Comments Add Comment

केपी ओलीको अलौकिकता र ज्ञानेन्द्र शाहको पूजा

Photo Credit : द्रोण केसीको फेसबुकबाट

सञ्चार माध्यमहरुले आदित्य दाहालका बारेमा जुन सामग्रीहरु प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरिरहेका छन्, त्यो भविष्यमा उनीहरुका लागि पछुतो हुने निश्चित छ । यो आलेखमा किन पनि त्यसो भनिँदैछ भने केही वर्ष पहिले रामबहादुर बमजनका बारेमा अपत्यारिला समाचारहरु देशका ठूला ब्रोडसिट दैनिकहरुमा प्रकाशन गरिए ।

रेडियो टेलिभिजनहरुले पनि त्यसैगरी प्रशारण गरे । अनलाइनहरुले पनि प्रकाशन गरे । रामबहादुर बमजनलाई एउटा ठूलो गिरोहले अलौकिक तपस्वीको रुपमा प्रचार गरेको थियो । त्यो प्रचारबाजी लामो समय टिक्न सकेन । अहिले उनी तपस्वीको रुपमा होइन, एउटा बलात्कारी, हत्यारा रहेको प्रमाणहरु तिनै सञ्चारमाध्यमहरुले प्रकाशन प्रशारण गरिरहेका छन् ।

उनका आश्रमहरुमा प्रहरीले निरन्तर छापा मारिरहेको छ । उनको आश्रममा लगिएका व्यक्तिहरुको हत्या भएका किटानी जाहेरीहरु पर्दासमेत सरकारले केही नगर्नु आश्चर्यको कुरा बनेको छ । दजनौं पीडितहरुले दिएको जाहेरीलाई रद्दीको टोकरीमा मिल्क्याइएको छ र रामबहादुर बमजनले गरेका अपराधहरुलाई संरक्षण गरिएको छ ।

विमल पोखरेल

आदित्य दाहाल अपाङ्ग बालक भएकाले उनीबाट त्यस्तै अपराधहरु हुने सम्भावना छैन । तर, जसले आदित्य दाहाललाई अलौकिक शक्तिको रुपमा अगाडि सारिरहेको छ, त्यो गिरोहले अपाङ्ग बालककको अलौकिकताको आडमा हजारौं हजारलाई शोषण गरिएका समाचारहरु हेर्न लामो समय कुर्न पर्ने छैन । धर्मको प्राथमिक र अन्तिम स्वरुप भनेकै शोषण हो । एउटा फरक क्षमता भएको अपाङ्ग बालकलाई शोषणको हतियार बनाइनु इतिहासकै कलंकबाहेक अरु हुन सक्दैन ।

पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओली एउटै अभियानमा उभिएका छन् । ज्ञानेन्द्रले परम्परागत मठमन्दिर घुमेर पूजाअर्चना गरेका छन्, जुन अपेक्षित नै छ । एउटा हिन्दू धर्मावलम्बी व्यक्तिले मन्दिरमा पुगेर पूजा गरिनुलाई अन्यथा लिनुपर्ने आवश्यकता छैन । तर, केपी ओलीले अपाङ्ग बालक आदित्य दाहाललाई देखाएर दासयुगीन ऋषिमुनिहरु र ब्राम्हणहरुको इतिहासबाटै समाप्त भइसकेको अलौकिकताको प्रचार गरेका छन् । केपी ओलीको अगुवाइमा आदित्य दाहालको नाममा राज्यको करोडौं रुपैयाँ स्वाहा पार्नु निन्दनीय र आर्थिक अपराध हो । त्यसको असुलउपर स्वयं केपी ओलीको सम्पत्तिबाट गरिनुपर्दछ । आदित्य दाहाल प्रतिष्ठान एउटा पाखण्डीहरुको भद्दा प्रदर्शन बाहेक अरु केही होइन ।

ज्ञानेन्द्र शाह र केपी ओलीले हिन्दूहरुले विश्वास गर्ने अलौकिकतालाई प्रचार गरेर हिन्दू राज्य खडा गर्ने कार्यलाई निरन्तर मलजल गरिरहेका छन् । केपी ओलीले आदित्य र राजा ज्ञानेन्द्रले देशभरका मठमन्दिर र शक्तिपीठहरुको सहारा लिएका छन् ।

यदि परिवारका सदस्यहरुले आदित्य दाहाललाई पालनपोषण गर्न सक्दैनन् भने राज्यले उनको भरणपोषण गरिदिनुपर्छ । अपाङ्गहरुले पढ्ने स्कुलमा पढ्न पठाउनुपर्छ । तर, आदित्य दाहाललाई देखाएर लुट्नेहरुलाई राज्यको करोडौं रकम दिइनुहुँदैन । राज्यको पैसामा लुट मच्याउन पल्केका केही लुटेराहरुले दिनरात आफ्नो खेती गरिरहेका छन् । त्यो खेती दासकालीन ब्राम्हणहरुको लुटको निरन्तरता मात्रै हो ।

करिब ८ वर्षपहिले पानीमा बस्ने जीव अक्टोपसलाई विश्वकप फुटबलको भविष्यवाणी गर्ने जीवका रुपमा विश्वव्यापी प्रचार गरियो । तर, फुटबलको अर्काे महाकुम्भमा त्यो सूत्र काम लागेन । अक्टोपसको बारेमा कुनै परिचर्चा भएन । सुरुमा आदित्य दाहाललाई बालज्योतिष वा अलौकिक भविष्यवक्ताको रुपमा प्रचार गरियो । केही समयपछि उनले गरेका कथित भविष्यवाणीहरु कहीँकतै मिलेनन् । त्यसको छेउटुप्पो कतै नमिलेपछि फेरि उनलाई भगवानको रुपमा प्रस्तुत गरिएको छ । एउटा अपाङ्ग बालक, जसलाई उपचारका लागि अमेरिका लगेर फर्काएर ल्याइयो, सञ्चो नहुने पक्का भएपछि भगवानको प्रचार गर्न थालिएको छ । यो कार्य एक्काइसौं शताब्दीमा धर्मको आडमा शोषण गर्न पैदा भएका लुटेरा समूहको पाखण्डहरुको भद्दा प्रदर्शन हो । यो प्रदर्शनमा प्रधानमन्त्री समेतर रहेका केपी ओली सहभागी हुनु सिंगो देशलाई अलौकिकतातिर दौडाएर जनताका मुक्तिको आवाजलाई दबाएर सत्ता टिकाउने दाउसमेत हो ।

आदित्य दाहालका नाममा जेजति क्रियाकलापहरु भएका छन्, ती सबै एउटा लुटेरा समूहले सञ्चालन गरेका गतिविधिहरु हुन् । उक्त लुटेरा समूहले अपाङ्ग बालक आदित्य दाहाललाई देखाएर हजारौं जनताको करोडौं, अरबौं पैसा त लुट्ने नै छ, त्यसबाहेक लाखौं जनताको दिमाग नै लुट्ने छ । वैज्ञानिक युगलाई दासयुगको अलौकिक प्रचारबाजी गर्ने ब्राम्हण पुरोहितहरुको गुलाम बनाउनेछ । जनताका मुक्तिका आवाजहरुलाई मोडिदिनेछ । विकासको चाहनालाई भुत्ते बनाइदिनेछ । मान्छेहरुलाई अलौकिक वस्तुको गुलाममा परिणत गर्नेछ ।

आदित्य दाहाललाई भगवानको रुपमा प्रचार गर्ने, उनको नाममा मन्दिर बनाउने, उनको नाममा विभिन्न संघ संस्थाहरु खडा गर्ने, पैसा जम्मा गरेर लुट मच्याउने लुटेरा समूहले यति छोटो समयमै सफलता हासिल गर्नुले के देखाउँछ भने यो लुटेरा समूहले धेरै ठूलो सफलता हासिल गर्नेछ र लुटको साम्राज्यलाई देशव्यापी फैलाउनेछ । उनीहरुको लुटको भण्डाफोर नगर्ने हो भने उनीहरुलाई थप हौसला मिल्नेछ ।

कथित भगवान र अध्यात्मवादी अलौकिकतालाई चार्बाक र बौद्ध दर्शनहरुले आजभन्दा झण्डै २ हजार ५ सय वर्ष अगाडि डढाएर खरानी बनाइसकेका छन् । भगवान छैनन् भनेर गौतम बुद्धले डढाएर खरानी बनाइसकेको अस्तुलाई लुटेरा समूहले फेरि नक्कली मुकुण्डो पहि¥याएर प्रचार गरिरहेको छ । देशको भविष्यको लागि पनि दुःखद् हो ।

अपत्यारिला र अवैज्ञानिक प्रवचन दिँदै हिँडेका प्रधानमन्त्री ओलीको भौतिकवादी दृष्टिकोणको ग्रन्थी पूरै नष्ट भइसकेको छ र उनी अलौकिक शक्तिको शरणमा पुगेका छन् । ओली शासनसत्तामा कमजोर बन्दै गएपछि सिंगो समाजको दिमाग आदित्य दाहालको लुटेरा समूहको अलौकिकताको प्रचारबाजीमा बदल्न लागि परेका छन् । उनी स्वयं आदित्य दाहालको अलौकिकताको शरणमा पुगेका छन् । जब कुनै मान्छे कमजोर बनेपछि पुग्ने ठाउँहरु त्यस्तै हुन् । कमजोर बन्दै गएका प्रधानमन्त्री अपाङ्ग बालक आदित्य दाहालको शरणमा पुगेका छन् ।

जब राजा ज्ञानेन्द्र आफ्नो शासन व्यवस्थामा कमजोर बन्दै गएका थिए, उनले देशभरका मन्दिर र शक्तिपीठहरुको दर्शन र पूजाआजामा समय व्यतित गरेका थिए । तर उनको शासनलाई कुनै देवीदेवता र मन्दिरहरुले जोगाइदिएनन् । त्यस्तै केपी ओलीको सत्तालाई पनि आदित्य दाहालको कथित अलौकिकताले जोगाइदिनेवाला छैन । पूर्वीय दर्शनमा आदित्य दाहाल भन्दा कैयौं चमत्कारिक त ब्रम्हा नै थिए । ब्रह्माले नै सिंगो पृथ्वी बनाए, मानव बनाए, वनजंगल र नदीहरु बनाए, हावा बनाए, अर्थात् सिंगो ब्रम्हाण्ड नै बनाए भनेर केपी ओलीले भन्ने दिन अब टाढा छैनन् ।

बालक आदित्य दाहालको अलौकिक शक्तिका शरणमा पुगेर ओलीले आफ्नो भौतिकवादी दर्शनलाई तिलाञ्जली दिएका छन् र उनी वेदकालीन ऋषिमुनिको भक्तको रुपमा प्रकट भएका छन् । एउटा अपाङ्ग बालकको शरणमा पुगेर हजारौं वैज्ञानिकहरुलाई चुनौती दिएका छन् । यो त्यही घटनाको पुनरावृत्ति हो, जब एउटा कुष्ठ रोग लागेको व्यक्ति, जुन तत्कालीन समाजको कारण जंगलमा बास बसाल्न बाध्य बनाइयो, समयक्रमसंगै त्यही कुष्टरोगीलाई महान् तवस्वी बनाएर अहिले स्वर्गद्वारीको निर्माण गरिएको छ ।

सोलुखुम्बु, भोजपुरतिर प्राकृतिक रुपमा विग्रेर फलेको २१ मुखे रुद्राक्षलाई ३० लाख पर्नु कुनै घरधनीको लागि महान् उपलब्धि हुने गरेको छ । गाइले ५ वटा खुट्टा भएको बाच्छी जन्माएको रहेछ भने गाडीमा राखेर प्रचार गर्दै पूजा गराएर लाखौं लुट्ने ध्याउन्नमा विभिन्न समूहहरु लागेका देखिन्छन् ।

ठीक त्यसै गरी एउटा अपाङ्ग बालक कुनै लुटेरा समूहको लागि लाखौं करोडौं लुट्ने साधन बनाइएका छन् । उनलाई त्यसरी लुटको माध्यम बनाइएको छ भन्ने कुरा विचरा ती बालकलाई जानकारी नै छैन । उनी एक अबोध र ज्ञानी बालक हुन्, जो संग बोल्ने शक्ति नहुँदा पनि लेख्ने र सम्झन सक्ने प्राकृतिक शक्ति रहेको छ । हामीले बालकमा रहेको प्राकृतिक क्षमताको कदर गर्नुपर्दछ । तर उनको त्यो क्षमतालाई दुरुपयोग गरेर भइरहेका लुटहरुको भण्डाफोर गरिनुपर्दछ ।

अलौकिक शक्तिको आडमा, धर्मको नाममा, भगवानको नाममा, तपस्वीको नाममा, बाबाहरुको नाममा हजारौं वर्षदेखि जुन वर्गले हजारौं वर्षदेखि शोषण र लुट मच्याउने काम गरेको छ, आदित्य दाहालको नाममा खडा गरिएको अर्काे नयाँ लुटेरा संस्थाको उत्पत्ति हुनु र प्रचारमा लाग्नु देशको दुःखलाग्दो दृष्य हो । यो नेपाली जनताले हेर्न लायक दृष्य नै होइन । यो केपी ओलीमा आएको वैचारिक स्खलन, शासकीय असफलताको डिप्रेसनबाहेक अर्थाेक केही होइन ।

प्रधानमन्त्री ओलीले आदित्य दाहालमा विना स्रोतको ज्ञान छ भनेका छन् । उनले भनेका छन् कि ‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, आदित्यमा विना स्रोत ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो ।’ त्यो भनेर उनले खतरनाक पाखण्ड प्रदर्शन गरिरहेका छन् । आदित्य दाहालले जन्मेदेखि नै टीभी हेरेका छन्, नेपालदेखि अमेरिकासम्म घुमेका छन् । उनलाई भौतिक रुपमा पूर्ण बनाएर राखिएको छ । उनी यही पृथ्वीमा जन्मेका हुन् र यही पृथ्वी नै अथाह ज्ञानको स्रोत हो । ओलीले कुनै ज्ञानको स्रोत छैन भनेर सम्पूर्ण भौतिकवादीहरुलाई उल्लु बनाउने जुन प्रयत्न गरेका छन्, त्यो उनको खुइलिइसकेको दिमागी भ्रष्टीकरण हो । उनका यस्तो दिमागी भ्रष्टीकरणको भण्डाफोर नेकपा निकट भौतिकवादी अध्यता घनश्याम भुसाल, राम कार्की, लेखनाथ न्यौपाने लगायतले स्पष्टीकरण दिने आशा गरिन्छ ।

मेरो भाइ जतिबेला त्यस्तै ३, ४ वर्षको थियो, उसले केही भनेका कुरा अहिले केपी ओली दासयुगीन ऋषिमुनिहरुको दूतको रुपमा प्रकट भएपछि मेरो दिमागमा ताजा भएर आएका छन् । उसले भन्थ्यो कि मलाई आमाले जन्माउनुभएको होइन । भगवानले आकासमा जन्माए, अनि मलाई यहाँ ल्याएर अब यहीं बस भनेर छोडेर गए । अहिले मेरा भगवान यहाँ आउन सक्दैनन् । उसले भनेका कुरा सुन्दा म मात्रै होइन, हामी धेरै आश्चर्यमा परेका थियौं । उसले यो कसरी भन्न सक्यो ? उसले भन्थ्यो कि भगवान सूर्यको नजिक बस्छन्, कहिलेकाहीं चन्द्रमाको नजिक पनि बस्छन् । हामीले भन्थ्यौं कि त्यसो भए अब तिमी त्यहीँ जाउ । उसले जवाफ दिन्थ्यो– अब त्यहाँ जान सकिँदैन । म भगवानको घरबाट यहाँ आइसकेको छु । एउटा ३ वर्षको बालकले त्यसो भन्यो भन्दैमा उसमा अलौकिक शक्ति प्राप्त गरेको भन्न मिल्छ कि मिल्दैन ? ओलीले अहिले भनिरहेका कुराहरु मेरो भाइ प्रकाशले ३, ४ वर्षको उमेरमा भनेका बालसुलभ कल्पनाको पुनरावृत्ति मात्रै हुन् । एउटा ६६ वर्षको शासकले ३/४ वर्षको बालसुलभ कल्पनाको कुरालाई सत्य सावित गर्नु जत्तिको आपत्तिजनक कुरा अरु के हुन सक्छ ?

जहाँसम्म आदित्य दाहालले स्कुल नगई कसरी लेख्न सिके भन्ने प्रश्न छ, निश्चितरुपमा उनलाई उनका बाबाआमाबाट अक्षर चिनाइएको छ । कुनै पनि व्यक्तिलाई अक्षर नचिनाइकन चिन्न सम्भव नै छैन । उनले जे जति कुराहरु प्रकट गरेका छन्, ती सबै यो पृथ्वीमा भइरहेका कुराहरु नै व्यक्त गरेका छन् । उनी बोल्न सक्दैनन्, ठीकै छ । बोल्न नसक्नेहरु धेरै तीक्ष्ण दिमागका र उनीहरुले पढ्न, लेख्न सकेका सयौं उदाहरणहरु हामीमाझ छ । तर, पनि एउटा लुटेरा गिरोहको लहैलहैमा लागेर प्रधानमन्त्रीले आदित्य दाहाललाई अलौकिकताको प्रमाणपत्र दिनु र लुटेरा समूहले दिनरात त्यही कुराको प्रचार गर्नु, उनीहरुको लुटेरै खाने खेलोबाहेक केही होइन ।

ब्राम्हणहरुले दासयुगदेखि नै वेद पढ्ने ठेक्का आफूले लिए । राजाहरुलाई ठूल्ठूला यज्ञहरु गर्न लगाएर आफ्नो सुखसयलपूर्ण जिन्दगी बिताए । उनीहरुले शुद्रलाई वेद सुन्न पनि दिएनन् । पढ्न पनि दिएनन् । शुद्रहरुले वेद सुने भने कान झिरले रोपिदिने र पढे भने जिब्रो निकालिदिने नियम लगाए । यति क्रुर तरिकाले विकास भएको पूर्वीय दर्शनको भद्दा रुप आजको वैज्ञानिक युगमा आदित्य दाहालको नाममा देखा पर्नु सिंगो मानव समाजका लागि निश्चय नै अत्यन्तै चिन्ता र दुःखलाग्दो कुरा हो ।

निश्चय नै आदित्य दाहालले अब पढ्दै र बुझ्दै जानेछन् । उनले पुस्तकहरु पढ्नेछन्, पत्रपत्रिकाहरु पढ्नेछन् । उनले धेरै कुरा बुझ्दै जानेछन् । उनले आफूले प्राप्त गरेको ज्ञानलाई मानव सेवामा लगाउन सके भने त्यो उपलब्धिमूलक नै हुनेछ । तर, उनलाई घेरिरहेको लुटेरा समूहले आदित्य दाहाललाई भगवान घोषणा गर्ने सम्भावना पनि छ । यदि पढेलेखेर पनि आदित्य दाहालले लुटेरा समूहकै घेरामा रहेर आफ्ना गतिविधि गरे भने उनको ज्ञानलाई त्यही लुटेरा समूहले भरपुर उपयोग गरेर आफ्ना सारा स्वार्थहरु पूरा गर्नेछ ।

आजभोलिकै गतिवधिहरु जस्तै सडकमा राखिएका होर्डिङ बोर्ड हेर्ने हो भने त्यो लुटेरा समूह सकेजति लुट्ने ध्याउन्नमा लागेको देखिन्छ । त्यो लुटलाई प्रधानमन्त्री केपी ओलीले अलौकिकताको नाम दिएर वैधानिकता दिएका छन् । जसको निरन्तर भण्डाफोर गरिनुपर्दछ ।

(लेखक अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन् । यो लेखमा प्रस्तुत विचारहरु लेखकका व्यक्तिगत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment