Comments Add Comment

रात्रीकालीन पेनाल्टीमा ४२ टिम सहभागी

२९ चैत, कैलाली । नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा सातौं रात्रीकालीन एसटीएस पेनाल्टी सुटआउट प्रतियोगितामा ४२ टिम सहभागी हुने भएका छन् ।

स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा शुरु भएको रात्रीकालीन पेनाल्टी शूटआउट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चैत्र ३० गते दिउँसो ४ बजेबाट शुरु हुने रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगिता राति १२ बजे समापन गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितासंगै विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिने आयोजकले जानकारी दिएको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत फेसन शो र सांगीतिक कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

प्रत्येक टीममा एकजना अतिरिक्त खेलाली र टीम म्यानेजरसहित ७ जनाले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार का साथै ट्रफी, द्वितीय हुने टिमले नगद ७५ हजार र ट्रफी पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने छन् भने सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै टिकट काटेर प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोलाप्रथाबाट एक जनालाई सरप्राइज गिफ्ट दिइने आयोजकले जानकारी दिएको छ । उक्त गिफ्ट करिब ५० हजार रुपैयाँ बराबरको रहने आयोजकको भनाइ छ । दर्शकका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment