Comments Add Comment

काँधको हड्डी बाहिर निस्कियो तर, राजुले जितिरहे स्वर्ण

९ वैशाख, नेपालगञ्ज । नेपालमा जिम्न्यास्टिक खेल खासै फष्टाएको छैन । नखेलिने भने होइन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने जिम्न्यास्टिक खेलाडी राजु राईले सबैलाई चकित पाएका छन् ।

एपीएफका उदीयमान खेलाडी राईले सात स्वर्ण र एक रजत पदक जित्दै सबैलाई चकित बनाएका हुन् ।

सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जिते । उनले अलराउण्डर र टिमतर्फ गरी सात स्वर्ण पदक जितेका छन् ।

फ्लोर, पोमेल हड्स, रोमन रिङ, पालरबार र हाइबारमा क्याटोगरीमा स्वर्ण पदक जित्दा भल्टिङ टेबल क्याटोगरीमा भने उनले रजत पदकमा चित्त बुझाए ।

चोटले रोकेन पदक यात्रा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकको छनोट चरणमै उनी घाइते हुन पुगे । उनको काधँको हड्डी बाहिर निस्कियो ।

तर, राजुले सर्वाधिक स्वर्ण जिते । खेलकै दौरानमा तालमेल नमिल्दा काँधको हड्डी बाहिर निस्किएको उनले सुनाए । उनका अनुसार तत्काल प्राथमिक उपचार त पाए तर, डाक्टरको अभावमा प्रभावकारी उपचार हुन सकेन । स्थलमा उपस्थित मेडिकल टिमले हड्डी मिलाएर ब्यान्डेज गरेपछि पुनः खेलमा फर्किए ।

‘अर्थोपेडिक डाक्टरलाई खोजेको तर, पाहिएन । डाक्टर फुटबलमा गएको रहेछ । त्यसपछि यहीको मेडिकल टिमले नै हड्डी मिलाई दियो’ राजुले अनलाइनखबरसँग भने, ‘अलिक गाह्रो भइरहेको छ । गाह्रो भयो भनेर के गर्नु ? आफ्नो सपना साकार पार्नु थियो, त्यसैले खेलेँ ।’

छोटो समयमै रेकर्डमाथि रेकर्ड

राजुले जिम्न्यास्टिक खेल्न थालेको धेरै वर्ष भएको छैन । उनले २०७० सालदेखि मात्रै जिम्न्यास्टिक खेलमा प्रतिस्पर्धा गरे ।

सुरुमा उनले लुम्बिनी गेममा प्रतिस्पर्धा गरेका थिए । आफ्नो डेब्यु खेलमै सबैलाई चकित पार्दै पाँच स्वर्ण र दुई रजत पदक जिते । यो यही प्रतियोगिताले उनको खेल जीवनमा नयाँ मोड लियो ।

कीर्तिमानी राजु भन्छन्, ‘जिम्न्यास्टिकमै करिअर देख्न थालेको चाहिँ म १४ वर्षको हुँदा हो । त्यतिबेला एसएलसी दिएर बसेको थिए । २०७० मा मैले लुम्बिनी गेम खेलेँ । त्यहाँ चाहिँ मैले पहिलो पटक नै पाँच वटा स्वर्णसहित दुई वटा रजत पदक जितेको थिए ।’

त्यसपछि पूर्वाञ्चलमा सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुदमा एपीएफ क्लबबाटै भाग लिए । जहाँ सबै भन्दा बढि पदक जित्ने खेलाडी बने ।

उनले सातौंमा पनि सात स्वर्ण र एक रजत पदक जितेका थिए । त्यही नतिजालाई आठौंमा पनि दोहो¥याएका छन् । उनी भन्छन्, ‘म आठैं वटामा स्वर्ण जित्ने थिएँ तर, मेरो काधँ खुस्किँदा एउटामा सकिनँ ।’

उनलाई दुखाईसँगै मिठो आभास भएको छ । ‘रेकर्डसहितको मेडल जित्दा गौरव महसुस त भइहाल्छ । यस्तो सफलताले आफैलाई अझै केही गरौं भन्ने जोस आउँदो रहेछ’, राजुले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment