Comments Add Comment

प्रचण्डले भर्ना गरेका पत्रुस चलाख, अरुण कमजोर

१ वैशाख, चितवन । गत वर्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्ना गरेर अभिभावकत्व लिएका दुई विद्यार्थी पास भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २८ स्थित साझापुर माविका पत्रुस माझी र अरुण मुसहर माझी दुवै जना पास भएको विद्यालयका प्रद्यानाध्यापक तेजेन्द्र भुसालले जानकारी दिए ।

विद्यालयमा यी दुई बालकको अभिभावकको नाम पुष्पकमल दाहाल लेखिएको छ । प्रचण्डले दुई बालकहरुलाई कक्षा ८ सम्म अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

अरुण १० बर्षका भए भने पत्रुस ६ बर्षका । पास भएर पत्रुस नर्सरीबाट केजीमा गएका छन् । अरुण कक्षा एकबाट दुईमा पुगेका छन् । पत्रुस राम्रै अंकसहित पास भए पनि अरुण भने कमजोर छन् । पत्रुस नियमित जस्तो विद्यालय आउँछन् ।

अरुण त्यति विद्यालय नआउने प्रधानाध्यापक भुसालले बताए । विद्यालयबाट दूरीको हिसाबले पत्रुसको घर अरुणको भन्दा नजिक छ । पत्रुसका बुबाआमा दुवै सचेत छन् भने, अरुणका त्यति छैनन् ।

‘अरुणको घरमा समस्या छ, वुवा र आमा त्यति जिम्मेवार छैनन्’ प्रअ भुसालले भने, ‘हामीले बल्लबल्ल ७३ वर्षकी हजुरआमालाई कन्भिन्स गरेका छौं, विद्यालय ल्याउनै मुश्किल छ ।’ सरकारले विद्यार्थी खाजा कार्यक्रम लागु गरेपछि बोटे, मुसहर र माझी जातीका बालवालिका विद्यालयमा आउने गरेको प्रअ भुसालको अनुभव छ ।
‘प्रचण्डको छोरा हुँ’ भन्छन् पत्रुस

पत्रुसले साथीभाइ तथा घरमा प्रचण्डको छोरा हुँ भन्ने गरेको उनकी आमा लक्ष्मी मुसहर वताउँछिन् । लक्ष्मीले अहिलेसम्म प्रचण्डलाई भने भेटेकी छैनन् । छोरालाई प्रचण्डले पढाइदिएकोमा उनका बुबा आमा खुसी छन् ।

विद्यालयमा गएर पनि पत्रुसका बाबुआमाले चासो लिने गरेको विद्यालय प्रद्यानाध्यापक तेजेन्द्र भुसालले बताए । हजुरआमा भौजिया मुसहरले भने प्रचण्डलाई भेटेकी छिन् ।

विद्यालयले गत बर्ष खाजा कार्यक्रम अन्र्तगत ९६ हजार पाएको थियो । त्यसअघि प्रचण्डले दुई विद्यार्थीलाई मासिक एक एक हजार दिदैं आएका थिए । २०११ साल कात्तिक १४ मा स्थापित भएको साझापुर माविमा पढ्न आउने विद्यार्थीमध्ये ७० प्रतिशत भन्दा बढी आदिवासी जनजाति समुदाय छन् ।

थारु, मुसहर, माझीलगायका समुदायका विद्यार्थीको बाहुल्यता छ । नर्सरीदेखि कक्षा १२ सम्म विद्यालयमा ५३४ जना विद्यार्थी छन् । यस बर्षको भर्ना अभियान पनि सुरु भइसकेको छ । नतिजा अघि नै एक चरण गाउँ गाउँमा पुगेर अभिभावकहरुसँग भेटघाट र अन्तक्र्रिया गरिएको विद्यालयका प्रअ भुसालले जानकारी दिए ।

विगतमा बोटे, मुसहर र माझी विद्यार्थी विद्यालयमा भर्ना पनि गर्ने, केही समय आउने, पोशाक लैजाने, भत्ता पनि बुझ्ने तर त्यसपछि नआउने गरेकोमा यसपटक भने त्यसमा सुधार आएको प्रअ भुसालको भनाइ छ । विद्यालयले यसपटक विद्यार्थी ड्रप आउटलाई शून्य वनाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment