Comments Add Comment

भारतमा दोस्रो चरणको मतदान जारी, एक हजार ६ सय ४४ उम्मेदवार मैदानमा

५ वैशाख, काठमाडाैं । भारतमा लोकसभा चुनावको दोस्रो चरण अन्तरगत बिहीबार देशभरका १२ राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भइरहेको छ । आजको मतदानबाट ९६ वटा लोभसभा सिटहरुको फैसला हुनेछ ।

दोस्रो चरणमा आसाम, बिहार छत्तिसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, मुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका सिटहरुमा मतदान भइरहेको छ ।

तमिलनाडु

तमिलनाडुमा कुल ३९ सिटहरु छन् । तर बिहिबार ३८ सिटमा मात्रै मतदान भइरहेको छ । यहाँको भेल्लोरमा पनि दोस्रो चरणमा मतदान हुने कार्यक्रम थियो, तर निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले यहाँको चुनाव रद्द गरिदिएका छन् ।

डीएमकेका नेताहरुबाट ठूलो परिमाणमा नक्कली मतपत्र बरामद भएपछि आयोगले राष्ट्रपति रामनाथ कोविंदसमक्ष निर्वाचन रद्द गर्न सिफारिस गरेको थियो । साथै मतदाताहरुलाई प्रभावित पार्न पैसाको चलखेल भएको पनि आयोगले जनाएको छ । हाल स्थगित सिटमा १८ अप्रिलमा मतदान हुनेछ ।

तमिलनाडुमा शिवगंगाबाट पूर्व अर्थमन्त्री पी चिदाम्बरमका छोरा कार्ति चिदाम्बरमको भाग्य परिक्षा हुँदैछ । यो क्षेत्रमा पी चिदाम्बरमले सातपटक चुनाव जितिसकेका छन् । अघिल्लो पटक उनका छोरा यहाँबाट पराजित बनेका थिए ।

बिहार

बिहारमा लोकसभाका कुल ४० सिट छन् । पहलिो चरणमा बिहारका चार सिटमा मतदान भइसकेको छ भनृ दोस्रो चरणमा पाँच सिटहरुमा मतदान हुँदैछ । यी चार सिटहरु हुन् किशनगञ्ज, कटिहार, पूर्णिया, भागलपुर र बांका ।

कटिहार र किशनगञ्जमा सबैको नजर अडेको छ । कटिहारमा कांग्रेसका तारिक अनवर मैदानमा छन् । तारिकले हालै एनसीपी छोडेर कांग्रेसमा प्रवेश गरेका थिए ।

किशनगञ्जमा लगभग ६७ प्रतिशत मुस्लिम जनता छन् । यस क्षेत्रलाई कांग्रेसको गढ मानिन्छ । तर, पहिलोपटक असदउद्दीन ओवैसीको पार्टी अल इन्डिया मजलिस इत्तेहादुल मुस्लिमीनका उम्मेदवारले कांग्रेसलाई टक्कर दिएका छन् । यदि ओवैसीको पार्टीले यो सीटमा जित हासिल गरेको खण्डमा हैदराबादभन्दा बाहिर लोकसभामा यो उनको पहिलो जित हुनेछ ।

सबै क्षेत्रमा भएका मतदानको मतगणना भने सातौं चरणको मतदानपछि २३ मेमा प्रारम्भ हुनेछ । अघिल्लो बिहिबार पहिलो चरणमा १८ राज्य तथा दुई केन्द्र शासित प्रदेशहरुमा ९१ सिटमा मतदान भएको थियो । छिटपुट घटनाहरुलाई छोडेर मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । चुनावको प्रक्रिया ३९ दिनसम्म चल्नेछ ।

दोस्रो चरणमा कहाँ कहाँ मतदान ?

कुल सिट : ९५

आसाम : ५ सीट

बिहार : ५ सीट

छत्तीसगढ : ३ सीट

जम्मु–कश्मिर : २ सीट

कर्नाटक : १४ सीट

महाराष्ट्र : १० सीट

मणिपुर : १ सीट

ओडिशा : ५ सीट

पुद्दुचेरी : १ सीट

तमिलनाडु : ३८ सीट

उत्तर प्रदेश : ८ सीट

पश्चिम बंगाल : ३ सीट

केही रोचक तथ्य

– दोस्रो चरणमा १ हजार ६ सय ४४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

– सम्पूर्ण उम्मेदवारमध्ये २ सय ९ राष्ट्रिय पार्टीबाट, १०७ क्षेत्रीय पार्टीबाट, ३ सय ८६ मान्यता नपाएका पार्टीबाट र ८ सय ८८ जना स्वतन्त्र छन् ।

– २ सय ५१ जना उम्मेदवारले आफूमाथि गम्भीर आपराधिक मामलाको स्वघोषणा गरेका छन् ।

– ६९७ जना उम्मेदवारको शैक्षिक योग्यता ५ कक्षादेखि १२ कक्षाको बीचमा छ । ७ सय ५६ जनाले स्नातक वा सोभन्दा बढि पढेका छन् ।

– ३५ जना उम्मेदवार साक्षर मात्र छन् भने २६ जना निरक्षर छन् ।

– केवल ८ प्रतिशत महिला उम्मेदवार छन् । महिला उम्मेदवारको कुल संख्या १ सय २० छ ।

यी उम्मेदवार चर्चामा

दोस्रो चरणमा खडा भएका उम्मेदवारमध्ये भाजपाकी हेमा मालिनी चर्चामा छिन् । उनी एक जमानाकी प्रख्यात अभिनेत्री हुन् । उनले मथुराबाट उम्मेदवारी दिएकी छिन् । यसअघि उनले यही क्षेत्रबाट जित हासल गरेर सांसद बनेकी थिइन् । उनका विरुद्ध आरएलडीका कुँवर नरेन्द्र सिंह र कांग्रेसका महेश पाठक मैदानमा छन् ।

यस्तै, श्रीनगर सीटबाट नेसनल कन्फ्रेन्सका नेता फरुक अब्दुल्लाह चुनाव लडिरहेका छन् । यसैगरी कांग्रेसका उत्तर प्रदेश अध्यक्ष राज बब्रको फैसला पनि आज हुने छ । उनले फतेहपुर सीकरीबाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment