Comments Add Comment

केटी जिस्क्याएको निहुँमा हत्या, पाँच वर्षपछि अभियुक्त पक्राउ

९ वैशाख, विराटनगर । पाँच वर्षअघि हत्याको घटनामा संलग्नको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२०७० कात्तिक १२ गते पथरी शनिश्चरे नगरपालिका– ६ का ३२ वर्षका पारा भनिने हैकमसिंह मगरको हत्या भएको थियो । मगरको हत्या आरोपमा आइतबार प्रहरीले स्थानीय रुद्र आङ्देम्बेलाई पक्राउ गरेको छ ।

प्रेमिका जिस्काएको आरोपमा विवाद भएपछि २६ वर्षका आङ्देम्बे सहितको समुहले मगरमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ । मगर बोल्न सक्दैन थिए । तर राति तिहारमा हिँडाउने नाँचको ‘रिहर्सल’ गर्ने क्रममा विवाद हुँदा उनको ज्यान गुएको हो । घटनापछि फरार रहेका आङ्देम्बे सोही दिन राति मधुमल्ला पुगेका थिए ।

भोलिपल्ट भागेर भारत पुगेका उनी आइतबार पक्राउ परेका हुन् । उनी गाउँ फर्किएका बेला आइतबार बिहान ८ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

प्रहरीका अनुसार मगरको हत्या ९–१० जनाको समूहले गरेको हो । हत्यामा संलग्न अन्य फरार छन् । पाँच वर्षपछि रुद्र पक्राउ परेपछि अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ । तत्कालिन समयमा प्रहरीले मगरको हत्यामा प्रयोग भएको रगत लागेको खुकुरी र कपडा आङदेम्बेको घरबाट बरामद गरेको थियो ।

कसरी भयो घटना ?

तत्कालिन शनिश्चरे नगरपालिका– ६ सिसिसे डाँडाको (हाल पथरी शनिश्चरे नगरपालिका–७) को स्थानीय क्लबले तिहारमा देउसी भैलो कार्यक्रमका लागि रिहर्सल आयोजना गरेको थियो ।

साँझ गरिएको रिहर्सलमा नृत्य सिक्नेबाहेक हेर्ने दर्शकहरु पनि आउथे । सोही क्रममा रुद्रको प्रेमिकालाई केही व्यक्तिले जिस्क्याएपछि विवाद सुरु भयो । विवाद बढ्दै जाँदा सुरु भएको झगडाको घानमा मगर परे । युवती जिस्क्याउने समूह भागेपछि बोल्न नसक्ने मगरमाथि कुटपिट गर्दै खुकुरी प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।

घटनापछि भागेका रुद्र भारतमा लामो समय बसेका थिए । भारतमा लामो समय लुकिछिपी बसेका रुद्रले नाम परिवर्तन गरी युनिक लिम्बु राखेका थिए ।

घटनापछि आफ्नो परिचय नै फेरका उनी कतार पनि पुगेको प्रहरी बताउँछ । कतारबाट फर्किएपछि उनले विवाह पनि गरेको प्रहरी बताउँछ ।

ठाउँ परिवर्तन गरी लुकिछिपी बस्दै आएका रुद्रलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment