Comments Add Comment

रिना मृत्यु प्रकरणः बस्नेतलाई बारम्बार फोन गर्ने को थिए ?

८ वैशाख, विराटनगर । साइमन बस्नेतले आफूसँगै सुतेकी ममी रिना बस्नेतको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाए । २९ वर्षीया रिनाको शव सडकमा नङ्ग अवस्थामा भेटिएको थियो, जसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साइमनका अनुसार बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् । एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति मात्र रिना र उनले कुराकानी भएको थियो ।

बाबाले छिट्टै आउने कुरा भएको थियो । तर, त्यही रात रिनाको शंकास्पद मृत्यु भएको छ ।

छोराले बताएअनुसार २९ वर्षीया रिना शनिबार बर्थ डे पार्टीमा सहभागी भएकी थिइन् । त्यसपछि राति ९ बजेतिर पथरी बजारमा आयोजित कन्सर्ट हेर्न गएकी थिइन् ।

राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् ।  १२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो उनलाई थाहा छैन ।

मृतकका छोरा साइमन

भोलिपल्ट आमा रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएको थियो ।

प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ ।

तर, परिवार भने यसलाई मान्न तयार छैनन् । जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताए ।

‘एक दुई वटा रक्सीको बोतल देखेको भएर मदिरा पिएर लडेर मर्‍यो भन्न मिल्छ ?’ उनले भने, ‘तीन तलामाथि बाट निर्वश्त्र लडेको भए शरीरमा किन चोट लागेन ?’

छोरा साइमनका अनुसार ममी रिना, कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।

शनिबार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए । मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।

परिवारका सदस्यहरु रिनाको लडेर मृत्यु भएको नभई हत्या भएको हुनसक्ने बताउँछन् ।

प्रहरीले दुर्घटना हुनसक्ने बताएको छ । प्रहरी स्रोतकाअनुसार सामान्यतया हत्याका घटनामा संघर्षका संकेतहरु हुन्छन् तर, रिनाको शवमा त्यस्तो केही भेटिएको छैन ।

भित्री चोट भए पोष्टमार्टम रिपोर्टमा देखिने प्रहरी बताउँछ । मापसे गरेको र शौचालय जाने तेस्रो तलाको पर्खाल २.५ फिट अग्लो भएका कारण दुर्घटना भएको हो कि भन्ने शंका गर्ने अवस्था रहेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक मनोज केसी रिनाको शवको अवस्था हेर्दा माथिबाट कसैले फालेको भन्दापनि आफैं लडेको हुन सक्ने बताउँछन् ।

छोरासँगै बस्दै आएकी रिना पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी थिइन् ।

षडराजसँग मिल्दोजुल्दो घटना


पथरीमा १६ फागुनमा पनि यस्तै घटना भएको थियो । पथरी शनिश्चरे-१ स्थित सिक्का बार एण्ड लञ्च अगाडी २६ वषर्ीय षडराज तामाङको शव भेटिएको थियो ।

षडराज र रिनाको शव उस्तै (घोप्टिएको) अवस्थामा भेटिएको थियो । दुबैको टाउकोमा गहिरो चोट भेटिएको छ ।

षडराजका आफन्तले अनुसन्धानका लागि किटानी जाहेरी पनि दिए तर प्रहरीले जाहेरी लिएन । आफन्तले १५ दिन सम्म शव जिम्मा लिएनन् ।

तर दुर्गन्ध फैलन थालेपछि १६ दिन आफन्तले शव बुझेर अन्तिम संस्कार गरे । षडराज प्रकरणमा उनका आफन्त होटल सञ्चालक दोषी रहेको बताउछन् । तर प्रहरीले भने पोष्टमार्टम रिपोर्टले नै मादक पदार्थ सेवन गरेर छतबाट झरेको देखिएको बताउँदै अनुसन्धानको फाइल लगभग बन्द गरेको छ ।

षडराज प्रकरण सेलाउन नपाउँदै पथरीमा शनिवार रिनाको शव भेटियो । यो पनि मदिराकै कारण भएको प्रहरी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment