Comments Add Comment

नेपाली धागो आयातमा बंगलादेशले लगाउँदै आएको प्रतिबन्ध फुकुवा

१० वैशाख, काठमाडौं । बंगलादेशले ४ वर्षदेखि नेपाली धागोको आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ ।

त्यहाँको राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि नेपाली धागोको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

राजस्व बोर्डले स्थलमार्ग हुँदै धागो आयात गर्न अनुमति दिने निर्णय गरेको बंगलादेशको न्युएज अनलाइनले जनाएको छ । योसँगै अब नेपालबाट बंगालदेशमा धागो निकासी गर्ने बाटो खुलेको छ ।

बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेको थियो । तर, नेपाली पक्षले सन् २०१७ देखि नै प्रतिबन्धले नोक्सानी परेको भन्दै फुकुवा गर्न आग्रह गर्दै आएको थियो । निजी तथा सरकारी तबरमा भएका विभिन्न छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकार नेपाली धागो आयात गर्न दिने निष्कर्षमा पुगेको हो ।

बोर्डको सीमा शुल्क निर्धारण विभागले गत अपि्रल ७ मा पाँचग्रहको तेतुलियामा स्थलमार्ग हुँदै धागो आयातको अनुमति दिने वैधानिक नियामक आदेशसमेत जारी गरिसकेको छ ।

बोर्डले जारी गरेको वैधानिक नियामक आदेशअनुसार, बोन्डेड वेयरहाउस लाइसेन्स लिएकाले मात्रै स्थलमार्ग भएर नेपाली धागोको आयात गर्न पाउने छन् । बोन्ड लाइसेन्समार्फत गरिने आयात ड्युटी फि्र हुने व्यवस्था पनि बोर्डले गरेको छ । तर, सामान्य आयातमा भने थप १० प्रतिशत दायित्व पर्नेछ ।

नेपालमा हाल दर्जनौं धागो उद्योग सञ्चालनमा छन् । ४ वटा त ठूला लगानीका टेक्स्टायल उद्योग नै सञ्चालनमा छन् । जसमा करिब १५ अर्ब रुपैयाँ लगानी गरिएको अनुमान गरिएको छ । १० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै आएका यस्ता धागो उद्योगहरुले वार्षिक ४० हजार टन धागो उत्पादन गर्ने गरेको बताइन्छ ।

तर, धागो निर्यातको प्रमुख गन्तव्य बंगलादेशले प्रतिबन्ध लगाएपछि नेपालका उद्योगहरु यसबाट प्रभावित हुँदै आएका थिए । बंगलादेश सरकारको निर्णयसँगै नेपाली धागो व्यवसायीहरुलाई राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment