Comments Add Comment

कांग्रेस नेतृत्वलाई जिल्ला कोषाध्यक्षले भने : गुट, उपगुट बन्द गर

२९ चैत, पोखरा । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले पार्टीभित्र व्याप्त गुट उपगुट अन्त्य गर्न नेतृत्वलाई आग्रह गरेका छन् । उनीहरुले पार्टीभित्र गुट उपगुट, भागबन्डा, तेरोमेरो प्रवृत्ति छाडेर सही व्यक्ति सही स्थानमा हुनुपर्ने माग गरेका छन् ।

पोखरामा आयोजित कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा १४ बुँदे घोषणापत्र जारी गर्दै उनीहरुले विधिको सर्वोच्चतालाई तवरबाट व्यवहारिक रुपले कार्यान्वयन गर्न माग गरेका हुन् ।
‘निरन्तरता, लोकप्रियता एवं गोप्य एवं निष्पक्ष छवि भएकालाई अवसर दिनुपर्छ, पार्टीभित्रको गुट उपगुटलाई बन्द गर्न पार्टीको केन्द्रीय कार्यसमितिलाई अनुरोध गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

घोषणा पत्र सार्वजनिक गर्दै कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीभित्र पदाधिकारी चयन गर्न पनि मतदान प्रक्रिया अपनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘नेपालको संविधान तथा निर्वाचन ऐन अनुसार नै पार्टीका पदाधिकारी छनोट गर्दा मतदान प्रक्रिया हुनुपर्छ । केन्द्रइ तहदेखि तल्लो तहसम्मका कोषाध्यक्षहरुको चयन पनि मतदान प्रक्रियाबाटै होस् भन्ने जोडदार माग गर्दछौं ।’

कास्की क्षेत्र नम्बर २ लगायत देशभरिका संघ, प्रदेश तथा स्थानीय तहका सहरमा रिक्त रहेका पदमा चाँडै उपनिर्वाचन गर्न र त्यसमा नेपाली कांग्रेसले नै जित हासिल गर्न क्रियाशील रहने कांग्रेस जिल्ला कोषाध्यक्षहरुले घोषणा गरेका छन् ।

उनीहरुले नेपाल सरकारको दम्भका कारण देशमा अशान्त छाएको भन्दै त्यसका लागि विरोधका कार्यक्रमसमेत गर्न अनुरोध गर्ने बताएका छन् । ‘सरकारको दम्भ, असक्षमताकै कारण देशमा हत्या, हिंसा, बलात्कारजस्ता मुद्धाहरु अघि बढाइ विरोधका कार्यक्रम अघि बढाउन समेत आग्रह गर्नेछौं,’ घोषणापत्रमा भनिएको छ ।

पार्टीको आर्थिक अवस्था कमजोर हुन नदिन लेबी संकलन कार्यलाई तीब्र बनाउने उनीहरुले घोषणा गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै नेतृ पाण्डेले प्रत्येक जिल्लाले ६ महिनाभित्र कम्तिमा १० लाख उठाउनुपर्ने बताइन् । प्रत्येक जिल्लामा आपतकालीन कोष स्थापना गर्ने र खाता नखोलिएका जिल्लामा तत्काल खाता खोलिनेसमेत उनले सुनाइन् ।

जिल्ला कोषाध्यक्षहरुले पार्टीका भातृ संगठन एवं शुभेच्छुक संस्थाहरुको निर्वाचन समेत समयमै गराउन आग्रह गर्ने भएका छन् । उनीहरुले पार्टीको सदस्यता वितरण पारदर्शी, वैज्ञानिक एवं निष्पक्ष तवरले गर्न सूचित गर्ने भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको थियो । सम्मेलनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment