Comments Add Comment

मौसम परिवर्तनसँगै बैतडीमा बिरामी बढे, औषधि अभाव

१० वैशाख, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ ।

जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए ।

मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उनले बताए ।

अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए । पहिलेको तुलनामा आजभोलि ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए । मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताए ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनको भनाइ छ ।

केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment