News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत जेनजी युवाहरूसँग संवादबाट समाधान निकाल्न वार्ताको आह्वान गरेको छ।
- आन्दोलनरत जेनजी युवाहरूले सिमरा चोकस्थित मुख्य सडकमै छलफल गरी वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन्।
- प्रशासनले कलैयामा वार्ताको लागि टोली पठाउन आग्रह गरेको छ भने जेनजी समूहले अरबिन्द साह पक्राउ पर्नुपर्ने शर्त राखेको छ।
४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् ।
त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए । छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी समूहलाई वार्ताको लागि टोली बनाएर आउन प्रशासनले आह्वान गरेको तर उनीहरूले प्रशासनको टोली घटनास्थलमै आउनु पर्ने धारणा राखेको जानकारी दिए ।

तर, सुरक्षाको कारण सिमरा आउन नमिल्ने भएकाले कलैयामै वार्तामा आउन प्रशासनले आग्रह गरिरहेको उनले बताए । यसपछि जेनजी अगुवाहरूले वार्ताको लागि कलैया जान तयार रहेको तर, पहिले अरबिन्द साह पक्राउ पर्नु पर्ने शर्त राखेका छन् ।
वार्ताको समय भने तय गरिएको छैन । ‘वहाँहरू जतिबेला आए पनि हामी वार्ता गर्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
प्रतिक्रिया 4