Comments Add Comment

दाम्पत्य सुखः माया त यस्तो होस्

कसरी दाम्पत्य सुख र व्यवसायिक जीवन सफल हुन्छ ?

विवाहको सन्दर्भमा दार्शनिक सुकरातले घतलाग्दो जवाफ दिएका छन् । एक प्रसंगमा उनले भनेका छन्, ‘एक असल पत्नी प्राप्त भएमा तिम्रो जीवन सुखमय हुनेछ । ठीक यसैगरी खराब वा दुर्गुण भएकी पत्नी पाएमा तिमी दार्शनिक हुनेछौं ।’

भनिन्छ, सुकरातकी पत्नी असल थिइनन् । एकदम कर्कश र क्रोधी थिइन् । अबुझ थिइन् र क्रुर पनि । त्यही कारण सुकरातले दाम्पत्य सुखभोग गर्न पाइनन् । यद्यपी पत्नीको हकमा मात्र होइन, पतीको हकमा पनि यही कुरा लागु हुन्छ । दुबै असल, समझदार, प्रेमिल, सहयोगी, जुझारु भएमा मात्र दाम्पत्य जीवन सुखमय हुन्छ ।

दाम्पत्य जीवनको के कुरा, करियर वा व्यवसायिक जीवनमा पनि पति-पत्नीको सहयोग र समर्थन आवश्यक हुन्छ ।

नेपालीमा उखान नै छ नि, एक हातले मात्र ताली बज्दैन । यस्तै पति-पत्नी एकै रथका दुई पाङ्ग्रा हुन् । दुबै भनाईको सार के भने, दाम्पत्य सुख र सन्तुलनका लागि पति अनि पत्नी दुबैको सार्थक सहयोग र प्रयास जरुरी हुन्छ ।

अतः यहाँ यस्तै नेपाली दम्पतीको कथा पस्किएका छौ, जसको दाम्पत्य जीवन रहरलाग्दो छ ।

सुमधुर जोडीः उदय-मनिला

जतिबेला लोकले चिन्दैनथे उदय र मनिला सोताङलाई, त्यहीबेला उनीहरुले एकअर्काको आड-भरोसा बनेका थिए । एकअर्काको साथ र सहयोग दिएका थिए । त्यो साथ र सहयोग अहिलेपनि उस्तै छ । त्यसो नहुँदो हो त, विवाह गरेको तीन दशक नाघिसक्दा वा तीन छोराछोरी हुकाईसक्दा उनीहरुको सम्बन्धमा थुप्रै उतारचढाव आउनुपर्ने हो । त्यसो भएको छैन ।

अहिले पनि उनीहरु कुनै वैशालु जोडी झै एकसाथ देखिन्छन्, स्टेजदेखि घरसम्म ।

यदि उदय र मनिलाले एकअर्काको आड भरोसा नबनेको भए, एकअर्कालाई साथ नदिएको भए, आज नेपाली संगीतकै नमुना जोडी बन्ने थिएनन् । यद्यपी उनीहरु एकआपसमा यसरी जोडिए, जसले उनीहरुको दाम्पत्य जीवन सुमधुर र व्यवसायिक जीवन सफल रह्यो ।

उदय-मनिलाको सवल पक्ष 

खासमा मनिला घरायसी कुरामा बढी दख्खल राख्छिन् । परिवारको ख्याल बिचार गर्छिन् । मिठो मसिनो पकाएर ख्वाउँछिन् । उदय भने संगीत साधना र व्यवसायमा बढी लगाव राख्छन् ।

उदयलाई आफुले भनेजस्तै ठ्याक्कै सबैकुरा मिलेको, व्यवस्थित हुनुपर्छ । यदि त्यसो भएन भने उनलाई रिस उठ्छ । त्यस्तै कहिले काहीँ मनिला पनि ठुस्किएर बस्छिन् । तर, उनीहरुको यो नोकझोंक लामो समय टिक्दैन । एकै छिनमा दुबै पग्लिन्छन् ।

खासमा भन्ने हो भने, मनिला र उदय एक परिपक्क जोडी हुन्, जसको सम्बन्धलाई सानोतिनो समस्याले कमजोर बनाउँदैन ।

सजायित जोडीः सुविन र मुना

‘समर लभ’ फेम लेखक सुविन भट्टराई त्यसबेला अविवाहित थिए, जतिबेला मुना बर्तौला सुविनका पाठक थिइन् ।

आफ्नो आलेखको गुरुत्वबलले तान्दै मुनालाई सुविनसम्म ल्याइपुर्‍यायो । उनीहरु एकअर्काका प्रेमी-प्रेमिका भए । त्यसपछि पति-पत्नी । अहिले सुविन सुखमय दाम्पत्य जीवनमा रमाइरहेका छन् ।

युवापुस्ताले रुचाएका लेखक सुविनका पहिलो पाठक हुन्, मुना । जब कुनै कुरा लेख्छन्, मुनालाई सुनाउँछन् । मुनाले रमाइलो मानेपछि वा चित्त बुझाएपछि मात्र त्यो ‘ओके’ हुन्छ । अर्थात मुना नै सुविनले लेख्ने कुनैपनि लेखको पहिलो जाँचकी हुन् ।

सुविन र मुनाबीच केमेस्ट्री मिल्नुको अर्को कारण दुबै खुला छन् । आफुलाई मन लागेको कुरामा कुनै छेकबार नगर्ने । उनीहरु घरमा साथै हुन्छन्, बजारमा साथै, घुमफिरमा साथै । अर्थात दुबैलाई एकअर्काको सामिप्य पनि चाहिन्छ ।

उनीहरुले एकअर्काको लागि कुनै बन्देज लगाएका छैनन् । कुनै सीमा र परिधी निर्माण गरेका छैनन् । दुबै आ-आफ्नो मर्यादामा रहेर उन्मुक्त रमाउने गर्छन् ।

कहिले काहीँ चाहि सुविनलाई झ्वांक चल्छ । यतिबेला उनलाई अगाडि भएको ल्यापटपट फुटाउन मन लाग्छ, हातमा भएको गिलास फुटाउन मन लाग्छ । तर, जसै उनको रिसको पारो बढ्छ, मुना सम्हाल्न थाल्छिन् । एउटाले घुर्काउदा अर्कोले सम्हाल्ने ।

सुविनले अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘तर हाम्रो रिस धेरै समय टिक्दैन’ सुविन भन्छन्, ‘दुबै रिसाएर नबोल्दा साह्रै पट्यारलाग्छ ।’ बोलिरहनुपर्ने, छिल्लिइरहनुपर्ने, जोक गरिरहनुपर्ने सुविनलाई पत्नी चुपचाप बसेको मन पर्दैन ।

सुविनलाई आफ्नो कोठा, विछ्यौना, लुगाफाटो, पुस्तक, डायरी सबै चिरिच्याट्ट हुनुपर्छ । व्यवस्थित हुनुपर्छ । मुनालाई पनि त्यस्तै चाहिन्छ । बेडकभरको रंगदेखि फिल्मसम्ममा उनीहरुको मत मिल्छ ।

सुविन-मुनाको सवल पक्ष

दुबैले एकअर्कालाई स्वतन्त्र रुपमा स्विकारेका छन् । दुबैको बानी करिब मिल्दो छ । उनीहरु एकथा खान्छन्, एकसाथ रमाउँछन्, एकसाथ सिनेमा हेर्न जान्छन् ।

दुबै घुमफिरमा मस्त रमाउँछन् । अनावश्यक हस्तक्षेप गर्दैनन् । अर्को कुरा उनीहरुलाई नौंटकी वा कृतिम माया मन पर्दैन । प्राकृतिक जीवनशैली मन पराउँछन् । सुविनको लेखनमा मुनाले कुनै न कुनै रुपमा साथ र सहकार्य गरिरहेकी हुन्छिन् ।

मनमौजी जोडीः निश्चल र स्वस्तिमा

निर्देशक निश्चल वस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दुबै अहिलेका चल्तापूर्जा जोडी हुन् । निश्चल फिल्म मेकिङमा बढी लगाव राख्छन् र स्वस्तिमा अभिनयमा । आखिर जे भएपनि दुबै एकै क्षेत्रमा छन् । यस हिसाबले पनि उनीहरुबीच अच्छा तालमेल मिल्ने गर्छ ।

पछिल्लो समय दुबै आइटम गीतमा पनि देखिदै आएका छन् । एकपटक अनलाइनखबरसँग कुरा गर्दै निश्चलले भनेका थिए, ‘घरमा मलाई स्वस्तिमाले नचाउँछिन् ।’ त्यसो त निश्चल निर्देशन, अभियन मात्र होइन, गायनमा पनि दख्खल राख्छन् । उनमा नृत्यको भोक चाहि स्वस्तिमाले जगाइदिएको हो ।

निश्चल भन्छन्,  ‘उनले नाच्न सिकाउने त होइन, तर नाचेर देखाइस्यो न, नाचेर देखाइस्यो न भन्दै जिस्काइरहेकी हुन्छिन् ।’

आखिरमा निश्चललाई करै लाग्छ । एक राउन्ड नाचेर देखिइदिछन् । निश्चललाई लाग्छ, ‘बुढी खुसी हुन्छे भने किन ननाच्ने ?’

घरमा हुँदा उनीहरु पारिवारिक जीवनमै रमाउँछन् । काम वा व्यवसायिक कुरा त्यती हुँदैन । फिल्म, स्क्रिप्ट, अभिनयको कुरामा त्यती छलफल पनि हुँदैन । बरु आ-आफ्नै धुनमा रमाउँछन् । पछिल्लो समय त दुबै एकसाथ भेट हुन पनि गाह्रो भइरहेको उनीहरुको भनाई छ । दुबै आ-आफ्नो काममा व्यस्त हुने हुँदा घरमा भेट दुर्लभ हुँदै गएको छ ।

केही समयअघि स्वस्तिमाले अनलाइनखबरसँग कुरा गर्दै भनेकी थिइन्, ‘हामीबीच खासै एन्टी नेचर छैन । दुबै उस्तै छौ । दुबैले घर वा कोठा जतिसुकै लथालिंग भए पनि चासो नराख्ने । हाम्रो कोठा व्यवस्थित, चिटिक्क वा सबै कुरा मिलेको हुँदैन । सबै भद्रगोल हुन्छ । लथालिंग हुन्छ । कुनै कुरा मिलाएर राख्ने न मन हुन्छ, न फुर्सद ।’

उनीहरु दुबै खानामा सौखिन छैनन् । घरमा तामझाम रुचाउँदैनन् । काममा बढी केन्दि्रत हुँदा दुबैले अएकअर्कालाई समेत भुल्छन् । कहिले त हप्तौपछि मात्र भेट हुन्छ । यद्यपी एकअर्काको पेशा र अवस्थालाई उनीहरुले बुझेका छन् । त्यही कारण उनीहरुबीच असमझदारी हुँदैन । झै झगडा हुँदैन ।

स्वस्तिमा र निश्चलको सवल पक्ष

दुबैले एकअर्काको काम र त्यसको प्रकृतिलाई बुझेका छन् । त्यही कारण उनीहरुले आफ्नो काममा स्वतन्त्रपूर्वक अगाडि बढ्ने अनुकुलता मिलेको छ । दुबै एकै क्षेत्रका भएकाले पनि काममा सहयोग र सहकार्य हुन्छ ।

उनीहरु आफ्नो करियरमा बढी केन्दि्रत छन् । त्यही भएर दुबैले एकअर्कालाई पारिवारिक जीवनमा अल्झाउन खोज्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment