Comments Add Comment

अमेरिका र ओमानलाई एकदिवसीय राष्ट्रको मान्यता

काठमाडौं । अमेरिका र ओमानले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएका छन् । डिभिजन २ प्रतियोगितामा हङकङलाई पराजित गर्दै अमेरिकाले ऐतिहासिक सफलता हासिल गरेको हो ।

निर्णायक म्याचमा अमेरिकालाई जित दिलाउन जेभियर मार्सलले शतकीय इनिङ खेले । आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका उनी वेस्ट इन्डिजका भूतपूर्व टेस्ट खेलाडी हुन् । म्याचमा उनले दुईपटक जीवनदान पाएका थिए । स्टेभन टेलरले ८८ रन बनाएर उनलाई साथ दिए । तमिल पटेलले १२ बलमा ३४ रन हान्दै टिमको स्कोर २ सय ८० पुर्‍याएका थिए ।

जवाफी ब्याटिङमा आएको हङकङले पूरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ९६ रन मात्रै बनाउन सक्यो । अमेरिकाले ८४ रनको जित हासिल गरेको छ ।

अमेरिकाले ओडीआई स्टाटस सुरक्षित गरेको ४५ मिनेटभित्र ओमानले उसलाई पछ्याएको थियो ।

प्रतियोगिता आयोजक नामिबियालाई ४ विकेटले हराउँदै ओमान कान्छो ओडीआई राष्ट्र बनेको हो । अमेरिकाले दिएको २ सय ५१ रनको लक्ष्य ओमानले ६ विकेटको क्षतिमा पूरा गरेको थियो । ओमानका फास्ट बलर अलि खानले ५ विकेट लिएका थिए ।

डिभिजन २ मा हाल खेलिरहेका ७ टिममध्ये टप ४ टिमले सन् २०२३ मा हुने क्रिकेट विश्वकपको लिग २ मा नेपालसहित यूएई र स्कटल्यान्डसँग खेल्नेछन् ।

अब डिभिजन २ को अन्तिम खेल हुन बाँकी छ । अंक तालिकामा ओमानको ८, अमेरिकाको ६ नामिबियाको ४ तथा हङकङ, क्यानाडा र पपुवा न्यूगिनीको २-२ अंक रहेको छ । अंकतालिकाको शिर्ष २ मा रहने टिमले एक दिवसीय मान्यता पाउँछन् ।

ओमानले खेलेका चार म्याचमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा रहेको छ भने अमेरिकाले ४ मध्ये ३ म्याच खेलेर दोस्रो स्थान सुरक्षित गरेको हो ।

अमेरिकी टिमका प्रशिक्षक पुबुदु दासानायके हुन्, जसले विगतमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment