Comments Add Comment

अंग्रेजले किन निल्न सकेन नेपाल ?

विगतदेखि नै धेरै भारतीयहरुले ‘नेपाललाई अंग्रेजहरुले कब्जा गर्न नचाहेको’ भाष्य स्थापित गर्न खोजी आएका छन् । काशिप्रसाद जैसवाल, नगेन्द्रकुमार सिंह, एसडी मुनी हुँदै विवेक विन्द्रासम्मका विद्वानहरु यही लाइनमा छन् ।

यो क्षेत्रमा अंग्रेजले निल्न नसकेको र आफ्नो सार्वभौमसत्तालाई आजसम्म पूर्णतः अक्षुण राख्न सफल देश नेपाल मात्रै भएको ऐतिहासिक तथ्यलाई भारतीय विद्वानहरुले पचाउन नसकिरहेको देखिन्छ । अर्को कुरा, भारतीय सत्ताले आफूलाई ब्रिटिश साम्राज्यवादको उत्तराधिकारी ठान्छ र ब्रिटिशले जस्तै यो क्षेत्रमा भारतीय आधिपत्यको सपना देख्छ । त्यो मानसिकता नेपालप्रतिको भारतीय नीति एवं व्यवहारमा अभिव्यक्त हुने गर्छ ।

नेपाललाई अंग्रेजले कब्जामा लिन नचाहेको भारतीय भाष्यलाई तथ्यले पुष्टि गर्दैन । इतिहासको अध्ययन गर्दा थाहा हुन्छ कि अंग्रेजले नेपाललाई एकपटक होइन, बारम्बार आक्रमण गरेका थिए । यहाँ विभिन्न ढंगले हस्तक्षेप गर्ने, षडयन्त्रका तानाबाना बुन्ने काम गरेका थिए । नेपाललाई कब्जामा लिने चाहना नहुँदो हो त अथवा नेपालप्रति उनीहरूको कुनै स्वार्थ नहुँदो हो त किन त्यस्ता गतिबिधि गर्थे होला र ?

पृथ्वीनारायण शाहका पालामा काठमाडौंका राजाको आग्रहमा क्याप्टेन किनलकको फौज नेपाल आएको थियो । तर, उक्त फौज पृृथ्वीनारायण शाहको सेनासित सिन्धुलीगढीमै पराजित भयो । त्यसपछि नेपाललाई भारतीय उपनिवेशमा गाभ्ने प्रष्ट उद्देश्यका साथ पूर्वदेखि पश्चिमसम्म ठाउँ ठाउँमा हमला गरेको छ । पश्चिमतर्फका युद्धमा नेपाललाई पराजित गर्न उनीहरु सफल भएका पनि हुन् । पूर्वतर्फ भने नेपालले अंग्रेज फौजलाई धपाएको थियो । यो हार-जितपछि नेपाल–अंग्रेज युद्ध सुगौली सन्धीमा पुगेर टुंगिएको हो ।

नेपालको भूराजनीतिक अवस्थितिका कारण अंग्रेजका लागि यो सानो देश बहुमूल्य थियो । उनीहरु व्यापार र अन्य उद्देश्यका लागि तिब्बत घुस्न लालायित थिए । युरोपतिरका इशाई मिसनरीहरूले अंग्रेजको सहयोगमा तिब्बतको ईशाईकरण गर्नसमेत खोजेका थिए । तिब्बत छिर्ने सबैभन्दा सहज नाका उनीहरुका लागि नेपाल नै थियो । सिक्किम र काश्मिरभन्दा नेपालको नाका सहज हुन्थ्यो उनीहरुलाई । अंग्रेजहरुले भनेका पनि छन् कि ‘तिब्बत मूर्ति हो भने नेपाल त्यसको टेको (पेडेस्टल) हो ।’

अंग्रेजका लागि काठमाडौंको महत्व पनि विशिष्ट थियो । यसकारण कि गर्मीमा उनीहरु मलेरियाको प्रकोपका कारण तराईंको जंगल क्रस गरेर तिब्बत जान सक्दैनथे । जाडोमा पनि हिमाल नाघेर जान सक्दैनथे । त्यसैले जाडोमा तराई क्रस गर्ने, अनि काठमाडौंमा बसेर गर्मी लागेपछि तिब्बततिर लाग्नुपर्ने हुन्थ्यो । त्यसैले काठमाडौंमाथि विजय अपरिहार्य थियो । अंग्रेज र ईशाई मिसनरीले अन्य विकल्प देखेका थिएनन् ।

अंग्रेजले नेपालमाथि विभिन्न मोर्चामा आक्रमण गरे । पश्चिमतर्फको लडाइँमा पराजित भए पनि पूर्वतर्फ भने नेपाल अजेय रह्यो । पूर्वतर्फ अंग्रेजले नेपालसँग लडाई हारेकै हुन् । बेलायती विद्वानहरुले नेपाल–अंग्रेज युद्धको चर्चा गर्दा पश्चिमतर्फको मात्रै गरेका छन्, जहाँ उनीहरुले जित हासिल गरेका थिए । उनीहरुले लडाईं हारेका बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापाको बखान गरेर यो सावित गर्न खोजेका छन् कि यस्ता वीरलाई पनि पराजित गर्ने अंग्रेज कस्ता महावीर ! पूर्वतर्फको लडाइँका विषयमा निकै कम लेखिएको छ । अमरसिंह थापाका छोरा भक्तवीर थापाले अंग्रेजलाई पूर्वी मोर्चामा हराएका थिए । तर, उनीबारे अंग्रेजले लेखेका छैनन् ।

पश्चिमतर्फको लडाईमा पराजित भएपछि नेपाली पक्षले सम्झौताको प्रस्ताव राख्यो । तर, सुरुमा सम्झौताको मस्यौदा बनाएर अंग्रेजले नेपाललाई पठाउँदा नेपालले त्यसलाई ठाडै अस्वीकार गरेको थियो । किनकि सम्झौतामा नेपालले युद्धमा नहारेका खासगरी तराईका भूभागहरु पनि अंग्रेजलाई सुम्पिनुपर्ने उल्लेख थियो । त्यतिबेला भीमसेन थापा र बम शाहले यो सम्झौतामा नेपालले हस्ताक्षर गर्न नसक्ने अडान लिएका थिए ।

सुगौली सन्धीको सुरुको मस्यौदामा नेपाललाई तराईरहित बनाइएको थियो । तर, नेपालले त्यो मानेन । बेलायतले दबाव दिइरह्यो । त्यतिबेला भारदारहरुलाई मासिक तलब दिने सिस्टम थिएन । तलब वापत उनीहरुले जमिन पाउँथे । र, त्यसको उब्जनी खान्थे । भारदारहरुको उपार्जनको माध्यम तराईका फाँटहरु थिए । अंग्रेजले नेपालका भारदारहरुले जहाँ जति उब्जनी खाइरहेका छन्, त्यो वापत नगद नै दिने प्रलोभन देखाएका थिए । तर, नेपालका तत्कालीन भारदारहरुमा राष्ट्रियताको भावना बलियो थियो । व्यक्तिगत स्वार्थका निम्ति देशको भूमि बलिदान गर्न उनीहरु तयार भएनन् ।

भीमसेन थापा र बम शाहले ‘तराईरहित भएर नेपाल बाँच्न सक्दैन’ भन्दै प्रष्ट अडान लिएका थिए । अंग्रेजले नेपाली पक्षलाई फेरि आक्रमण गरेर खाइदिने भनेर धम्क्याएका पनि थिए । तर, बम शाहले त्यतिबेला चातुर्यतापूर्ण कुटनीति खेले ।

सम्झौतालाई अन्तिम रुप दिने निर्णायक छलफलमा बम शाहले अंग्रेजलाई भने, ‘ठिक छ, तिमीहरुले युद्ध गरेर तराई खान सक्छौं । तर, यदि तिमीहरुले लडाई जितेर तराई लग्यौ भने हामी गंगाको मैदानमा कहिल्यै शान्ति र अमनचैन कायम हुन दिने छैनौं । यो अथवा त्यो बहानामा गंगाको मैदानभरी उपद्रो मच्चाइराख्नेछौं, अस्थिरता बनाइराख्नेछौं ।’

चौतरिया बम शाहको यो भनाइबाट अंग्रेज हच्किए । उत्तरी सीमाको स्थिरता उनीहरुका लागि त्यतिबेला महत्वपूर्ण थियो । उत्तरी सीमामा विद्रोह भए भारतीय उपनिवेश नै प्रभावित हुन्छ भन्ने उनीहरुको बुझाइ थियो । त्यसैले अन्ततः नेपालको अडानबमोजिम तराईका भूभाग छोड्न अंग्रेज राजी भए । यो नेपालका लागि एउटा कूटनीतिक जित थियो । यस अर्थमा मेरो बुझाई के छ भने अंग्रेजले नेपाललाई हडप्न नसक्नुमा तत्कालीन भारदारहरुको राष्ट्रभक्तिपूर्ण अडान, कूटनीतिक चातुर्य र दुरदर्शिता मुख्य कारण हो । नेपालीको वीरता दोस्रो कारण हो ।

अँ, त्यतिबेला अंग्रेजले फिर्ता गरेको तराईमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्दैन । यी चार जिल्ला चाहिँ पछि जंगबहादुरले फिर्ता ल्याएका हुन् ।

बम शाहले चेतावनी दिनासाथ अंग्रेज किन फत्रक्कै गले त भन्ने प्रश्न पनि उठ्छ । उनीहरु यसकारण गले कि नेपालीहरुको वीरता उनीहरुले बुझिसकेका थिए । अहिले हात तल परे पनि नेपालले फेरि शक्ति आर्जन गर्न सक्ने सम्भावनाप्रति सचेत थिए उनीहरु । अर्को कुरा, नेपालमा धेरै थुम्काथुम्की र पहाडहरु छन् । नेपालीहरुले पहाडमा बसेर वीरतापूर्वक युद्ध लडेका थिए । यस्तो भूभागमा लडाईं गर्न अंग्रेजहरुलाई निकै कठिन भएको थियो । नेपालको यो भौगोलिक कठिनाईका कारण पनि अंग्रेजले युद्धलाई निरन्तरता दिन नचाहेको देखिन्छ । पहाड कब्जा गर्न उनीहरुले ठूलो मूल्य चुकाउनुपरेको थियो । त्यस्ता पहाड नेपालमा थुप्रै छन् ।

नेपाली सामरिकरुपमा अंग्रेजजस्तो शक्तिशाली थिएन । तर, केही हुँदै नभएको पनि होइन । कतिपय किताबमा नेपाली वीरहरुले खुँडा र खुकुरीको भरमा युद्ध लडेको उल्लेख गरिएका छन् । तर, नेपालसँग त्यतिबेला गोला बारुद हुँदै नभएको चाहिँ होइन ।

पृथ्वीनारायण शाहले नै नेपालमा बन्दूक ल्याएका हुन् । उनी राज्याभिषेकपछि बनारस गए र त्यहाँ तिर्थाटन गरिसकेपछि गोलाबारुद र बन्दूक किनेर ल्याएका थिए । उनले ती बन्दुक एसेम्बलिङ गर्न तीन जना मुस्लिम युवालाई लखनउबाट ल्याएका थिए । नेपालसँग केही तोपहरु पनि थिए । सिन्धुलीगडीको युद्धमा अंग्रेजलाई पराजित गर्दा नेपाली फौजलाई अत्याधुनिक हातहतियार हात पारेको थियो । मकवानपुरमा बंगाली मुस्लिम फौजलाई पराजित गर्दा पनि हतियार हात परेको थियो । हतियार किन्ने पनि गरिन्थ्यो ।

विवेक बिन्द्राले नेपालको आर्थिक अवस्था जीर्ण भएकाले अंग्रेजले आँखा नलगाएको बताएका छन् । नेपाल–अंग्रेज युद्धको समयमा नेपालको अर्थतन्त्र कस्तो थियो त ? नेपाल आर्थिक रुपमा समृद्ध त होइन, तर बिन्द्राले भनेजस्तो तन्नम अवश्य थिएन । त्यतिबेला आर्थिक उपार्जनको प्रमुख स्रोत कृषि नै हो । यसका साथै लिच्छवीकालदेखि नै नेपालको तिब्बतसँग ब्यापार भई आएको तथ्य प्रमाणित नै छ । प्राचीन शिलालेखहरुमा भारतीय व्यापारीहरु काठमाडौं हुँदै तिब्बतसँग व्यापार गर्न जाने र त्यसबाट नेपाललाई आर्थिक लाभ प्राप्त हुने उल्लेख छन् ।

काठमाडौंको वैभवबारे प्रशस्त किम्वदन्ती थिए । मल्लकालमा मुगल शासक समसुद्धिनले हल्ला सुनेका रहेछन् कि नेपालका सबै मन्दिरमा सुनका छाना छन् । उनी मन्दिरहरुमा लुटपाट मच्चाउने उद्देश्यले बंगालदेखि फौज नै लिएर आएका थिए । तर, सुनका छाना नदेखेपछि फर्केका थिए । पाल्पामा पनि त्यस्तै हल्ला थियो । त्यहाँका मुकुन्दसेन प्रथमलाई काठमाडौंको वैभवका बारेमा सुनाइएको थियो । उनले आफ्नो फौज उतारेर लुटपाट मच्चाएको थिए ।

यदी नेपाल गरिब भएर अंग्रेजले छाडिदिएको हो भने के सिक्किम धनी थियो त ? भुटान धनी थियो त ? नेपाललाई अंग्रेजले गर्ने ‘ट्रिट’ सिक्किमको अथवा भुटानको भन्दा भिन्न किन भयो त ? आज पनि नेपालको अवस्था सिक्किम र भुटानभन्दा भिन्न किन छ त ? अहिले सिक्किम भारतमा विलय भइसकेको छ । भारत संरक्षित राष्ट्रका रुपमा भुटान खुम्चिएको छ । नेपाल मात्र आन्तरिक र बाह्य जीवनमा पूर्ण स्वतन्त्र रहन सफल भएको छ । नेपालको स्वतन्त्रताको कारण यहाँको गरिबी हुन्थ्यो भने यही भौगोलिक क्षेत्रमा रहेका सिक्किम र भुटान पनि आज नेपालजस्तै स्वतन्त्र हुने थिए । होइन र ?

सुगौली सन्धीपछि पनि अंग्रेजले नेपाललाई दपेट्ने प्रयास नगरेको होइन । उनीहरुले नेपाललाई एउटा रजौटाको हैसियतमा राख्न खोजेका थिए । तर, राणा शासकहरुले नेपाल राज्यको सार्वभौम चरित्रलाई जोगाउन सफल भएको विभिन्न घटनाक्रमहरुबाट देखिन्छ ।

जंगबहादुर बेलायत जाँदा उनलाई भारतीय रजौटाको हैसियतमा स्वागत गर्ने तयारी थियो । तर, जंगबहादुरले मानेनन् । उनले राजाको दूतको हैसियतले मात्रै बेलायत आउने अडान लिए । हामी भारतीय राजा रजौटाभन्दा फरक हौं भन्ने सन्देश दिन सफल भए ।

पछि दिल्लीमा भएको जर्ज पञ्चमको राज्याभिषेकमा भाग लिन चन्द्रसमशेर जाँदा उनलाई पनि भारतीय रजौटाको पंक्तिमा राख्न खोजिएको थियो । तर, उनी मानेनन् । पछि उनलाई इरान, अफगानिस्तान लगायत स्वतन्त्र देशका राजप्रतिनिधिको पंक्तिमा राखियो ।

चन्द्रसमशेर श्री ३ महाराज भएका बेला भारतमा लर्ड कर्जन नाम गरेका भाइसरायले उनलाई रजौटाको हैसियतमा राख्ने प्रयत्न पटक–पटक गरेका थिए । चन्द्र समशेरले यसको प्रतिवाद गरिरहे । चीनमा त्यतिबेला बक्सर क्रान्ति भयो । क्रान्तिले गर्दा चीन आफ्नै झमेलामा फस्यो । तिब्बतमा उसको प्रभाव क्षीण भयो । नेपालसँगको उसको सरोकार पनि घट्यो ।

हिमाली क्षेत्रमा चीनको प्रभाव घटेपछि स्वाभाविकरुपमा तिब्बतसम्म ब्रिटिशको प्रभाव बढ्यो । त्यतिबेला नेपालको अस्तित्व धर्मराउन लागेको थियो । चारैतिर भारतबाट घेरिएको जस्तो अवस्था सिर्जना भयो । तीनतिर ब्रिटिश भारतबाट । एकातिर भारतको प्रभावअन्तर्गत रहेको तिब्बतबाट । दुई शक्तिशाली छिमेकीबीच सन्तुलन कायम गरेर आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्ने नेपालको ‘ट्याक्टिस’ले त्यतिबेला काम गरेन । त्यसबेला नेपालको विशिष्ठ भूराजनीतिले अप्ठेरो अवस्था सामना गर्नुपर्‍यो ।

नेहरुले हिमालयदेखि दक्षिणका सबै भूभाग भारतको सुरक्षा छाता अन्तरर्गत पर्छन् भन्ने मान्यता स्थापित गर्न खोजेका थिए । यसलाई नेहरु डक्ट्रिन भनिन्छ । यो डक्ट्रिनका जन्मदाता चाहिँ भाइसराय लर्ड कर्जन नै हुन् । उनी पनि भारतको उत्तरी सीमा हिमालय हो भन्ने गर्थे । तिब्बतलाई भारत र चीनबीचको ‘बफर जोन’ मान्थे । बफर जोनदेखि यता भारत र उता चीन भन्ने अवधारणा उनले विकास गर्न खोजेका थिए ।

यसरी अंग्रेजहरुबाट नेपालको सार्वभौमसत्तामा बारम्बार आघात पुर्‍याउने प्रयास भएको देखिन्छ । तर, नेपालको स्वतन्त्रता कसैले चाँदीको किस्तीमा सजाएर दिएको नजराना थिएन । यो यहाँका शासक र जनताले मिहेनतपूर्वक हासिल गरेको उपलब्धी थियो । कर्जन डक्ट्रिन अन्तर्गत अंग्रेजले नेपाललाई दपेट्दै लगेका बेला पहिलो विश्वयुद्ध भयो । त्यसलाई चन्द्र समशेरले कुशलतापूर्वक उपयोग गरेर नेपालको स्वतन्त्र अस्तित्वलाई अक्षुण राखे । उनले युद्धमा नेपाललाई अंग्रेजको पक्षमा उभ्याए । उसलाई भरपुर सैन्य सहयोग गरे । त्यसपछि अंग्रेजले नेपालसँग मैत्रिपूर्ण सम्बन्ध राख्दा आपत परेका बेला हाम्रो कल्याण हुने रहेछ भन्ने बोध गर्‍यो । त्यसपछि कर्जन डक्ट्रिनलाई खुकुलो बनाउँदै सन् १९२३ मा नेपालसँग स्वतन्त्र राष्ट्रको हैसियतले मैत्री सन्धी गर्‍यो ।

सुगौली सन्धी भएपछि पनि नेपालमा भारतका आर्थिक गतिविधिहरुलाई निषेध गर्ने नीति भीमसेन थापाले लिएका थिए । आर्थिक गतिविधि बढ्यो भने राजनीतिक प्रभाव बढ्छ र स्वतन्त्रता कमजोर हुँदै जान्छ भन्ने उनको बुझाइ थियो । यही निहुमा बेलायतका आवासीय दूत ब्रायन हडसनसँग उनको मनमुटाव भएको थियो । अंग्रेजसँग सम्झौता गर्न नमानेकै कारण भीमसेन थापाको पतन भएको देखिन्छ । उनको ‘आइसोलेसनिस्ट पोलिसी’ कै कारण सुगौली सन्धीपछि पनि नेपालको सैन्य सामथ्र्य र राष्ट्रिय आत्मविश्वास पुनः सबल हुँदै गयो ।

जंगबहादुरले पनि भीमसेनकै नीतिलाई निरन्तरता दिए । दुन एरियाबाट उनले पहाडमा बस्ती सारे । तराईको घना जंगललाई दुनसम्म फैलिन दिए । जंगललाई ढाल बनाएर देशको स्वतन्त्रताको रक्षा गर्न सक्छौं भन्ने अभिप्राय थियो उनको ।

अंग्रेजले सहज सडक सञ्जालबाट नेपाल र भारतलाई जोड्ने प्रस्ताव गरेका थिए । तर, जंगबहादुर सशंकित बनेँ। रोडबाट मालसामान मात्र आउँदैन, आर्मी पनि आउँछन् भन्ने बुझेका उनले बेलायती अधिकारीले जति कर गर्दा पनि मानेनन् । इन्डियामा सियो बनेर पसेका अंग्रेज कसरी फाली बनेर निस्किए भन्ने जंगबहादुरलाई थाहा थियो । ऊँट जस्तो सुरुमा घरभित्र टाउको छिराउने र घरमालिकलाई नै विस्थापित गर्ने अंग्रेजको शैली थियो । त्यसैले जंगबहादुरले जोखिम लिन चाहेनन् ।

त्यतिबेला जंगबहादुरले दिएको अभिव्यक्ति विभिन्न पुस्तकमा पढ्न पाइन्छ । उनले बेलायतीहरुलाई भनेका थिए, ‘मैले तिमीहरुको सैन्य सामथ्र्य चिनेको छु तर, पनि म तिमीहरुको प्रस्तावमा सहमत हुन सक्दिनँ । यदि तिमीहरु सिंह हौ भने नेपाल पनि बिरालो हो । झ्याल ढोका थुनेर बिरालोलाई झम्टियौ भने केही गर्न नसके पनि आँखा चिथोर्न चाहिँ बिरालोले सक्छ ।’

यसरी जंगबहादुरमा देशको स्वतन्त्रताप्रतिको संवेदनशीलता पाइन्छ । त्यसमा उनको आफ्नो स्वार्थ पनि थियो होला । किनकि नेपालको स्वतन्त्रता गुम्यो भने उनको शासकीय प्राधिकार पनि गुम्थ्यो । आफ्नो शक्ति र रवाफलाई यथावत राख्न पनि उनले देशको स्वतन्त्रता गुम्न दिएनन् ।

बंगालका मिर जाफर, नर्वेका क्विसलिङ अथवा सिक्किमका लेन्डुप दोर्जेजस्ता अन्तरघाती पात्र अंग्रेजले नेपालमा भेटाएनन् । नर्वेका क्विस लिङले हिटलरलाई आफ्नै देशमा आक्रमण गर्न लगाएर आफूलाई प्रधानमन्त्री बनाएको इतिहास छ । यस्तो राष्ट्रघाती चरित्र नेपाली भारदारले देखाएनन् । नेपाली भारदारहरुको यस्तो चरित्रलाई फ्रेन्च लेखक सिल्भ्याँ लेभीलगायतले राजनीतिक परिपक्वता भनेका छन् । नेपाल स्वतन्त्र हुनुमा नेपाली शासकहरुको यस्तो स्वाभावलाई पनि उनले श्रेय दिएका छन् ।

राजा रणबहादुर शाह छोरा गिर्वाणयुद्धविक्रमलाई राजा बनाएर सन्यास धारण गरी बनारस गएका थिए । शक्ति संघर्षमा पराजित भएपछि भीमसेन थापालाई लिएर उनी वनासरतिर पलायन भएका थिए । भारतीय भूमीमा पुगेका उनलाई अंग्रेजहरुले ‘बार्गेनिङ चिप्स’ बनाए । उनलाई फेरि शक्तिमा ल्याइदिने त्रास देखाएर काठमाडौंका भारदारलाई धम्क्याए । अंग्रेजहरुले त्यतिबेला काठमाडौंमा ब्यापारिक कोठी स्थापना गर्न र आफ्ना आवासीय प्रतिनिधि राख्न खोजेका थिए । उनीहरु सियो बनेर छिरी फाली बनेर निस्किने ताकमा थिए । त्यतिबेलाका भारदार दामोदर पाँडे नेपालका प्रभावशाली भारदार थिए । हामीले भनेअनुसार गरेनौ भने रणबहादुर शाहलाई प्रयोग गरेर सत्ता विप्लव मच्चाउँछौं भनेर अंग्रेजहरुले दामोदर पाँडेलाई धम्क्याए । मोटो रकम घुस दिने प्रलोभन पनि देखाए । डर र मोटो रकमको प्रलोभनमा दामोदर लत्रिएनन् । दबाव मान्न अस्वीकार गरे । त्यसपछि अंग्रेजहरुले रणबहादुरलाई काठमाडौं जान खुला छोडिदिए ।

काठमाडौं आएर रणबहादुरले सत्ता विप्लव मच्चाए । आफूलाई वनारसमै रोक्न खोज्ने दामोदरको हत्या गराए । अंग्रेजले भनेको मानेको भए दामोदरले मारिनुपर्ने थिएन । योखालको राष्ट्रिय चरित्र भारतका अरु राज्यका शासकहरुले देखाउन नसकेकै कारण ती राज्य स्वतन्त्र रहन सकेनन् ।

नेपालले अंग्रेजबाट अलिकति निश्चिन्त महसुस गरेको चाहिँ १८५७ मा भारतमा भएको सिपाही बिद्रोहपछि हो । अंग्रेजको आग्रहमा जंगबहादुरले नेपाली फौज पठाएर उक्त विद्रोह दबाएका थिए । यसबाट अंग्रेजले बुझे कि नेपालको सैन्य शक्ति उनीहरुलाई निकै उपयोगी हुने रहेछ । त्यसपछि नेपालप्रतिको दुराग्रहरुलाई उसले त्यागिदियो । सैन्य हस्तक्षेप आवश्यक छैन भन्ने महसुस गर्‍यो । यदि नेपालको पनि स्वतन्त्रता हनन भयो भने भारतमा उठिरहेको बागी स्वरसँग नेपालीहरुको स्वर मिसिन पुग्ने भय पनि अर्कोतिर थियो । त्यस्तो अवस्थामा टिक्न झन् गाह्रो हुन्छ भन्ने उनीहरुले बुझे ।

भारतबाट अंग्रेज विस्थापित भएपछि पनि नेपालको स्वतन्त्र हैसियतलाई कमजोर बनाउने प्रयास दक्षिणतिरबाट जारी रहेको छ । यो हामीले नाकाबन्दीताका महसुस गर्‍यौं । नाकाबन्दीका बेला पनि नेपाली जनता र तत्कालीन सरकारले डटेर सामना गरेकै हुन् र भारतलाई पछि हट्न वाध्य बनाएकै हुन् ।

०००

धेरै देशहरु जातीय विद्रोहका कारणले बिखण्डित भएका उदाहरण छन् । नेपालमा यस्तो अवस्था कहिल्यै आएन । हामीकहाँ विभिन्न जातजातिबीच अन्तरघुलित संस्कृति छ । यसले गर्दा नेपालको भौगोलिक अखण्डतामाथि आँच आउनेगरी नेपालमा ठूलो आयतनको जातीय विद्रोह भएको छैन । नेपालको सामाजिक–सांस्कृतिक अन्तरविरोधमा खेल्न सक्ने अवसर विदेशीले पाएका छैनन् । यसले पनि नेपालको स्वतन्त्रता अक्षुण रही आएको छ ।

नेपालले परराष्ट्र सम्वन्धमा पनि एकखालको सन्तुलन सधैं मेन्टेन गर्‍यो । अमेरिकी प्रोफेसर लियो इ. रोजले ‘नेपाल ः स्ट्राटेजी फर सर्भाइबल’ भन्ने किताबमा लेखेका छन् । यसमा चीन र भारतबीचको सम्वन्धमा सन्तुलन कायम गर्नुले पनि नेपालको अस्तित्वरक्षा सम्भव भएको हो भन्ने ठहर गरेका छन् । बेलायतसँग युद्ध हुँदा नेपाललाई चीनले सैन्य सहायता दिएन । किनकि त्यतिबेला उसको अवस्था बलियो थिएन । तर, पनि उसले आफ्नो तरिकाले चासो भने राखिरहेको थियो । नेपालको पृष्ठभूमिमा चीन पनि छ है भन्ने सन्देश अंग्रेजलाई दिनबाट चीन चुकेको थिएन ।

चीनले पनि नेपाललाई आफ्नो अधिनमा ल्याउने चाहना राखेको कतिपय घटनाक्रमहरुले देखाउँछन् । बहादुर शाह मुख्तियार रहेको बेलामा त उसले नेपालमाथि हमला नै गर्‍यो । तर पनि नेपाली फौजले चिनियाँ फौजलाई नुवाकोट नाघेर अघि बढ्न दिएन । त्यसपछिका दिनमा पनि चीनले नेपाल आफ्नै भूमि हो भन्ने आशयका अभिव्यक्ति बेलाबेलामा राखेको पाइन्छ । तर, चीनको त्यस्तो दाबीलाई ब्रिटिशले मानेनन् ।

यसरी ब्रिटिश भारतले नेपालमाथि आँखा गाड्दा चीनको सहारा खोज्न र चीनले नेपालमाथि दावी गर्दा ब्रिटिशको सहयोग लिन नेपाललाई सम्भव भयो । नेपालको स्वतन्त्रताको चर्चा गर्दा यस्तो विशिष्ठ भूअवस्थितिलाई हामीले भुल्नु हुँदैन । भारतसँग धेरै नजिकिएका बेलामा पनि चीनलाई सन्तुलनमा राख्न नेपालले बेइजिङमा कूटनीतिक प्रतिनिधि मण्डल पठाउने गथ्र्यो । पाँच–पाँच वर्षमा चीन र नेपालका सम्राटबीच सौगात आदान–प्रदान गर्ने चलन नेपाल–चीन युद्धपछि सुरु भएको थियो । यो क्रम पछिसम्म जारी रह्यो ।

०००००

भारतीयले नेपालको स्वतन्त्रताबारे प्रश्न उठाइरहँदा भारत अंग्रेजबाट कसरी स्वतन्त्र भयो भन्ने पनि हामीले बुझ्दा राम्रो हुन्छ । भारतीयहरु बापु (महात्मा गान्धी) ले अंग्रेजहरुलाई लाठीले खेदे भन्ने गर्छन् । यथार्थ चाहिँ के हो भने भारतीयहरुले अंग्रेजलाई खेदेकै होइनन् । अंग्रेजहरु आफैं भारत छोडेर हिँडेका हुन् ।

भारतको स्वतन्त्रताको श्रेय बरु हिटलरलाई दिँदा हुन्छ । उनले दोस्रो विश्वयुद्ध सुरु नगरेका भए भारतबाट अंग्रेजले फिर्ता जानै पर्दैन थियो । दोस्रो विश्वयुद्धमा हिटलरले ढाड भाँचिदिएपछि बेलातयको तुजुक समाप्त भयो । त्यसपछि आफ्ना उपनिवेशहरु होल्ड गरिराख्न आर्थिक, सामरिक, राजनीतिक शक्ति उसित रहेन । त्यसपछि यसले उपनिवेशहरुलाई स्वतन्त्रता दिने घोषित नीति लियो । त्यसै नीति अन्तरगत भारतलाई उनीहरुले मुक्त गरेका हुन् ।

भारतीयहरुले त अंग्रेजप्रति नतमस्तक हुनुपर्छ । किनभने उनीहरुले नै भारतको एकीकरण गरिदिए र अन्त्यमा छोडेर हिँडे । अंग्रेजले एकीकृत गरिदिएको देशमा बसेर उनीहरु हामीले अंग्रेजलाई धपायौं भन्दै गर्व गरिरहेका छन् । अनि अंग्रेजको पञ्जाबाट आफ्नो स्वतन्त्रता जोगाउने नेपालीलाई गिज्याइरहेका छन् । यसलाई मुगल, पोर्चुगल, डच, फ्रेन्च र बेलायतबाट शासित हनुपरेको भारतीयहरुको ‘इनफेरियरिटी कम्प्लेक्स’को प्रकटरुप मान्न सकिन्छ ।

(यो सामग्री ‘शिलन्यास : नेपाल निर्माणको नालीबेली’ नामक पुस्तकका लेखक सुजित मैनालीसँग कुराकानीका आधारमा तयार पारिएको हो । मैनालीको पुस्तक आगामी शनिबार राजधानीमा लोकार्पण हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment