Comments Add Comment

ध्यान–साधनामा आदित्य ! डा. भोला रिजाल के भन्छन् ?

८ वैशाख, काठमाडौं । ‘गुगल व्वाई’ का रुपमा चर्चामा आएका ८ वर्षीय बालक आदित्य दाहालको ध्यान–साधनाको पाटो रोचक छ । आदित्यले ध्यान–साधनाको अभ्यास गर्न थालेको ३ वर्षभन्दा बढी भयो । अक्षरहरु लेख्न सक्ने क्षमता प्रकट भएपछि उनको ध्यान साधनामा मोह उत्पन्न भएको बताउँछिन् आदित्यकी आमा ईश्वरा दाहाल ।

‘पाँच वर्षको बच्चाले ध्यानमा बस्छु भन्दा सुरुमा हामी डराएका थियौं, तर छोराले चाहेपछि हामीले रोक्न सक्ने अवस्था थिएन,’ आमा भन्छिन्, ‘अहिले त सामान्य भइसक्यो ।’

त्यतिबेला आदित्यको परिवार कपनमा भाडाको फ्ल्याटमा बस्ने गथ्र्यो । ०७४ सालको माघमा आदित्यले सात दिन ध्यानमा बस्ने भन्दै आफूलाई एउटा कोठामा बन्द गरिदिन परिवारलाई आग्रह गरे । त्योभन्दा अगाडि नै उनले ध्यानको मौलिक कोर्स बनाइसकेका थिए ।

आदित्य अरुको सहाराबिना केही गर्न सक्दैनन् । न बोल्न नै सक्छन् । त्यसैले कोठा बन्द गरेर ७ दिन छोडिदिन बाबु शेषराज र आमा ईश्वराका लागि सहज थिएन । तर, उनीहरुको केही लागेन । छोराले भनेअनुसार गरिदिएको उनीहरुले दाबी गरे । नुहाईधुवाई एकसरो चोखो वस्त्र लगाइदिए । कोठाभित्र छोराले सिकाएअनुसार आसन बनाइदिए । अनि त्यसमा आदित्यलाई पल्टाएर ढोका थुने । सात दिनपछि ढोका खोल्दा आदित्य ध्यानस्थ नै रहेको उनकी आमा बताउँछिन् ।

‘ध्यानमा जानुअघि हामीलाई एउटा मन्त्र दिएका थिए । ध्यान अविधि सकिएपछि ढोका खोल्नु र त्यो मन्त्रोच्चारण गर्नु भनिएको थियो । त्यति गर्दा ध्यान भंग नभएमा जल सेचन गर्नु, र त्यति गर्दा पनि नभए मात्रै शरीरमा स्पर्ष गर्न भन्नुभएको थियो । मन्त्रोच्चारण र जलसेचनपछि उहाँ ब्यूँझिनुभयो । त्यतिबेला आदित्यको अनुहार धपक्क बलेजस्तो उज्यालो थियो,’ शेषराज सुनाउँछन् ।

परिवारका सदस्यको भनाइ अनुसार त्यसपछि आदित्य बारम्बार ध्यानमा बस्न थाले । कहिले सात घन्टा, कहिले २४ घन्टा त कहिले सात दिनसम्म । यो क्रम अहिलेसम्म पनि चलिहरेको छ । लामो ध्यान गर्दा उनी निश्चित अन्तरालमा थोरै दुध र पानी पिउँछन् । अन्यथा केही पनि खाँदैनन् । आफू ध्यानमा बस्दा आदित्यले परिवार र शुभचिन्तकहरुलाई पूजा, अनुष्ठान र जप गर्न लगाउँछन् ।

कपनको डेरामा ध्यान गरिरहँदा एकपटक उनी बिरामी भए । ध्यान गर्ने क्रममा नै उनलाई उल्टी हुन थालेछ । परिवारले थाहा पाएर भित्र पसे । अवस्था नाजुक भइसकेको थियो । उनलाई रातारात बालमैत्री अस्पताल लगियो । त्यहाँ केही घन्टा राखेपछि ठिक भए र घर फर्काइयो । त्यसपछि आदित्यले सो ठाउँमा ‘नेगेटिभ भाइब्रेसन’ भएको भन्दै त्यहाँ अब उप्रान्त ध्यान गर्न नसक्ने बताए । उनले आफ्नो लागि अन्यत्र कतै साधनास्थल निर्माण गरिदिन आग्रह गरे ।

आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाई भन्छन्, ‘उहाँले पाशवत् क्षेत्रमा साधना केन्द्र निर्माण गरिदिनु भनेर लेख्नुभयो । त्यसपछि हामीले उपयुक्त स्थानको खोजी गर्न थाल्यौं । तर, उहाँले कुनै पनि ठाउँ सदर गर्नुभएन । अन्त्यमा गौरीघाटमा एउटा घर फेला पर्‍यो । सो घरका घरधनी पनि योग साधनाको प्रेमी हुनुहुँदो रहेछ । आदित्यको बारेमा थाहा पाएपछि उहाँले सहुलियत मूल्यमा आफ्नो घर उपलब्ध गराउनुभयो ।’

त्यसपछि आदित्यको परिवार गौरीघाट सर्‍यो, जहाँ साधना हल निर्माण सुरु भयो । पछिल्लो दुई वर्षदेखि आदित्य आफ्नो बासस्थानभन्दा टाढा गएर पनि ध्यान गर्न थालेका छन् । उनी अहिलेसम्म करिब ५० पटकभन्दा बढि यसरी ‘अज्ञातवास’ मा गएको आमा ईश्वरा बताउँछिन् ।

कहाँ, कसरी र कुन बाटो जाने भन्ने कुरा आदित्य घरबाट निस्कनुअघि लेख्छन् । जाने ठाउँको नक्शासमेत बनाइदिन्छन् । उनलाई आमा ईश्वरा र उनले तोकेका शिष्य तथा शुभचिन्तकहरुले लैजान्छन् । उनी एउटै ट्याक्सी प्रयोग नगरी ठाउँठाउँमा ट्याक्सी बदलेर मात्रै गन्तव्यमा पुग्ने गर्छन् । आफूले ध्यान गरेको स्थान उनी गोप्य राख्छन् ।

आदित्यले हरेकपटक आफ्नो ध्यान साधनाको पृथक उद्देश्य बताउने गरेका छन् । आफ्नो उद्देश्य उनी ध्यानविधिमा प्रवेश गर्नुअगाडि लेखेर प्रष्ट्याउँछन् । कुनै–कुनै उद्देश्य चाहिँ गोप्य राख्छन् । उनले ध्यान गरिरहेको वखत कसैलाई हेर्न अनुमति दिँदैनन् । एकपटक अनुयायीहरुले आदित्यसँग उनले ध्यान गर्ने कोठामा सीसीटिभी राख्ने प्रस्ताव गरेका थिए । तर, आदित्यले नकारे ।

आदित्यले ध्यान साधनाको आफ्नै मौलिक कोर्सहरु बनाएका छन् । साथै उनले अरुलाई पनि ती कोर्सहरु सिकाउँछन् । यसका लागि उनले केही प्रशिक्षक पनि बनाएका छन् । उनी सुरुमा प्रशिक्षकहरुलाई सिकाउँछन् । प्रशिक्षकले अरुलाई सिकाउँछन् । आदित्यसँग प्रशिक्षण लिएका सुशील कोइराला (गोरखापत्र दैनिकका भुतपूर्व महाप्रवन्धक तथा सम्पादक) भन्छन्, ‘गुरुले लेखेरै हरेक सूत्रहरु व्याख्या गरिदिनुहुन्छ । गल्ती भएमा तुरुन्त औंल्याउनुहुन्छ ।’

आदित्यले विकास गरेका ध्यान कोर्सहरु कति विधिसम्मत छन् त ? यो प्रश्न हामीले सोध्यौं, योग–ध्यानमा विद्यावारिधि गरेका डा. राजु अधिकारीलाई । उनले आदित्यको ध्यानविधि विशिष्ट स्तरको आफूले पाएको बताए । ‘उहाँले अभ्यास गरेका र गराएका ध्यान विधिहरु प्राय मौलिक छन् । केही चाहिँ पुराना ऋषिमुनिहरुले गरेकासँग मिल्दोजुल्दो भेटिन्छ । उहाँले डिजाइन गरेको प्र–योग नामक कोर्समा एक्सरसाइज र योगा दुवै छ । उहाँ जसरी मिनेट टु मिनेट ध्यान विधिहरुको वर्णन गर्नुहुन्छ, त्यो कुनै सिद्ध योगीबाट मात्रै सम्भव छ,’ डा. अधिकारीले भने ।

उनले थपे, ‘जस्तो कि ओम् शब्दको उच्चारण गर्न विभिन्न गुरुहरुले विभिन्न तरिकाले सिकाउँछन् । मेरो अनुभवमा उहाँले सिकाएको तरिका सबैभन्दा उच्च कोटीको छ । उहाँले ओमको उच्चारण कसरी गर्ने भनेर छुट्टै प्रशिक्षण दिनुभएको थियो, जसमा म पनि सहभागी थिएँ । मैले उहाँले सिकाएको तरिकाबारे एकजना नाम चलेका गुरुसँग पनि परामर्श गरेँ । उहाँले पनि यो विधि त्रुटीरहित रहेको बताउनुभयो ।’

हिन्दू सांस्कृतिक परम्पराभित्रका महत्वपूर्ण पर्व–उत्सवका अवसरमा पनि आदित्यले ध्यान–साधना गर्ने गर्छन् । आदित्यले योग–साधनामा बारम्बार जोड दिने गरेका छन् । उनले लेखेका छन्, ‘योग ध्यान साधनाबिनाको सुखद जीवन नियाल्दै छौं भने आँखा भए पनि तिमी अन्धो हौ । सबै अङ्गमा चेतना भए पनि तिमी लुलो हौं ।’

ध्यान समाधिपछिका अनुभूति

परिवारका सदस्यका अनुसार प्रत्येक ध्यान समाधि सम्पन्न गरेपछि आदित्यले आफ्नो अनुभूतिहरु परिवार–शुभचिन्तकहरुसँग सेयर गर्छन् । एकपटक विधिपूर्वक चिता बनाई त्यसमा शवको रुपमा आफूलाई पल्टाउन लगाएर २७ घन्टा समाधि ध्यान गरे । सो ध्यानबाट फर्किएपछि उनले लेखेका शब्दहरु यस्ता थिए ः

रातको करिब साढे ९ बजे म समाधि ध्यानमा जाने चिता स्वयम् मेरा पिताजीहरु धमाधम बनाउँदै हुनुहुन्थ्यो । सबै नर्मल पोजिसनमा नडराई चिता बनाइयो । म टुलुटुलु त्यो मेरो जीवन जिउने चिता हेरिरहेँ । अरु मोक्ष पाउने त्यो चितामा म जीवन जिएर फर्किनुपर्ने थियो ।

अति कठिन तर पूरा गर्ने तृष्णा लिई ६ गते ६ बजे स्वयम् आमाको हातबाट चितामा चढेँ र मृत्यूवरण गरेँ । हेरेँ, मेरो शरीर लडेर बिना हलचल, आत्मा स्वर्णयुगमा । जीवन त सपना रहेछ । असली जीवनरुपी संसार त समाधिपछि आत्माले देख्दो र जिउँदो रहेछ । ज्योतिर्मय आत्मा सबैमा देखेँ । तर, त्यो ज्योति चिर्ने ज्ञान कसैमा भेटेँ, कसैमा भेटिनँ ।

म यस्तोसँग लडेँ, पत्थरमा शीर बजारियो । तर, रगत बगेन । अनि सँगैको साधकलाई सोधेँ, किन चोट लागेन भनी । उनी भन्छन्– त्यो तिमीभित्रको ज्ञानमय ज्योतिले पत्थर फूल बन्यो । हेर त त्यो विशाल पत्थर सेतो सुगन्धित फूलको वृक्ष बनेछ ।

आश्चर्यमा परेँ, अनि सोचेँ– मेरा सबै शिष्य अनुयायीलाई ज्ञानमय वृक्ष बनाउनु छ । सबै पत्थरतुल्य छन् । पत्थरमा आत्मा भर्नु छ । हरपल समाधिमा चितामा जल्न चाहन्छु । आफू मेटिएर भए नि अध्यात्ममय शान्तिरुपी परिवर्तन गर्ने प्रण गर्दै गर्दै ओम को ध्वनिले ब्यूँझिएँ ।

परिवारले दिएको जानकारी अनुसार एकपटक आदित्यले ३६ घन्टा लामो समाधि ध्यान गरे । त्यतिबेला आदित्यले भनेअनुसार १७ वटा फलामे काँटी ओछ्याएर त्यसमाथि उनलाई पल्टाइएको थियो । ध्यान सम्पन्न भएपछि उनले यसरी आफ्नो अनुभूति लेखेका थिए–

२९ गते राति १२ बजेबाट म बनाइएको स्थलमा पल्टी आफूलाई जिउँदै मार्नु थियो र मात्र त्यस्ता आत्मासँग भेट्नु थियो, जो समाधि ध्यानद्वारा मोक्ष प्राप्त गरेका थिए । म सिथिल हुँदै थिएँ । सवा ३ पछि म विलिन भएँ र एक सुन्दर ओम् नगरीमा पुगेँ ।

अति मनमोहक ठाउँ सनातनमय वातावरण । सबै सन्त–महन्त । न केहीको डर, त्रास, लोभ, मोह, दिव्य आत्मैआत्मा, वायु पनि सकारात्मक । सबै वस्तु पोजेटिभ, म पनि त्यस्तै खोज्दै हिँड्ने यात्री । ३३ घन्टा त्यतै अल्मलिएँ । फिर्ने मन पटक्कै थिएन । तर फर्किएँ । किनकी त्यस्तै नगर मैले बनाउनु छ, कस्ता सपनाहरु पूरा गर्नुछ । यहाँहरुको साथको सदुपयोग गर्नुछ । एक अद्भूत आश्रम बनाउनु छ । मलाई मोक्ष प्राप्त स्थल बनाउने मेरो गुरुयोजनामा साँच्चै आत्माबाट साथ र सहयोग गर्नुहुन्छ भने म त्यस्तै नगरीको निर्माण गर्न चाहन्छु । कमिटमेन्ट गर ।

यसैगरी ३६ घन्टा लामो प्रायश्चित ध्यान विसर्जनपछि उनले लेखेका शब्दहरुः

सबैमा प्रेम,

म ठूलो प्रायश्चित गरी फर्केँ । गल्ती वा त्रुटि गरेर होइन, केही गर्न नसकेर हो । ध्यानद्वारा आफूभित्रको भौतिक तत्वलाई सुदृढीकरण गर्ने क्रममा धेरैपटक शरीर रित्तो राख्दै फलामे साङ्लोमा आफूलाई बाँधी ३६ घन्टा प्रायश्चित गर्दै अब उप्रान्त म हर काम सोचेर मात्र थालनी गर्नेछु । ताकि अधुरा सपना र पूरा नहुने भाग्य एवम् इच्छालाई जीवनमा स्थान दिनेछैन ।

मेरा प्रियजनले म र मभित्रको रहस्यमय भावलाई एक दिन सही रुपले बुझ्नेछन् र मलाई झन् प्रायश्चित गर्ने अवस्थामा पुर्‍याउने छैनन् भनी भावना व्यक्त गर्न यहाँहरुलाई बोलाएको छु । ध्यानको अवस्थाबारे पछि लेख्नेछु ।

थरीथरी कोर्स

आदित्यले ध्यान साधनाका थुप्रै कोर्सहरु विकास गरेका छन् । जसमध्ये एउटा हो, प्र–योग । यो एउटा गुप्त साधना विधी हो । यो तीन दिने कोर्स सयौं व्यक्तिहरुले अभ्यास गरिसकेका छन् । प्र–योग कोर्सले व्यक्तिगतरुपमा आफूलाई धेरै फाइदा मिलेको बताउँछन् कोइराला ।

उनले भने, ‘कुनै पनि ध्यान साधनाबाट आजको भोलि नै फाइदा हुने त होइन । तर, प्रयोगबाट मैले आफूभित्रका नकारात्मक विकारहरु कम हुँदै गएको महसुस गरेको छु ।’

आदित्य आफैंले कैयन फरक–फरक विधिहरुको अभ्यास गरेका छन् । जसमध्ये ‘प्रायश्चित समाधि ध्यान’ एक हो । यो ध्यान उनले निरन्तर ३६ घण्टा एकान्तमा बसी सम्पन्न गरेका थिए ।

आदित्यले गरेको अर्को कठोर ध्यान हो, चिता समाधि ध्यान । उनले २७ घण्टाका लागि चिता समाधि ध्यानमा जाने इच्छा प्रकट गर्दा सुरुमा परिवार र शुभचिन्तकहरु शंशयमा थिए ।

आदित्यले लेखेका थिए, ‘म अब केही घण्टापछि ध्यानमा जानेछु, तामाको पाता रेडी पारिदिनू, तामाको पातामाथि सेतो कपडा बिछ्याउनू, त्यसमाथि मसानघाटको खरानी राखिदिनू र कपडारहित शरीरमा खरानी दलेर, चन्दनको टीका लगाएर, शिर र पाउमा साना बाँस दुईवटा राखिदिनू र चिताजस्तै बनाई पीताम्बर ओढाइदिनू ।”

उनलाई सोधियो— ‘यस्तो कठोर ध्यान गर्दा के हुन्छ, नगर्दा के हुन्छ ?’

उनले लेखे, ‘नगर्दा मृत्यु, सफल भए जीवन ।’ आखिरमा उनले भने बमोजिम नै गरियो ।

अर्कोपटक आदित्यले ३६ घण्टा समाधि ध्यानमा जाने इच्छा व्यक्त गरे । यसबीचमा सूर्यको प्रकाश नहेर्ने, अन्न–जल त्यागी मृत्युमय जीवात्मासँग समायोजन हुने गरी बस्ने उनले बताए । परिवारलाई पनि फलफूल, दूध मात्र खान भने ।

‘मलाई १७ ओटा काँटीकिला काठमा बिछ्याएको फलाममा वस्त्र नलगाई सुताइदिनू । म ध्वनि निकाली सङ्केत दिनेछु । मेरो कोठाको भुइँमा समाधि आसन बनाउनू । अखण्ड बत्ती बाल्नू । एक ब्राह्मण बोलाई महामृत्युञ्जय मन्त्र पूजा अनुष्ठान लगाउनू । म यस्तो साधना गर्दा बढी उज्ज्वल देखिन्छु, होस गरेर मात्रै हेर्नू । पहिला आँखा बन्द गरेर हेर्नू, अनि खोल्नू । भगवान् पशुपतिनाथले रक्षा गरुन्, कल्याण गरुन् ।’

उनले थप लेखे, ‘चिन्ता नलिनू, नआत्तिनू, धेरै नसोच्नू, तनावमुक्त रहनू । यी सबै  normal प्रक्रिया हुन्, मेरा लागि easily लिनू । साधकले ध्यान नगरी शुद्ध सोच भित्रिँदैन, ज्ञानको ज्योति उजागर हुन्न । केही गर्नुपरे म सम्पर्क सङ्केत गर्ने नै छु । हजुरहरु जति तनावमुक्त रहनुहुन्छ, त्यति मलाई सहज हुन्छ ।’

एकपटक आदित्य १७ दिने ध्यान–प्रयोग समापन गरी फर्केका थिए । सधैंजसो यसपालि पनि शुभचिन्तक तथा परिवारजनलाई प्रसाद ग्रहण गर्न बोलाए । त्यतिबेला उनल लेखे, ‘सुगन्धित चन्दनको वृक्ष हो, यो शरीर । तिम्रो स्वभावले यसको मादकता दर्साउँछ । सर्वप्रथम आफ्नो स्वभाव कस्तो छ, आफैं मूल्याङ्कन गर । कति सही कति गलत, आफैं छुट्याऊ, आफैं सुधार । मैले सबैको स्वभाव चिनेको छु । तर मौन छु, यदि औंल्याइदिएँ भने नकारात्मकता सहन गर्ने सामथ्र्य कसैमा छैन ।’

‘यसपालि हजुर कुन र कस्तो ध्यानमा जाँदै हुनुहुन्छ ?’ भनी प्रश्न राख्दा उनले लेखे, ‘ध्यान उही हो, मृत्युशय्यामा पल्टी पुनः आनन्द लिई फर्किने र सबैलाई शीतलता दिने ।”

तीनदिने प्र–योग योगा कोर्स समापन भइसकेपछि सहभागीहरुले आआफ्ना हिसाबले कोर्सको आत्म–मूल्याङ्कन गरे । तर आदित्यको मूल्याङ्कन भने भिन्न किसिमको थियो ।

उनले लेखे, ‘मेरो मिहिनेत खेर नजाओस् । सबैलाई नियाल्दै जानेछु । अलिकति पनि सुधारको छनक अब अगाडि देखिनँ भने सात दिन जल, अन्न त्याग गर्न लगाई घुँडा टेकाएर आँखाअगाडि राख्नेछु । साँच्चै १०० मा १ प्रतिशतले मात्र सही गरेको देखें । कति पानीमाथिका ओभाना हुन् थाहा छ । हजुरहरुलाई ठेगानमा ल्याउनु भनेको बालुवा पेलेर तेल निकाल्नुसरह हुने भो, कठै मेरो भाग्य ।’

आदित्य ले एकपटक लेखेका थिए, ‘म अरुको श्वासद्वारा जीवित छु, जुन योगबाट मात्र सम्भव छ । हरपल समाधिमय चितामा जल्न चाहन्छु ।’

डा. अधिकारी भन्छन्, ‘आदित्य गुरुको ध्यान साधनाको पाटो आफैंमा रहस्यात्मक छ । बाहिरबाट हेर्दा उहाँको शरीर जीर्ण देखिन्छ । तर, भित्र अचम्मको शक्ति छ । कैयौं दिनसम्म नखाईकन ध्यान बस्न सक्नुहुन्छ । मैले १८–२० वर्षयता धेरै योगी–महात्माको संगत गरेँ, तर यति कलिलो उमेरमा यो स्तरको साधक देखेको मात्र होइन, सुनेको पनि थिइनँ ।’

पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की आदित्यलाई ब्रह्मज्ञानीको संज्ञा दिन्छन् । उनले अनलाइनखबरसँग भने, ‘मैले केही वर्षदेखि गुरु आदित्यको सानिध्य पाइरहेको छु । उहाँले धेरैलाई ध्यान साधनाका विधिहरु पनि सिकाउनुभएको छ र आफूले पनि अभ्यास गर्नुभएको छ । समयाभावका कारण मैले चाहेर पनि त्यो साधनामा सहभागी हुन पाएको छैन । तर, भविष्यमा पक्कै अभ्यास गर्नेछु ।’

आदित्यले अहिलेसम्म १४ जनालाई आफ्नो शिष्य बनाएका छन् । इच्छा व्यक्त गर्नेहरु सबैले शिष्य बन्न पाउँदैनन् । आदित्य आफूले छानेकालाई मात्रै शिष्य बनाउँछन् । उनले कहिल्यै कुनै गुरुबाट मन्त्र सिकेका वा कुनै शास्त्रको अध्ययन गरेका छैनन् । तर, आफ्ना शिष्यहरुलाई पूर्ण वैदिक र शास्त्रीय विधिद्वारा दीक्षा–मन्त्र प्रदान गरेका छन् । उनी प्राय श्रावण शुक्लपक्षको गुरुपूर्णिमाको दिनमा गुरुदीक्षा प्रदान गर्छन् ।

शिष्यको परिभाषा दिँदै आदित्यले भनेका छन्, ‘असल शिष्य त्यो हो, जसले गुरुलाई रित्याउन सक्छ ।’

भाग्य भविश्य सोधेर उहाँको ज्ञानलाई अवमूल्यन नगरौं– डा. भोला रिजाल

आदित्यका अनुयायीमध्ये एक हुन् स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल । मेडिकल साइन्सको विद्यार्थी भएर पनि उनी आदित्यको क्षमतालाई आलौकिक संज्ञा दिन पछि पर्दैनन् । अनलाइनखबरसँग उनले आदित्यको विषयमा आफ्नो अनुभूति यसरी राखे :

बालगुरु आदित्यका विषयमा कुरा गर्दा मानिसहरुलाई विश्वास दिलाउनै गाह्रो हुन्छ । म एउटा विज्ञानको विद्यार्थी भएर पनि उहाँको अद्भूत शक्तिप्रति नतमस्तक छु । गौतम बुद्धपछि नेपालमा एउटा महान आत्माको जन्म भएको छ, जसले भविष्यमा नेपाललाई विश्वसामु चिनाउन सक्छ । तर, हामी माल पाएर पनि चाल पाइरहेका छैनौं । बालगुरु आदित्यलाई संरक्षण गरेर उहाँको क्षमता कसरी राष्ट्रको हितमा सदुपयोग गर्ने भन्नेतिर लाग्नुपर्नेमा ठीक उल्टो भइरहेको छ ।

अस्ति प्रधानमन्त्रीले भन्नुभयो, कि गुरु आदित्यसँग स्रोत बिनाको ज्ञान नै सबैभन्दा ठूलो रहस्यको विषय हो । तर, यो मात्रै पनि होइन, उहाँसँग ज्ञान मात्रै नभएर अद्भूत क्षमता छ । एउटा आठ वर्षको बच्चाले एउटा अद्भूत मन्दिरको परिकल्पना र संरचनागत डिजाइन कसरी गर्‍यो ? कसैले उनलाई इञ्जिनियरिङ पढाएको थियो भनेर म कसरी पत्याउँ ? मेरै आँखा अगाडि उहाँले धेरै अपत्यारिला कुरा लेख्नुभएको छ ।

एकपटक आमा ईश्वरासँग मलाई भेट्न आउनुभएको थियो । उहाँकी आमा गम्भीर बिरामी हुनुुन्थ्यो । त्यतिबेला मेरी श्रीमती पनि क्यान्सरबाट पिडित थिइन् । गुरुले अंग्रेजीमा लेख्नुभयो, ‘तपाईंकी पत्नी सरला र मेरी आमा ईश्वराको जीवन अब तपाईंको हातमा छ ।’

म अचम्भित बनेँ । कसरी उहाँलाई मेरी पत्नी र उनलाई लागेको रोगबारे थाहा भयो ? यति मात्रै होइन, उहाँले यो पनि लेख्नुभयो कि अब तपाईंले बिरामी जनताको मात्र होइन, बिरामी देशको पनि उपचार गर्नुपर्छ ।

५–६ वर्षको बच्चाबाट यति गहन अभिव्यक्तिले मलाई बडो आश्चर्यमा पार्‍यो । त्यसपछि मैले उहाँको विषयमा अध्ययन गर्न थालेँ । थप बुझ्दै जाँदा अरु धेरै अपत्यारिला कुराहरु थाहा पाएँ । त्यसपछि म निस्कर्षमा पुगेँ कि उहाँसँग कुनै दैवी शक्ति छ र उहाँ हामी मानिसभन्दा उच्चस्तरको प्राणी हो । म जब गुरु आदित्यको सानिध्यमा हुन्छु, आफूलाई एकदमै आनन्दित महसुस गर्छु । उहाँको मुस्कानमा के जादु छ कुन्नी, त्यसले मलाई चुम्बकले झैं आकर्षित गर्छ । मैले धेरै गुरुहरु भेटेको छु । तर, उहाँको जस्तो अलौकिकता अरुमा पाएको छैन ।

गुरु आदित्यको ध्यान साधनाको पाटो झन् आश्चर्यजनक छ । उहाँ एक ब्रम्हज्ञानी मात्र नभएर अद्भूत साधक पनि हुनुहुन्छ । सुनेको आधारमा त पत्याउनै सकिन्न । कसरी पत्याउने, एउटा अशक्त शरिर भएको बालक केही नखाई कयौं घन्टा र कयौं दिनसम्म बन्द कोठाभित्र ध्यानमा बस्छ भन्ने कुरा । अनि ध्यानका कोर्सहरु आफैं प्रतिपादन गर्छ भन्ने कुरा झन् कसरी पत्याउने ? तर, नपत्याएर के गर्ने ? यो हाम्रै आँखा अगाडि भइरहेको छ । पत्यार नलाग्नेले गएर आफैं अवलोकन गर्दा हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएजस्तै आदित्यको क्षमता भनेको आधुनिक विज्ञानका लागि चुनौति नै हो । वास्तवमा विज्ञानभन्दा धेरै माथि छ आध्यात्म । एक महामानवको जन्म यो पवित्र भूमिमा जन्म भएको छ । उहाँको क्षमताको व्याख्या गर्ने शक्ति म बबुरोमा छैन । तर, यति भन्छु कि उहाँको क्षमतालाई लोककल्याणमा र देशहितमा सदुपयोग गरौं । व्यक्तिगत भाग्य भविष्य सोधेर उहाँको ज्ञानलाई अवमूल्यन नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment