४ मंसिर, काठमाडौं । बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनाव अहिले पनि जारी छ ।
बिहीबार प्रशासनले कफ्यु लगाउँदा पनि त्यसको प्रवाह नगरी जेनजीहरूले अहिले बारामा प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू जारी समेत गरेको छ ।
जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई पक्राउ गरेको छ । जसमा ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारी छन् ।
तर, जेनजीलाई आक्रमण गर्ने अरवीन्द साह अझै पक्राउ नगरेको भन्दै जेनजीहरू आक्रोशित छन् ।
बुधबारबाट उत्पन्न तनाव आज बिहीबार के–के भयो भन्नेबारे अनलाइनखबरले प्रहरी प्रशासनसँग सोधपुछ गरेर टाइमलाइन सामाग्री तयार पारेका छ ।
११:५ बजे–जेनजी युवा सम्राट उपाध्यायको नेतृत्वमा अन्दाजी ४०/५० जना समूहमा भेला भएका थिए ।
जेनजी समूह भेला हुन थालेपछि इलाका प्रशासन कार्यालय सिमराबाट डीएसपी वेदप्रकाश जोशीको कमाण्डमा ३० जनाको टोली परिचालन भयो ।
सशस्त्र प्रहरी नायव निरीक्षक केदार परियारको कमाण्डमा १० जनाको थप टोली पनि घटनास्थल पुगेपछि ४० जना सुरक्षाकर्मीको टोली घटनास्थलमा खटियो ।
११:२० बजेको समयमा जितपुर सिमरा उपमहानरपालिका–२ सिमरा चोकस्थित वीरगञ्ज पथलैया सकडमा जेनजी समूहले टायर बालेर दुवैतर्फको बाटो अवरोधको काम सुरु गरे । प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गर्ने प्रयास गर्यो ।
११:५५ बजे उक्त जेनजी टोलीले प्रहरीमाथि नै आक्रमण गरेको प्रहरी अधिकारीहरू बताउँछन् । जेनजी समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको दाबी प्रहरीको छ ।
जेनजीको आक्रमणबाट डीएसपी वेद प्रकाश जोशीको दाहिने हातको कुहिनामा चोट लागेको छ । इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर जीवन लामिछानेको निधार र दाहिने खुट्टामा चोट लागेको छ । प्रहरी चौकी वेल्दारी दरबन्दी भइ सिमरामा कार्यरत असई टंकप्रसाद आचार्यको बाँया खुट्टा र ढाडमा चोट लागेको छ ।
सिमरा बेस बारामा कार्यरत बरिष्ठ हवल्दार रामबाबु साहको बाँया खुट्टा र ढाडमा चोट लागेको छ । अन्य ९ जना प्रहरीहरू घाइते भएका छन् । सबैको अवस्थामा सामान्य नै छ ।
१२:०० आफूहरूमाथि आक्रमण सुुरु भएपछि प्रहरीले पनि बल प्रयोग गर्न थाल्यो ।
१२:०५ बजे–सिलसिलेवार बल प्रयोग गर्ने सिद्धान्तअनुसार लाठी चार्ज र ५ राउण्ड अश्रु ग्यास प्रहार भयो । १ राउण्ड हवाई पनि प्रहरी गर्यो । यतिन्जेलसम्म जेनजीको समूह करिब १५० जनाको भइसकेको थियो ।
१२:५० बजे नेपाल प्रहरीबाट ग्यास गनबाट ६ राउण्ड अश्रु ग्यास प्रहार भयो । एसएलआरबाट ३ राउण्ड हवाई फायर भयो । यतिन्जेलसम्म करिब ५ सयको हाराहारीमा आन्दोलनकारी जम्मा भइसकेका थिए ।
बुधबार एमालेको युवा संघको मधेशस्तरीय कार्यक्रम थियो । काठमाडौंबाट महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता जाने कार्यक्रम थियो ।
यता जेनजी अगुवा सम्राट उपाध्यायले बुधबार नै एक जुट हुन भन्दै आह्वान गरेका थिए । जेनजीहरू सिमरा एअरपोर्ट अगाडि पुगेका थिए भने बाराका एमालेहरू पनि नेताहरू स्वागत गर्न एअरपोर्ट पुगेका थिए ।
त्यसपछि दुई पक्षबीच विवाद भएको थियो । विवादको क्रममा सुरुमा एमालेका बाराका नेता अरवीन्द साहले जेनजीलाई सुरुमा हिर्काएका थिए । त्यसपछि बिग्रिएको स्थिती अहिले पनि तनावपूर्ण छ ।
प्रतिक्रिया 4