Comments Add Comment

खुशी कहाँ छ ?

हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं  । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ?

किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।

त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।

हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् ।

खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।

पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।

यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।

नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?

वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।

खुशी कहाँ खोज्ने त ? 

खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ?

जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।

जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।

यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment