Comments Add Comment

विराट क्षेत्र विकास विधेयक प्रदेशसभामा दर्ता

७ बैशाख, बिराटनगर । प्रदेश १ सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७५ प्रदेश सभामा दर्ता भएको छ ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत विकास आयोजना संचालन गर्ने उद्देश्यले सो विधेयक तयार पारिएको प्रदेश सरकारको दाबी छ ।

प्रदेश सरकार गठन भएको १४ महिनाको अवधिसमेत नाम र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले सुनसरीको इटहरीलाई भौगोलिक हिसाबमा केन्द्र भागमा राखेको छ ।

प्रदेश सरकारकाले जारी अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउने तयारी गरिरहेको छ । नाम र राजधानी तोक्ने तयारी भइरहेका बेला विराट क्षेत्रको विधेयकलाई राजधानीको मुद्दासँग जोडेर हेर्ने गरिएको छ ।

राजधानीका लागि धनकुटा, धरान, इटहरी र अस्थायी राजधानी विराटनगरले दाबी गरिरहेका छन् । राजधानीको मुद्दामा उठ्ने सम्भावित आवाजलाई मत्थर बनाउन प्रदेश सरकारले यस्तो योजना अघि सारेको हुनसक्ने अड्कलबाजी गरिएको छ ।

प्रतिपक्षको समर्थन

मुख्यमन्त्री शेरधन राई प्रदेश १ को अस्थायी राजधानी बिराटनगर रहेकोमा यसलाई विकेन्दि्रत गर्ने सोचमा देखिँदै आएका छन् ।

मुख्यमन्त्री राईले स्थायी राजधानी बिराटनगर भएपनि सरकारका संरचना भने केही मन्त्रालय र प्रदेश सभा सुनसरीको इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा रहने आशयले सार्बजनिक कार्यक्रममा आफ्नो मत राख्दै आएका छन् । प्रदेश सरकारले प्रस्ताव गरेको बृहत विराट क्षेत्रको अवधारणमा प्रतिपक्षले पनि समर्थन गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विकासको मोडल तयार पार्न सरकारले ल्याएको यो अवधारणा राम्रो रहेपनि यसको गलत मनसायबाट प्ररित हुन नहुने बताए ।

प्रमुख सचेतक कार्कीले भने, ‘जुन मनसायले यो अवधारणा सरकारले ल्याएको छ, त्यसमा प्रतिपक्षको साथ र समर्थन सधैं रहने छ, यदि राजधानी सार्ने बिषयसँग यसलाई जोडिन्छ भने प्रतिपक्षलाइ त्योे मान्य हुनेछैन, त्यसको सशक्त प्रतिकार हुन्छ ।’

विराट क्षेत्रमा १२ पालिका 

प्रदेश सरकारले तयार पारेको बृहत्तर विराट क्षेत्र गठनमा सुनसरीका सात र मोरङका पाँचवटा पालिका समेटिएका छन् । जसअनुसार मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका छन् ।

यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, बर्जु र गढी गाउँपालिका समेटिएका छन्  । क्षेत्रगत हिसाबले पनि यी सबै पालिकाको बीच भागमा इटहरी अवस्थित छ ।

उत्तरतर्फ धरान, दक्षिणमा दुहबी, गढी, बुढीगंगा र विराटनगर, पश्चिमतर्फ रामधुनी, पूर्वतर्फ सुन्दरहरैंचा तथा ग्रामथानले इटहरी घेरिएको छ ।

नेतृत्व र योग्यता

बहत्तर विराट क्षेत्र विकासका लागि बनेको विधेयकमा विराट क्षेत्र विकासको नेतृत्व तोकिएको मन्त्रालय र मन्त्रीले गर्नेछन् भने कार्यकारी नेतृत्व राजनीतिक नियुक्तिबाट हुनेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले स्थानीय तहको सीमा क्षेत्र निर्धारणका लागि प्रदेश सरकारले विज्ञको छुट्टै समिति निर्माण गर्ने बताए ।

उनले बृहत विराट क्षेत्र विकास क्षेत्रका लागि बिषय समूहको नेतृत्व स्नातक उत्तीर्ण गरी कम्तिमा वीस वर्षको अनुभव हासिल गरेको व्यक्तिको योग्यता तोकिएको छ ।

प्रदेश सरकारद्धारा प्रस्तावित बृहत विराट क्षेत्रलाई एकीकृत विकास आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको छ । जसका लागि ११ सदस्यीय एक समिति गठन गरिनेछ । त्यसको कार्यकारी निर्देशक राजनीतिक नियुक्तिबाट गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment