Comments Add Comment

पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन, भोलि काठमाडौंमा अन्त्येष्टि गरिने

१० वैशाख, बुटवल । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सर र निमोनियासंग लडिरहेका थिए ।

स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ताम्राकार २०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेता ताम्राकार नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका थिए ।

पूर्वमन्त्री ताम्राकारको निधनप्रति कांग्रेसले दुख व्यक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार विहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टी कार्यालयमा राखिने निर्णय गरेको छ । त्यस्तै भोलि नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने निर्णय गरेको छ ।

नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले वैशाख ११, १२ र १३ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै वैशाख ११ गते केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने  र १३ औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment