Comments Add Comment

बैंकभित्र भेटेको एक लाख युवकले प्रहरीलाई बुझाए

२९ चैत, वीरगञ्ज । वीरगञ्ज स्थित मेगा बैंकको शाखा कार्यालयमा फेला पारेको एक लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।

रौतहट यमुनामाई गाउँपालिका ३ घर भई वीरगञ्ज महानगरपालिका ८ पानीट्याङकी बस्ने २० बर्षका प्रिन्सकुमार मुखियाले मेगा बैंकमा फेला पारेको एक लाख रुपैयाँ प्रहरीको जिम्मा लगाएका हुन् ।

वीरगञ्जको आदर्शनगर स्थित मेगा बैंकको शाखा कार्यालयभित्रै चैत २८ गते दिउँसो २ बजेतिर रकम फेला परेको दावी मुखियाले बताएका छन् । कामको सिलसिलामा बैंक जाँदा प्रिन्स र उनका साथी वीरगञ्ज पिप्रा बस्ने प्रिन्स कुमार पटेलले बिहिबार दिउँसो २ बजेतिर भौचर भर्ने ठाउँमा राखिएको टेबलको पछाडिबाट नगद एक लाख फेला पारेका थिए ।

मुखिया झा एन्ड सन्समा र पटेल सानो पाइलामा कार्यरत छन् । ठूलो परिमाणको रकम फेला परेपछि अत्तालिएका उनीहरुले बिहिबार रकम फेला परेको बारे परिवारलाई मात्रै जानकारी गराएका थिए । शुक्रबार प्रिन्स मुखियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर रकम प्रहरीको जिम्मा लगाएका छन् ।

अहिलेसम्म बैंकमा कसैले पनि रकम हराएको गुनासो गरेका छैनन् । अहिलेसम्म प्रहरीमा पनि १ लाख रुपैयाँ हराएको बारे जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले पैसा आए लगत्तै मेगा बैंकको सिसिटिभी फुटेज हेर्ने लगायतका अनुसन्धानको प्रक्रिया शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment