Comments Add Comment

कांग्रेस आईकी प्रवक्ता प्रियंका चतुर्वेदी शिवसेनामा

६ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव जारी रहँदा कांग्रेस आईकी केन्द्रीय प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन् । उनले बिहीबार राति कांग्रेस अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा बुझाएकी हुन् ।

चतुर्वेदीले पार्टीमा गुण्डाहरुलाई संरक्षण प्राप्त भएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । उनी आजै शिवसेना पार्टीमा प्रवेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शिवसेनाका प्रमुख उद्धव ठाकरेले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित पार्टीमा स्वागत गर्नेछन् ।

शुक्रबार बिहानै प्रियंकाले आफ्नो ट्विटर प्रोफाइलबाट ‘कांग्रेस प्रवक्ता’ हटाएकी छन् । उनले अब आफूलाई स्तम्भकार–ब्लगर–आमा भनेर चिनाएकी छन् ।

यसअघि १७ अप्रिलमा ट्विट गर्दै उनले आफ्नो पार्टीप्रति असन्तुष्टि सार्वजनिक गरेकी थिइन् । उनले मथुराका स्थानीय नेताहरुमाथि दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘जो व्यक्तिहरु मिहिनेत गरेर आफ्नो स्थान बनाइरहेका छन्, उनीहरुको ठाउँमा यस्ता व्यक्तिहरुलाई प्रोत्साहन मिलिरहेको छ । पार्टीका लागि मैले केयौं गाली र ढुंगा खाएँ । तर, त्यसका बाबजुद पार्टीमा रहेका नेताहरुले नै मलाई धम्की दिए । धम्की दिनेहरुलाई बिना कुनै कारवाही छोडिनु दुर्भाग्यपूर्ण छ ।’

केही समयदेखि प्रियंका कांग्रेसकी चर्चित नेतृ बनेकी थिइन् । टिभीमा हुने बहसहरुमा उनी कडिकडाउ रुपमा आफ्नो पार्टीको प्रतिरक्षा गर्नै गर्थिन् । उनको अभाव कांग्रेसलाई खट्किने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

प्रियंकाले उल्लेख गरेको घटना अघिल्लो सेप्टेम्बरतिरको हो । उत्तर प्रदेशको मथुरामा प्रियंका पार्टीको तर्फबाट पत्रकार सम्मेलन गर्न जाँदा केही स्थानीय कार्यकर्ताहरुले उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यसपछि सबैमाथि अनुशासनको कारवाही भएको थियो, तर पछि ज्योतिरादित्यको सिफारिसपछि सबैको कारवाही फुकुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment