Comments Add Comment

झारखण्डको ‘आदर्श गाउँ’, जहाँ नेतालाई प्रवेश निषेध छ

८ वैशाख, काठमाडौं । भारतमा अहिले चुनावको सरगर्मी छ । जताततै बिभिन्न दलका झण्डा, उम्मेदवारका पोष्टर देखिन्छन् । तर यहाँको एउटा गाउँमा चुनावको कुनै रौनक छैन । त्यो गाउँ हो अलंकेरा । झारखण्ड प्रदेशअन्तर्गत गुमला जिल्लाको पालकोट खण्डको एउटा हिस्सा हो यो गाउँ । पूर्व विदेश राज्यमन्त्री र झारखण्डबाट राज्यसभाका सांसद एमजे अकबरलाई जन्माएको यो गाउँ सरकारी कागजातमा ‘आदर्श गाउँ’ कहलिएको छ ।

अलंकेरा गाउँको कुनै पनि घरका छतमा चुनावी झण्डा छैनन् । केही घरमा रातो-पहेंलो रंगवाला महाविरी झण्डा देखिन्छन् । यी झण्डामा हातमा पहाड र गदा लिएर हावामा उडिरहेका हनुमानको तस्वीर देखिन्छ । यसबाट प्रष्ट हुन्छ हालै यहाँ सार्वजनिक रामनवमी पूजा भएको छ ।

एम जे अकबर एक पटक यो गाउँमा आएका पनि थिए । त्यतिबेला उनले गाउँलेहरुसँग बिभिन्न वाचा गरे । उनीसँगै गाउँमा गएका सरकारी अधिकारीहरुले पनि होमा हो मिलाए । तर यहाँ ‘आदर्श गाउँ’ भनिने त्यस्तो कुनै पनि संकेत देखिँदैन ।

एमजे अकबर फर्किएपछि यहाँ उनको नाममा केही इँटा, सिमेन्टका बोरा, बालुवा, पर्खालमा पोत्ने पालिस र ग्रेनाइटका पत्थरका टुक्रा आए । यसबाट दुई वटा प्राथमिक विद्यालयको वरिपरि पर्खाल लगाइयो । एउटा पानीको धारा बनाइयो तर त्यसको टुटीबाट कहिल्लै पानी निस्किएन ।

गाउँमा बनाइएको धारो, तर यसको टुटीबाट कहिल्यै पानी आएन

पक्की संरचनाको माथि कालो रंगको पानी ट्यांकी छ । तल प्लास्टिकको सेतो धारो । यहाँ कालो रंगको ग्रेनाइटको पत्थरमा सुनौलो रंगले लेखिएको छ- यसको निर्माण एमजे अकबर सांसदको मद्दतमा गरिएको हो ।

यसबाहेक यहाँ एमजे अकबरको नामोनिशान छैन । त्यसैले गाउँलेहरु उनीप्रति रुष्ट छन् । उनीहरु भन्छन्- हामीलाई एमजे अकबरले मात्र होइन सबै सांसद र विधायकहरुले ठगेका छन् ।

यसबाटै रुष्ट गाउँलेहरुले गाउँको मुख्य सडकमा बार लगाएर राखेका छन् । त्यसमा लेखिएको छ- ‘नेताहरुलाई प्रवेश निषेध’ । प्रशासनको हस्तक्षेपछि यो बार हटाइएको छ तर गाउँलेहरु चुनाव बहिस्कार गर्ने कुरामा अडिग छन् ।

एमजे अकबरको नाममा राखिएको पानी ट्यांकी

सडक छैन, भोट पनि छैन

पालकोटबाट अलंकेरा गाउँको दुरी केबल सात किलोमिटर छ । तर कारबाट यहाँ पुग्न ४५ मिनेट लाग्छ । मोटरसाइकलमा आधा घण्टामा पुग्न सकिन्छ । यहाँको बाटोअनुसार सबैभन्दा सजिलो साइकलको सवारी हो । पालकोटबाट साइकल चढेर यहाँ आउन करिब एक घण्टा लाग्छ ।

तर, यात्रा जोखिमपूर्ण छ । किनभने यो बाटोमा लडेर साइकल र मोटरसाइकल चलाउने धेरै व्यक्तिका हात खुट्टा भाँचिएका छन् ।

गाउँका अलखनारायण सिंहका अनुसार धेरै वर्षदेखि सडकको हालत यस्तै छ । त्यसैले गाउँलेहरु भेला भएर निर्णय गरे- सडक बनाइँदैन भने भोट पनि दिइँदैन ।

उनले भने- अहिले हामीले सडकमा लगाइएको बार हटाएका छौं । किनभने पालकोटका सरकारी प्रतिनिधिले चुनावपछि सडक निर्माणको टेन्डर खोल्ने आश्वासन दिएका छन् ।

कुनै नेता आउँदैनन् 

अलंकेरा गाउँका बासिन्दा

एमजे अकबर यस्ता एक्ला जनप्रतिनिधि हुन् जो विगत १०-१२ वर्षपछि गाउँमा आएका थिए । यहाँ कुनै पनि उम्मेदवार भोट माग्न आउँदैनन् ।

करिब पाँच हजार जनसंख्या रहेको अलंकेरा गाउँ झारखण्डको खुन्टी लोकसभा क्षेत्रको हिस्सा हो । लोकसभाका पूर्वउपाध्यक्ष कडिया मुन्डा यहाँबाट पाँच पटक सांसद बने । तर गाउँलेहरुको गुनासो छ, उनले एकपटक पनि यो गाउँमा पाइला टेकेनन् ।

भाजपाले यसपटक उनलाई टिकट दिएको छैन । उनको सट्टा पूर्वमुख्यमन्त्री अर्जुन मुन्डा उम्मेदवार छन् ।

गाउँका छत्रपाल सिंह पेशाले शिक्षक हुन् । उनले भने, ‘सडक बिगि्रएका कारण यहाँ कुनै पनि नेता आउँदैनन् । उनीहरुका कार्यकर्ता आउँछन् र भोट मागेर फर्किन्छन् ।’

छत्रपाल सिंहले भने, ‘विगतको लोकसभा र विधानसभा चुनावको क्रममा यहाँ कुनै पनि उम्मेदवार भोट माग्न आएका थिएनन् । तर निर्मल कुमार बेसरा यस्ता अन्तिम जनप्रतिनिधि हुन्, जो विधायक भइसकेपछि यहाँ आएका थिए । यो पनि धेरै वर्ष अगाडिको कुरा हो । त्यसपछि एमजे अकबर यहाँ आए । यहाँका जनताले सधैं भोट दिँदै आएका थिए । तर यस पटक हामीले सडक बन्ने ग्यारेन्टी नभएसम्म भोट नदिने निर्णय गरेका छौं ।’

उनले भने, ‘म जवानीमा साइकिलिस्ट थिएँ । तर अहिले हिम्मत छैन । यो सडकमा धेरै पटक लडेर घाइते भएको छु । तपाईं आफैं भन्नुस् सडकविना विकास कसरी हुन्छ ?’

पिउने पानी छैन, बिहे पनि हुँदैन

५०० भन्दा बढी घरधुरी रहेको अलंकेरा गाउँमा ४०-५० परिवार राजपूत छन् । बाँकी घर उराव र मुन्डा आदिवासीका छन् ।

राजपूतहरुको दावी छ कि यहाँका आदिवासीहरु हामीले जसलाई भन्यो त्यसैलाई भोट दिन्छन् । यस्तो अवस्थामा उम्मेदवारहरु गाउँ-गाउँ घुम्ने झन्झट गर्दैनन् किनभने केबल दुई-चार राजपूत परिवारलाई भेटेर भोट माग्यो भने पूरै गाउँलेको भोट पाइन्थ्यो । तर, यसपटक भोट दिने विषयमा गाउँलेको मत बाझिएको छ । राजपूतमा पनि धेरै गुट बनेका छन् । आदिवासीले पनि आफ्ना कुरा राख्न थालेका छन् ।

गाउँका सिलास बेक मजदुरी गर्दछन् । उनी आदिवासी हुन् । मजदुरी गरेर आएको ज्यालाले परिवार पालिरहेका छन् । उनी भन्छन्, ‘सडक हाम्रो मुख्य समस्या हो । यदि यो बनेन भने भोट दिइन्न । किनभने हामीलाई थाहा छ भोट पाएपछि कुनै पनि नेता सडक बनाउन आउँदैनन् ।’

गाउँका किसान गिरधारी सिंहका अनुसार अलंकेरा गाउँमा न पिउने पानीको व्यवस्था छ न त सिंचाइको साधन । त्यसैले यहाँ केलब एक सिजमात्र खेती हुन्छ । आकाशे पानी र छेउँबाट बग्ने पिंजरा नदीको पानीमा निर्भर छन् किसान । यो नदी पनि गर्मी समयमा सुक्छ ।

यसै गाउँका नमन कुमार भारद्वाजले भने, ‘पिउने पानीका लागि गाउँलेहरु इनारको भर पर्दछन् । धेरैजसो हाते पम्प बिगि्रएका छन् । इनारको पानी पनि पिउनलायक छैन ।

रितेश कुमार सिंह २६ वर्षका भए । तर उनको बिहे भएको छैन । उनका अनुसार अभिभावकहरुले आफ्नी छोरी यो गाउँमा दिन मान्दैनन् । अभिभावकहरु ठान्छन् सडक राम्रो नभएकाले अलंकेरा गाउँमा बिहे गरेर छोरी पठाउनु ठीक छैन । त्यसैले यही उमेरका दर्जनौं युवक कुमार छन् ।

यसैबीच पालकोटका स्थानीय विकास अधिकारी शंकर एक्काले पालकोटबाट अलंकेरा हुँदै नागफेनी जाने २६ किलोमिटर लामो सडक निर्माणको प्रारुप तयार भइसकेको छ । तर चुनावको आचारसंहिताका कारण यसको घोषणा गरिएको छैन । चुनाव सकिनासाथ यसको काम सुरु हुनेछ ।

उनले भने, ‘त्यसैले मैले गाउँका केही मानिसलाई बोलाएर चुनाव बहिस्कार नगर्न आग्रह गरेको छु । आशा छ उनीहरुले मेरो कुरा मान्नेछन् ।’

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment