Comments Add Comment

रसियामा पुटिन र किम जोन उनबीच शिखर वार्ता

१२ वैशाख, काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोन उनबीच बिहीबार शिखर वार्ता भएको छ ।

रसियाको सुदूर पूर्वी शहर भ्लादिवोस्तोक नजिकैको रस्की टापुमा दुई नेताबीच शिखर वार्ता भएको हो । उनीहरुबीच कोरियाको आणविक निशस्त्रीकरणबारे छलफल भएको छ ।

यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग पनि कोरियाली निशस्त्रीकरणबारे छलफल गरेका थिए । तर ट्रम्पसँगको दोस्रो वार्ता असफल भएपछि उनले रसियाली राष्ट्रपतिसँग वार्ता गरेका छन् । पुटिनसँगको वार्ताबाट किमले उत्तर कोरियाको आणविक कार्यक्रमबारे छलफल गर्ने एकमात्र शक्ति अमेरिकामात्र होइन भन्ने सन्देश दिएका छन् ।

वार्ताका क्रममा दुई नेताले आपसी सम्बन्ध अझै प्रगाढा बनाएर अघि बढ्ने बताएका छन् । पहिलो शिखर वार्ता सुरु हुनुअघि उनीहरुले सञ्चार माध्यमको अगाडि छोटो प्रतिक्रिया दिएका थिए ।

रसियाली राष्ट्रपति पुटिनले कोरियाको तनाव हटाउन आफूले सहयोग गर्ने किमलाई बताए । ‘म ढुक्क छु, तपाईको रसिया भ्रमणका क्रममा कोरियाली प्रायद्विपको समस्या समाधानबारे राम्रोसँग बुझ्न सकिन्छ र हाल चलिरहेको प्रक्रियामा रसियाले कसरी सकारात्मक सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ’ पुटिनले भनेका छन् ।

किमले रसियासँग घनिष्ट र दिगो सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध अझै विकसित गर्न यो वार्ता निकै फलदायी हुने आफूले विश्वास लिएको बताए । आफ्नो पहिलो भेटमा किम र पुटिन दुबै खुलेर हाँसे र वार्तास्थल युनिभर्सिटी क्याम्पस बाहिर हात मिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment