ने समूहका मुख्य व्यक्ति अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेको छ । यस्तै, जेनजीले वार्ताका लागि प्रशासनको टोली सिमरामा आउनुपर्ने माग पनि राखेको छ ।

प्रशासनले भने कलैयास्थित जिल्ला प्रशासन कार्यालयबाहेक अन्यत्र वार्ता हुन नसक्ने जनाएको छ । बाराका सहायक प्रमूख जिल्ला अधिकारी छविरमण भट्टराईले सुरक्षाका कारण वार्ताका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको जानकारी दिए । ‘सुरक्षा समिति पोष्ट छाडेर अन्त जान मिल्दैन, त्यसैले हामीले आन्दोलनरत समूहलाई कलैया बोलाएका छौं,’ भट्टराईले भने ।

वार्ताबाट निकास निकाल्न आग्रह

लगातार दुई दिनदेखि अशान्त सिमरालाई पुरानै अवस्थामा फर्काउन नागरिकहरूले अपिल गरेका छन् । विभिन्न सामाजिक सञ्जालमार्फत् नागरिक समाजका अगुवाहरूले संवादबाटै समाधान निस्कने भन्दै सबै पक्षलाई वार्तामा बस्न दबाब दिएका छन् ।

साथै, उनीहरूले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख रहेकाले सबैले आआफ्ना स्थानबाट निर्वाचनलाई भयरहित बनाउन योगदान गर्नु पर्ने पनि उल्लेख गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पनि वार्ताबाट तत्काल निकास निकाल्न दुबै पक्षलाई आग्रह गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल मार्फत पौडेलले आन्दोलनरत युवा  र प्रशासनबीच वार्ता गराउन पहल गरिरहेको जनाएका छन् ।

नगर प्रमुख पौडेलले बिहीबार दिउँसो सञ्चारकर्मीहरूसँगको कुराकानीमा आन्दोलनकारी जेनजीको माग बमोजिम प्रशासनले सिमरा क्षेत्रमा नै वार्ताको वातावरण बनाए समस्याको समाधान चाँडो निस्कने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?